गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३० गते । अर्को सातादेखि विद्युतीय राहदानी वितरण सहज हुने भएको छ । राहदानी विभागले अर्को सातादेखि सङ्क्रमणकालीन अवस्थाका लागि राहदानी छपाइ गर्न विकल्पसहितको बाटो अख्तियार गरेकाले अर्को सातादेखि वितरण सहज हुने भएको हो ।
नयाँ राहदानी छपाइका लागि भएको नयाँ दुई कम्पनीसँगको सम्झौता अनुसार आगामी फागुन महिनादेखि मात्र छपाइ हुने चरणमा छ । यसबिचमा सङ्क्रमणकालीन आवश्यकता पूरा गर्न पुरानो कम्पनीसहित अर्को विकल्प पनि अपनाउँदै राहदानी वितरणलाई सहज बनाउन लागिएको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो । यसअघि फ्रान्सको आइडिमियासँग भएको सम्झौता अनुसार राहदानी छपाइ हुँदै आएको थियो । बिचमा नयाँ बोलपत्रमार्फत नयाँ कम्पनीसँग सम्झौता भएपछि पुरानो कम्पनीले छापिदिनुपर्ने सङ्क्रमणकालीन आवश्यकताको राहदानी नछापिएपछि राहदानी अभाव हुन पुगेको छ । दसैँतिहारपछिको अवस्था भनेको राहदानी अत्यधिक माग हुने ‘सिजन’ का रूपमा लिइन्छ तर यहीबेला राहदानी छपाइ नहुँदा मौज्दात राहदानीबाट दैनिक कोटा घटाएर विभागले अत्यावश्यकलाई मात्र वितरण गर्दै आएको पनि आधा महिना नाघ्न लागिसक्यो ।
दैनिक जसो काम र अध्ययनका लागि विदेश जानेको भिड पछिल्लो समय विभागमा उच्च हुन थालेको छ । राहदानीका लागि फाराम भर्न पुगेकाहरूले राम्ररी भर्न नपाएको गुनासो पनि बढ्न थालेको छ । अत्यधिक मागको सम्बोधन गर्दै राहदानी वितरणलाई सहज बनाउन प्रधानमन्त्री सुशीला कार्कीले यसअघि नै परराष्ट्र मन्त्रालय र राहदानी विभागसहितका सरोकारवालालाई निर्देशन दिनुभएको थियो ।
विभागले पनि तदारुकता देखाउँदै विकल्पसहितका पथ अँगाल्दै सङ्क्रमणकालीन आवश्यकताको पूर्ति गर्न पहल गरिरहेको महानिर्देशक अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरानो कम्पनीले पनि छपाइ गर्छु भनेको छ, नयाँसँग पनि तत्कालको माग पूरा गर्न विकल्पमा कुरा गरेका छौँ, अबको केही दिनभित्रै सबै कुरा मिलेर छपाइतिर अघि बढ्ने तयारीमा छौँ ।”
हरेकदिन जसो बिहानदेखि लाम लागेर विभाग र जिल्ला प्रशासन कार्यालयमा बसेकाले मध्याह्न नहुँदै अनलाइन फाराम सकिएको खबर पाउँदा निराश हुँदै फर्कने गरेका छन् । विभागसँग हाल एक लाख ७५ हजार थान मात्र राहदानी पुस्तिका मौज्दात रहेको अवस्था छ । अबको दुई साताभित्र पनि राहदानी छपाइ सुरु नहुने हो भने विभागले वितरण ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने सम्भावना कायमै छ ।