चितवन समाचारदाता,चितवन, चैत २२ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको ‘बखान सहकारी’ यहाँको मुख्य गन्तव्य बन्दै गएको बताउनुभएको छ । ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा दाहालले भरतपुरका सातवटा मुख्य गन्तव्यमा बखान सहकारी समावेश भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भरतपुरमा ३० वटा गन्तव्यमध्ये बखान सहकारीलाई मुख्य सातमा समावेश गरी प्रवद्र्धन गरिएकाले यसको दुरगामी महìव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर भ्रमण वर्ष २०२४ मा देश विदेशबाट पर्यटकलाई निम्तो दिइएको छ । बखान सहकारीमा पर्यटकको आगमन हुनेछ । सहकारीकर्मीको लागि सिकाइको थलो बन्नेछ ।”
चितवन जिल्लाको शारदानगरमा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो । अहिले पनि दैनिक रूपमा सयौँको सङ्ख्यामा सहकारी अभियन्ता अवलोकन भ्रमणका लागि यहाँ आउने गर्दछन् ।
देशभरका सहकारीकर्मीको सिकाइको थलो बनाउने गरी बखान सहकारीलाई सङ्ग्रहालयका रूपमा विकास गर्न भैतिक संरचनाहरू निर्माणाधीन छन् । नेपाल सरकारबाट १० करोड रुपियाँ विनियोजन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्ग्रहालयको शिलान्यास गर्नुभएको थियो ।
बखान सहकारीको नेपालको पहिलो सहकारी हो । यसको स्थापना भएको दिनलाई देशभरका सहकारीले सहकारी दिवसका रूपमा मनाउँदै आएका छन् । भरतपुर महानगरमा मात्र तीन सयवटा सहकारी छन् ।