• १३ वैशाख २०८१, बिहिबार

मन्त्री श्रेष्ठद्वारा एसइई परीक्षाको अनुगमन

blog

हेटौँडा–४ स्थित विद्यालयमा एसइई परीक्षाको अनुगमन गर्नुहुँदै बागमती प्रदेशका कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, चैत १७ गते ।
यस वर्षको माध्यामिक शिक्षा परीक्षा शुक्रबारबाट सुरु भएको छ । आजबाट सुरु भएको एसइईको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अनुगमन गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय र भुटनदेवी माविमा रहेको परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले परीक्षाको तयारी, व्यवस्थापनलगायतका बारेमा जानकारी लिनुभएको थियो ।

मन्त्री श्रेष्ठले परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रयास भएको भन्दै विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुःखद भविष्यको कामना गर्नुभएको थियो । त्यस्तै, मन्त्री श्रेष्ठले परीक्षाको समयमा परीक्षार्थीलाई समस्या पर्न सक्ने भन्दै विद्यालय नर्सको व्यवस्थ ागर्न केन्द्राध्यक्ष आग्रह गर्नुभएको थियो ।

चैत २९ गतेसम्म चल्ने एसइईमा बागमती प्रदेशको ४३४ परीक्षा केन्द्रमा एक लाख एक हजार ७३३ परीक्षार्थी छन् । यसैबीच बागमती प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा परीक्षाको क्रमममा परीक्षा हलभित्र अनुगमनका नाममा भीडभाड नगर्न आग्रह गरिएको छ ।

बागमती प्रदेशको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले परीक्षा हलभित्र अनुगमनका नाममा हुने भीडभाडले परीक्षार्थीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने हुँदा भिडभाड नगर्न आग्रह गरेको हो ।

अनुगमनका नाममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरुलगायत विगतका परीक्षाहरुमा परीक्षाहरुमा प्रवेश गर्ने क्रम बढेको पाइएपछि समितिले यसमा रोक लगाएको हो । साथै तोकिएको निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्तिहरु एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश नगर्न पनि समितिले भनेको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले एसइईलाई व्यवस्थित, मर्यादित र भयरहित बनाई परीक्षार्थीहरुले निर्धक्कसँग परीक्षा दिने वातावरण निर्माण गर्न यस्तो आग्रह गरिएको जानकारी दिनुभयो ।

समितिले एसइईमा परीक्षार्थीहरुलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवम् परीक्षा सञ्चालन भइरहेको अवधिमा कार्यालय प्रयोजनका लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडियो नलिन आग्रह गरेको छ । मैनालीले भन्नुभयो, ‘‘परीक्षामा कर्मचारी र प्रहरी गरी १५ हजार ८८६ जना खटिने छन् ।’’

यो वर्षको एसइईमा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२६ जना परीक्षार्थी रहेका छन् । काठमाडौं जिल्लामा १२३ र रसुवा जिल्लामा पाँच वटा परीक्षा केन्द्र रहेको छ । परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।