रवीन्द्र उप्रेती
बर्दिबास, वैशाख १ गते । हतियारसहित वन क्षेत्र प्रवेश गरेका अवैध सिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिबास १४ नमुना वस्तीका ४९ वर्षीय भीम भन्ने गणेशबहादुर मगरलाई सागरनाथ वन विकाश परियोजना अन्तर्गत पर्ने हात्तीलेटको जङ्गलबाट बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
मगर सिकार खेली रहेका सोही ठाउँका ३५ वर्षीय अविचन सदा भने फरार भएको बर्दिबास प्रहरीले जनाएको छ ।
उनीहरुले लुकाई राखेको ठाउबाट प्रहरीले दुई थान भरुवा बन्दुक, त्यसमा लाग्ने बारुद, छर्रा, सलाईलगायतका पदार्थसमेत नियन्त्रणमा लिएको छ । बरामदमध्ये एउटा बन्दुक लोडेड अवस्थामा रहेको र त्यसलाई डिस्पोज गरी प्रहरी जिम्मामा राखिएको जिल्ला प्रहरीका प्रवक्ता एवम् डिएसपी दिलीपकुमार गिरीले बताउनुभयो ।
महोत्तरीका जङ्गली क्षेत्रमा विगत केही समयले अवैध सिकारीको गतिविधि बढेको सूचनाको आधारमा बर्दिबासस्थित इलाका प्रहरीबाट सुरक्षा गस्ति घटनास्थल पुगेको थियो । फरार सिकारी सदाको खोजी भरहेको प्रहरीले जनाएको छ ।