• १२ साउन २०८१, शनिबार

स्टारडम नचलेको वर्ष

blog

काठमाडौँ, चैत ३० गते । नेपाली ‘फ्लेबर’ मन पराउने चलचित्र पारखीका लागि विक्रम संवत् २०७९ निराशाजनक रहेन। उत्साहप्रद नै रह्यो। महापुरुष र झिँगेदाउ’ मात्र होइन छक्कापञ्जा–४, कबड्डी–४, प्रेमगीत–३ र फूलबारी दर्शकको मनमा मात्र बस्न सफल भएनन्, कमाइका दृष्टिले पनि अब्बल साबित भए। यी छ चलचित्रले मात्र ६० करोड रुपियाँभन्दा बढी व्यापार गरे भने केहीले औसत व्यापार गरे। 

चलचित्र विकास बोर्डको तथ्याङ्कलाई आधार मान्ने हो भने विसं २०७९ मा १३२ चलचित्र प्रदर्शनीमा आए। जसमध्ये नेपाली चलचित्र मात्र ४६ वटा छन्। बोर्डले सार्वजनिक गरेको सूचीअनुसार छवटा नेपाली र चारवटा विदेशी चलचित्रले सबैभन्दा धेरै व्यापार गरेका छन्। सबै चलचित्रको कुल कमाइ एक अर्ब ६४ करोड २३ लाख रुपियाँ रहेको बोर्डद्वारा मङ्गलबार जारी सूचीमा छ। यस वर्ष पारिवारिक मात्र होइन, हास्यप्रधान र द्वन्द्वप्रधान चलचित्रले पनि दर्शकको मन जित्यो। यद्यपि प्रदर्शित सबै चलचित्रले आशातीत व्यापार गर्न सकेनन्। फितलो कथावस्तु, कमजोर निर्देशन, सङ्गीत र अभिनय रहेका चलचित्रलाई दर्शकले नकारे। बढी प्रचार गरिएको ‘ए मेरो हजुर–४’ले भने सोचेजस्तो व्यापार गर्न सकेन। 

त्यस्तै ‘प्रेम गीत–३’ हिन्दी भाषामा पनि प्रदर्शन भयो। यस चलचित्रले नेपालीमा सात करोड ७० लाखभन्दा बढी र हिन्दी भाषामा दुई करोड २७ लाख रुपियाँभन्दा बढीको व्यापार गरेको बोर्डको तथ्याङ्कमा छ। यस चलचित्रमार्फत पहिलो पटक नेपाली चलचित्रको पोस्टर बलिउडका भित्तामा देखिए। भारतका एक सयभन्दा बढी थिएटरमा प्रेमगीत–३ प्रदर्शन गरिएको निर्माण पक्षको दाबी छ। 

यस वर्ष सर्वाधिक कमाइ गर्ने अर्को चलचित्र हो– ‘कबड्डी–४’ । रामबाबु गुरुङ, उपेन्द्र सुब्बा, दयाहाङ राईलगायतको टिमको चलचित्रले २१ करोड ३८ लाख रुपियाँभन्दा बढी व्यापार गर्न सफल भएको छ। अर्को चलचित्र ‘महापुरुष’ले सात करोड ३८ लाख रुपियाँको व्यापार गरेको छ। यस्तै चलचित्र ‘झिँगेदाउ’ र ‘फूलबारी’ले पनि तीन करोडभन्दा माथिको व्यापार गरे। वर्षको अन्त्यमा प्रदर्शनमा आएका दुई चलचित्र ‘छक्कापञ्जा–४’ र बहाव अहिले पनि प्रदर्शनरत छन्। हेमराज बीसी निर्देशित चलचित्र ‘छक्कापञ्जा–४’ले १८ करोडभन्दा धेरै कमाइ गरेको छ। 

यस वर्ष अपेक्षा गरिएका केही चलचित्रले दर्शकलाई निराश बनाए। मौलिक विषयवस्तु समेटेर निर्माण गरिएका चलचित्र ‘प्रकाश’, ‘पानीफोटो’, ‘राधा’, ‘चिसो मान्छे’, ‘दोख’ चलचित्र र ‘ऐना झ्यालको पुतली’ले समीक्षकबाट राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिक रूपमा भने असफल साबित भए। अघिल्ला वर्षझैँ यस वर्ष कलाकारको ‘स्टारडम’ र ‘क्रेज’ले खासै काम गरेन। ‘छड्के–२’, ‘प्रकाश’ र ‘बाबरी’ यसका उदाहरण हुन्। अनमोल केसी अभिनीत छड्के–२ लाई दर्शक पाउन हम्मेहम्मे प-यो। युवा पुस्तामाझ रुचाइएका केसीले चलचित्रको असफलतालाई स्वीकार्दै त्यसको भागी आफू पनि भएकोमा दर्शकसँग माफी पनि माग्नुभएको छ। ‘चक्लेटी’ अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’लाई धेरैले आर्ट चलचित्रको संज्ञा दिँदा चलचित्रले व्यापार गर्न सकेन। त्यस्तै धीरज मगरको बाबरीले पनि खासै दर्शक तान्न सकेन। 

कलाकार दयाहाङ राईका लागि यो वर्ष भने सफल साबित भयो। ‘कबड्डी–४’ सँगै ‘के घर के डेरा’ र ‘दुई नम्बरी’ दयाहाङ अभिनीत चलचित्र हुन्। त्यसैले पनि सङ्ख्याका हिसाबले यो वर्ष दयाहाङका चलचित्र धेरै चलेको देखिन्छ। उहाँलाई यो वर्ष धेरै फापेको पनि देखिन्छ। उहाँ यो वर्ष टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मा पनि देखिनुभयो। साथै अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लक्षित चलचित्र ‘गाउँ आएको बाटो’मार्फत सामाजिक रूपमा सक्रिय रूपमा देखिनुभयो। 

कलाकार दीपकराज गिरीलाई यो वर्ष फाप्यो। यसै वर्ष प्रदर्शनमा आएको ‘छक्कापञ्जा–४’ को सफलताले उहाँको कलाकारिताको छविलाई थप उचाइ दियो। त्यस्तै विपिन कार्की पनि चर्चामा रहनुभयो। उहाँ अभिनीत चलचित्र ‘के घर के डेरा’ले दर्शक तान्न नसके पनि चलचित्र फूलबारीमा उहाँले गर्नुभएको अभिनयले राम्रै तारिफ बटुल्यो। 

यस वर्ष चलचित्रमा कलाकारको मेहनत केही अपुग भएको देखियो। कलाकार अनमोल केसीदेखि पूजा शर्मासम्मका चलचित्रलाई दर्शकले पत्याएनन्। ‘छड्के–२’का लागि ५० लाख पारिश्रमिक लिनुभएका अभिनेता केसी अभिनीत चलचित्र ‘ए मेरो हजुर–४’ले पनि सोचेअनुसार व्यापार गर्न सकेन। त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ प्रदर्शन भए र दुवैले लगानी उठाउन सकेनन्। 

अभिनेत्री अभिनेत्री पूजा शर्मालाई यस वर्षले चलचित्रमा खासै साथ दिएन। उहाँ अभिनीत चलचित्र ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ बक्स अफिसमा असफल साबित भए। त्यस्तै अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘चिसो मान्छे’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन। यस वर्ष व्यावसायिक रूपमा उल्लेखनीय सफलता नपाए पनि केही चलचित्र दर्शकको मनमस्तिष्कमा बस्न सफल भएको पक्षलाई भने नकार्न सकिँदैन।