• ८ मंसिर २०८१, शनिबार

शीर्षक के हो ?

blog

एउटा सानो घरमा आमा र छोरी बस्थे । छोरी विनिता साह्रै अल्छी थिइन् । आमाले भनेको कुरा पटक्कै नमान्ने,  गुरुआमा र गुरुबाले दिएको गृहकार्य नगर्ने र सकेको काम पनि नगर्ने भएको हुनाले ऊ जहिले फेल भएर बस्थिन् । आमाले विनितालाई सम्झाउँथिन् तर विनिताले मान्दिनथिन् । आमाले ‘गृहकार्य गर’ भन्दा विनिताले ‘मैले त विद्यालयमा नै गरिसकेँ’ भनेर ढाँट्ने गर्थिन् । 

उसको बानी देखेर सबैले उसलाई गाली गर्थे । विनिताको कुराले आमालाई साह्रै दुःखी पारेको थियो । एक दिन विनिताका साथीहरू मिलेर वनभोज गए तर उनीहरूले यो कुरा विनितालाई भनेनन् । साथीहरूले खाना पकाएर खाए र गीत गाएर नाचे । रमाइलो गरेर फर्के ।

केही दिनपछि विनितालाई साथीहरू घुम्न गएको थाहा भयो । अनि विनिताले एक जनालाई भनिन्, “तिमीहरू घुम्न गएका रहे छौ । मलाई किन नभनेका ?” त्यो साथीले भन्यो, “तिमीसँग घुम्न गए तिमीले खाना पनि पकाउँदिनौ र गीत पनि गाउँदिनौ, न त नाच्छौ भनेर कसैले पनि लैजान मानेनन् । मैले त 

लैजाऊँ भनेको थिएँ तर कसैले पनि नमानेपछि मेरो केही लागेन ।” साथीको यस्तो कुरा सुनेर विनिता दुःखी हुँदै घर गइन् । 

विनितालाई साथीको कुराले साह्रै दुःख लाग्यो । अनि सबै कुरा आमालाई बताउँदै भनिन्, “आमा मलाई माफ गरिदिनुस् । अबदेखि म अल्छी बन्दिन ।” आमालाई छोरीको कुरा सुनेर साह्रै चित्त बुझ्यो र आमाले उसलाई स्याबासी दिइन् । उसको बानी फेरिएको देखेर सबैले उसलाई माया गर्न थाले । अबदेखि ऊ सबैले भनेको मान्ने, अल्छी नभई काम गर्ने, गृहकार्य गर्ने र गुरुआमा, गुरुबाले भनेको मान्ने मात्र होइन, सधैँ सफा भएर बस्न पनि थालिन् ।