काठमाडौँ, असार ८ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार मध्याह्नदेखि सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।
सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राख्नुभएको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ ।
यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।