• १२ वैशाख २०८१, बुधबार

रथयात्रासँगै फोटो प्रदर्शनी

blog

काठमाडौँ, चैत १९ गते । यति बेला काठमाडौँको भित्री टोलहरू जात्रामय बनेका छन् । आर्य अवलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ जनबहाःद्यः) रथयात्रामा यहाँका रैथानेहरू जात्रामा सहभागी हुन उत्साहका साथ जुटेका छन् । हरेक वर्ष चैतेदशैँका दिनबाट सुरु हुने यो जात्रा, यसकोे महत्व र प्रक्रियाका बारेमा स्थानीयलाई राम्रै ज्ञान र अनुभव भए पनि काठमाडौँबाहिरबाट आएका अन्यका लागि कम मात्र जानकारी हुन्छ सक्छ । 

त्यही अभाव  पूर्ति गर्नका लागि यस वर्ष जात्रासँगै त्यससँग सम्बन्धित फोटोहरू प्रदर्शनी पनि सुरु गरिएको छ । सोही क्रममा शनिबार काठमाडौँ लगनटोलमा फोटो प्रदर्शनी गरिएको छ । गत बिहीबार असनबाट सुरु भएको प्रदर्शनी शुक्रबार हनुमानढोका परिसरमा गरिएको थियो ।

फोटो प्रदर्शनी राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले २५औँ रजत जयन्तीको अवसर पारेर जात्रा पर्व, हाम्रो गर्व : (सेतो मत्स्येन्द्रनाथ रथ जात्रा) विषयमा गरेको हो । प्रदर्शनीमा व्यावसायिक फोटो पत्रकार तथा अन्य फोटोग्राफरले खिचेका ३५ वटा फोटा समावेश गरिएको कार्यक्रम संयोजक तथा फोटो पत्रकार सुनील शर्माले जानकारी दिनुभयो । रथयात्रा मात्रै नभएर आर्य अवलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) जात्रा विभिन्न पक्ष, प्रक्रियासँग सम्बन्धित विषयबारे जनमानसमा जानकारी दिनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको शर्माको भनाइ छ ।  लगनमा आर्य अवलोकितेश्वर आमा भएको रुखको परिक्रमा गराइने प्रचलन रहेको छ । 

हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने आर्य अवलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने फोटोहरूबाट प्रस्ट देखिन्छ भने फोटोसँगै लेखिएका विवरणले जात्राबारे बुझ्न थप सहज बनाएको छ ।  वि.सं. २०४६ को जनआन्दोलनका क्रममा रथयात्रा सञ्चालन नभई सामान्य खटमा मात्र मत्स्येन्द्रनाथलाई बोकेर लगिएको फोटो अवलोकनकर्ताले आश्चर्य मान्दै हेरिरहेको थियो । त्यस्तै वि.सं २०६४ मा रथ परिक्रमाको पहिलो दिन तीनधाराबाट असनतर्फ तान्ने क्रममा रत्नपार्कमा रथ ढलेको फोटोले पनि धेरैको ध्यान तानेको  देखिन्थ्यो ।

पताः ध्वजा चढाइएको फोटो, आर्य अवलोकितेश्वर नुहाउनका लागि पानी लिन गएको फोटोहरू प्रदर्शनीमा राखिएको थियो । कार्यक्रम संयोजक शर्माले पहिलो र दोस्रो दिनमा धेरै मानिसले अवलोकन गरेको जानकारी दिँदै फोटो प्रदर्शनीको उद्देश्य सफल भएको विश्वास व्यक्त गर्नुभयो । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट रथयात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । आर्य अवलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) जन्म, मृत्यु र  सहकालका देवताका रूपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रूपमा समेत पूजा आराधना गर्ने चलन छ । आर्य अवलोकितेश्वर जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ  मानिस जात्रामा सहभागी हुन्छन् । रथयात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पु-याइन्छ ।

अष्टमीका दिन निकालिएको आर्य अवलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथयात्रा विसर्जन गर्नुपर्ने प्रचलन छ । हिन्दु र बौद्ध धर्मावलम्बीका साझा आस्थाका देवता आर्य अवलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमासम्मका पाँच दिन चल्छ । मूर्ति सेतो भएकाले देवताको नाम सेतो मत्स्येन्द्रनाथ भन्ने गरिएकोे विश्वास छ ।