• ११ मंसिर २०८१, मङ्गलबार

एसईईको सान्दर्भिकता

blog

वि.सं १९९० मा पहिलो पटक सञ्चालन भएको एसएलसी मुलुक सङ्घीयतामा रूपान्तरण भएपछि केही वर्षअघिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नाममा सञ्चालन भइरहेको छ। यस वर्षको एसईई चैत १७ देखि २६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा मूल्याङ्कन पद्धतिमा केही परिवर्तन भए पनि हाल न्यूनतम उत्तीर्णाङ्क (प्रयोगात्मक र मूल सैद्धान्तिक परीक्षा) तथा अक्षराङ्क/ग्रेडिङ पद्धतिलाई समायोजित रूपमा मूल्याङ्कनको आधार बनाइएको छ। 

शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आएसँगै कक्षा १० एसईईको परीक्षा एवं कक्षा ११ र १२ को परीक्षासम्बन्धी कार्यहरूलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकारभित्र आबद्ध गरिएको छ। साथै, कक्षा १० को परीक्षा प्रादेशिक स्तरमा सञ्चालन गर्ने र समग्र विद्यालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधिभित्र समाहित गरिएको छ।

परीक्षालाई समयानुकूल अनुशासित, मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डले आफ्नो तर्फबाट गरी आएको भूमिका तथा व्यवस्थापनका सवालमा अन्य सरोकारवाला निकायको सहकार्यसमेत अपरिहार्य छ। विशेषतः परीक्षाका सामान्य मूल्यमान्यतालाई कायम राख्ने, परीक्षार्थीमैत्री तथा भयरहित वातावरणमा परीक्षा सञ्चालन तथा व्यवस्थापनमा तल्लो तहमा केन्द्राध्यक्ष र निरीक्षकदेखि उपल्लो तहका निकाय र पदाधिकारीको समन्वयात्मक सहकार्य न्यूनतम आधार रहन्छ। सामान्यतः दुर्गम तथा पहाडी क्षेत्रका केही ठाउँ तथा तराई क्षेत्रमा परीक्षाको न्यूनतम मर्यादा र मूल्यलाई कायम गर्ने दिशामा विगतका अनुभवलाई मनन गर्दै थप मर्यादित र अनुशासित बनाउने कार्यमा कडाइका साथ पहल आवश्यक छ। मिलिभगत र तदर्थ शैलीमा परीक्षामा अनियमिता नहोस् भन्नेतर्फ सजगता आवश्यक छ। सरोकारवालाको ध्यान तिखो हुनेछ।

रूपान्तरण र परिवर्तनको कसी : 

व्यवस्था र पद्धतिले विद्यालय शिक्षाले १२ कक्षाको परीक्षालाई विद्यालय तहको शिक्षाको अन्तिम परीक्षाको रूपमा ग्रहण गरिसकेको छ। विधि, कानुन र ऐनमा व्यवस्था भएअनुसार पनि। यस अर्थमा १० कक्षा उत्तीर्ण परीक्षाको रूपमा एसईई नै हो र त्यसैअनुसार हाम्रा विधि र व्यवहार अघि बढ्नु सान्दर्भिक छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने १२ कक्षाको परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हो र तत्पश्चात उच्च शिक्षाको प्रारम्भबिन्दु सुरु हुन्छ। अधिकांश मुलुकका शैक्षिक प्रणालीको अभ्यास पनि यही हो। हामीले केही पछि थालनी ग¥यौँ तर सही दिशातर्फ नै लक्षित छ। 

मुलुक सङ्घीयतामा रूपान्तरण भइसकेपछि परीक्षा व्यवस्थापन, अनुगमन, सञ्चालनलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भनिए पनि यसवर्षको परीक्षाको जिम्मा पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिएको छ। प्रश्नपत्र छपाइ, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनको जिम्मेवारीका साथ परीक्षाका यावत् कार्य अघि बढ्ने छन्। विद्यमान शिक्षा ऐन तथा कानुनी व्यवस्थाअनुसार एसईईको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रदेश सरकारमा निहित रहे पनि परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रदेशमा हस्तान्तरण गरिएको छैन भने सङ्घको जिम्मेवारी पनि कायमै राखिएको छ। एसएलसी एसईईमा रूपान्तरण गरिसकेपछि पनि पुरानै शैली र मानसिकतामा परीक्षा सञ्चालन भइरहनु र सङ्घको जिम्मेवारीलाई पूर्ण रूपमा प्रदेशमा हस्तातरण गर्न नसकिनु विडम्बना हो। परीक्षालाई अझै पनि अदृश्य हाउगुजीका रूपमा राज्यले प्रस्तुत गर्न खोजेको विश्लेषण सम्बद्ध शिक्षाविद् तथा सरोकारवालाको रहेको छ। हुनसक्छ, आगामी वर्ष केही रूपान्तरण र परिवर्तनको अनुभूति हुनेछ। 

