• १९ फागुन २०८२, मङ्गलबार

कालिनाग माध्यमिक विद्यालयमा बस सेवा सुरु

blog

बस उद्‌घाटन गर्नुहुँदै बाग्मती प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री कुन्दनराज काफ्ले । तस्बिर :सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट,मङ्सिर २६ गते । दोलखाको  कालिन्चोक गाउँपालिका-८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालन गरेसँगै आवतजावत सहज भएको छ। 

धेरै विद्यार्थी टाढाबाट पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै बाग्मती प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री कुन्दनराज काफ्लेले सामुदायिक विद्यालयलाई ‘अब्बल’ बनाउन र शिक्षामा सबैको पहुँच विस्तार गर्न बस सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 


बाग्मती प्रदेशले शैक्षिक क्षेत्रको विकास प्राथमिकता साथ अगाडि बढाएको काफ्लेले बताउनुभयो ।“राज्यको लगानी बढ्दै गएको छ, तर विद्यार्थी सङ्ख्या घट्दो छ। बस सुविधा जस्ता पहलले अभिभावकको भरोसा फिर्ता ल्याउन मद्दत गर्छ,” उहाँले टिप्पणी गर्नुभयो।

 बिहानै दूरदराजका बस्तीबाट हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । पहिले पैदल हिँड्न कष्ट हुन्थ्यो, अब घर नजिकैबाट बसले लैजान्छ भन्ने थाहा पाएपछि विद्यार्थीलाई विद्यालय पठाउन सहज हुने मन्त्री काफ्ले बताउनुहुन्छ । 

सुरक्षित, नियमित र निःशुल्क सेवा उपलब्ध गराएपछि विद्यालय प्रशासन र अभिभावक दुवैपक्ष उत्साहित देखिएका छन्। सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण घटिरहेका बेला स्थानीय तहहरूले विद्यालय सुधारका विभिन्न कार्यक्रम अघि बढाइरहेको गाउँपालिका अध्यक्ष कुलबहादुर बुढाथोकीले बताउनुभयो ।

बस सेवा सञ्चालन भएपछि विद्यालय भर्ना वृद्धि हुने अपेक्षा गरिएको प्रधानाध्यापकले बताउनुभयो । अभिभावकको मुख्य चिन्ता सुरक्षा र समयमै विद्यालय पुग्ने थियो दुवै समस्या समाधान भएको वडाध्यक्ष सूर्यबहादुर आचार्यले बताउनुभयो ।


बस सेवा विस्तारलाई आगामी वर्षहरूमा अन्य विद्यालयमा पनि लागु गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । नियमित रूपमा बस सेवा सञ्चालन रहँदा भर्ना मात्र होइन, उपस्थिति र शैक्षिक गुणस्तरमा समेत सुधार आउने वडाको विश्वास रहेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण शिवाकोटीले विपन्न वर्गका बालबालिकालाई विद्यालय पहुँच सहज बनाउन बस सेवाले टेवा पुर्‍याउने उल्लेख गर्नुभयो।

राजमार्ग छेउमै रहेको विद्यालयमा यसअघिको बाध्यतापूर्वक सार्वजनिक सवारी प्रयोग गर्ने प्रचलन  हटेको शिवाकोटीले बताउनुभयो ।कक्षा १ देखि १२ सम्म अध्यापन हुने सो विद्यालयमा हाल तीन  सय विद्यार्थी अध्ययनरत छन्।