• १४ वैशाख २०८१, शुक्रबार

युवामाझ जम्दै गायक चन्द

blog

काठमाडौँ, चैत १८ गते । नेपाली लोकसङ्गीतमा निरन्तर लागिरहनुभएका लोकदोहोरी गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्न लाई’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। 

करिब डेढ सयभन्दा बढी लोकगीतमा आफ्नो आवाज भरिसक्नुभएका गायक चन्द युवामाझ मात्र नभएर वृद्धवृद्धा र बालबालिकामा समेत चर्चित हुनुहुन्छ। नेपाली गीत–सङ्गीत र कला संस्कृतिलाई प्रवद्र्धन गर्ने क्रममा गायक चन्दले दुई दर्जनभन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ। ‘घाँटी रेट्न लाई’ बोलको गीत युवकयुवतीबीच देखिने असमझदारीको एउटा पाटा हो, गायक चन्द भन्नुहुन्छ, “म गीत प्रायः आत्मसन्तुष्टिका लागि मात्र गाउँछु। २०६३ सालबाट निरन्तर लोकदोहोरीमा लाग्नुअघि उहाँले सङ्गीतबारे केही आधारभूत कक्षा पनि लिनुभएको थियो। 

 २०६३ सालमै उहाँको ‘माया सारै छ’ बोलको पहिलो लोकदोहोरी गीत बजारमा आएको थियो। त्यसपछि उहाँले पछि फर्केर हेर्नु परेको छैन। उहाँले चरी रुखमा, भीरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, आमा अँध्यारो, तीन फुर्के डोरी, फूल फुल्यो केसरी, मेची महाकालीलगायत दर्जनौँमा आफ्नो स्वर दिइसक्नु भएको छ। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको गायक चन्दले साङ्गीतिक कार्यक्रमका लागि नेपालको प्रायः सबै जिल्लाको भ्रमण गरिसक्नुभएको छ। लोकसाहित्य र लोकसङ्गीतको अध्ययनमा रुचि राख्नुहुने उहाँ नुर–गङ्गा प्रतिभा पुरस्कार गुठी स्थापित लोक गायन पुरस्कार–२०७६ बाट सम्मानित भइसक्नुभएको छ। यसबाहेक उहाँ हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८ मा सर्वोत्कृष्ट गायक, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९ मा सर्वोत्कृष्ट एकल लोकगीत पब्लिक च्वाइसबाट सम्मानित हुनुभएको छ। 

गुल्मीमा जन्मिनुभएका उहाँ भन्नुहुन्छ, “प्रविधिले फड्को मारेको वर्तमान समयमा नेपालमा लोकदोहोरीको अवस्थालाई नराम्रो भन्न मिल्दैन।” आफूले गाएको गीतलाई श्रोतामाझ सुनाउन गाह्रो नभएको बताउँदै गायक चन्द थप्नुहुन्छ, “अहिले मोबाइल फोन र सामाजिक सञ्जालले धेरै सजिलो बनाइदिएको छ।” पहिला कम मिडिया भएको र सामाजिक सञ्जालको पनि प्रयोग नभएको समयमा केही चुनौती रहेको स्मरण गर्दै गायक चन्दले अहिले पहिलाभन्दा बढी प्रतिस्पर्धा रहेको अनुभव सुनाउनुभयो। यस क्षेत्रमा आउनुअघि यसबारे पर्याप्त मात्रामा जानकारी लिएर आउनुपर्ने सुझाव दिँदै गायक चन्दले त्यसो गर्न सके नेपाली गीतसङ्गीत क्षेत्रलाई अझ मजबुत बनाएर अन्तर्राष्ट्रिय स्तरमा पु-याउन सजिलो हुने विश्वास व्यक्त गर्नुहुन्छ।