प्राविधिक धारअन्तर्गतको परीक्षाको नतिजा भने विगतका वर्षदेखि नै अक्षराङ्क मूल्याङ्कन विधिका (लेटर ग्रेडिङ) आधारमा प्रकाशित गर्ने परिपाटी भई नै सकेको हो। साथै अक्षराङ्क मूल्याङ्कन पद्धतिका आधारमा परीक्षा परिणाम प्रकाशन गर्ने पद्धतिका सकारात्मक र नकारात्मक पक्षका बारेमा शिक्षाविद् तथा तत्सम्बन्धी क्षेत्रका क्रियाशील निकायका बीचमा बहस पैरवी पनि निरन्तर छ। विशेषतः प्रारम्भिक थालनीमा यस पद्धतिका कमजोर पक्षका रूपमा अधिकांश विद्यार्थीलाई उत्तीर्ण गराउने मानसिकताको उपज रहेको पाइयो तर यस मान्यताको सही रूपान्तरणले थप चुनौती ल्याए। विशेषतः विद्यार्थीको ल्याकतमा अपेक्षित सुधारको छनक दिन सकेन। केही कसिलो र सुधारात्मक अभ्यास पछिल्ला समयमा भएका छन् तर पनि अपेक्षित उपलब्धि दिन हम्मे नै रहला। फेरी पढ्ने पढाउने व्यवहार, मानक र परिपाटीमा सुधारका तात्त्विक परिवर्तन नपाइएको सन्दर्भको उठान रहनु र अर्कोतिर उत्तीर्ण हुने सबै विद्यार्थीले उच्च शिक्षामा सहज पहुँच कसरी प्राप्त गर्न सक्छन् भन्ने कुरा बहसको थालनी गरेको छ। यस मानेमा उच्च शिक्षाको पहुँचबाट सबै विद्यार्थीलाई समावेशी गर्नुपर्ने आवश्यकता र बाध्यताबीच सरकारले उच्चशिक्षा प्रदान गर्ने निकायको सञ्चालन र व्यवस्थापन गर्नसक्नु पर्ने चुनौती आफैँमा अहम् छ। 

परीक्षालाई अनुशासित, मर्यादित तथा मूल्यको विषयवस्तुका रूपमा यसको गरिमा र साखलाई कायम गर्ने दिशामा सम्बन्धित सबैको सहकार्य र समन्वयात्मक भूमिका रहेको छ। यस हिसाबमा पहिलो दायित्व परीक्षामा सम्मिलित परीक्षार्थी आफ्नो १० कक्षासम्मको विद्यालय शिक्षाको मूल्याङ्कनको मापनका रूपमा लिई मेहनत र परिश्रमको प्रतिफल प्राप्तितर्फको अभियानको हो भनी परीक्षामा सहभागी हुनुपर्ने देखिन्छ। परीक्षालाई कुनै अदृश्य हाउगुजी वा कठिनतम परीक्षाको मापनका रूपमा नलिएर तत् तहको शिक्षामा हासिल गरेको ज्ञानलाई परीक्षाका माध्यमबाट रूपान्तरण गर्ने अवसरका रूपमा लिन सकेको खण्डमा उच्च अङ्कका साथ परीक्षामा उत्तीर्ण हुन सकिन्छ नै। परीक्षार्थीले कुनै पनि खालको डर र भयको नकारात्मक मनोविज्ञानबाट आफूलाई टाढा राखेर सकारात्मक सोचका साथ परीक्षालाई लिन सकेको खण्डमा सफलताको पाइला नजिकै रहन्छ। आगामी शिक्षा आर्जनको क्रमलाई ११ कक्षाको अध्ययनतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन वा शिक्षाशास्त्र अनि प्राविधिक धारतर्फको विधामा निरन्तरता दिने दिशामा एसईई परीक्षा परिणामले केही मार्गनिर्देश गर्छ। मेहनत र परिश्रमका साथ परीक्षामा सफलता पाउने दिशामा आफूलाई क्रियाशील बनाउनु आवश्यक छ। 

परीक्षा सञ्चालन तथा उच्चस्तरीय व्यवस्थापनका सन्दर्भमा परीक्षा केन्द्रको आन्तरिक वातावरण तथा परीक्षा केन्द्रभन्दा बाहिरको आसपासको बाह्य वातावरणले परीक्षालाई शान्तिपूर्ण, मर्यादित तथा अनुशासित बनाउने दिशामा महत्व राख्छ। जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने दिशामा कुनै किसिमको मुलाहिजा तथा कन्जुस्याइँ गर्नु हुँदैन। परीक्षार्थीले मनोवैज्ञानिक त्रास, आस भयबाट मुक्त भई निर्धक्क ढङ्गबाट परीक्षामा सहभागी हुने वातावरणतर्फ सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुनुपर्छ। परीक्षाको न्यूनमत मर्यादा र आचारसंहितालाई पालना नगर्ने जो–कोही सरोकारवाला तथा परीक्षाका केन्द्राध्यक्ष र निरीक्षकलाई आचरणअनुसार पुरस्कार र दण्ड जरिवानाको कार्यान्वयन गरिएको खण्डमा अवश्य पनि उत्साहजनक परिणाम पाउन सकिन्छ। 

परीक्षालाई सहभागी हुने विद्यार्थीले उच्च शिक्षातर्फको अग्रगमनका रूपमा लिने वातावरण सिर्जन गर्ने दिशामा सबैको चासो र सरोकार हुनुपर्छ। मर्यादित, अनुशासित तथा भयरहित बनाउने दिशामा सरोकारवालाले दायित्वबोध गरेमा परीक्षाको गरिमाले थप उचाइ हुनेछ। 

लेखक मानवशास्त्री तथा अधिवक्ता हुनुहुन्छ।