जापानिज इन्सेफ्लाइटिस सामान्यतया वैशाखदेखि सुरु भई साउनदेखि कात्तिकसम्म बढी देखिने गर्छ । यसको सङ्क्रमण यस वर्ष देशभर ४२ जिल्ला र ११० पालिकामा फैलिएको छ । १६४ जनामा जापानिज इन्सेफ्लाइटिस सङक्रमण भई ३१ जनाको मृत्यु भयो । नेपालमा एक दशकमा जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या यो सबैभन्दा धेरै हो । मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षमाथिका छन् । जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५ जना, २०२३ मा सात जना र २०१७ मा एक जनाको निधन भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले पनि दक्षिण एसियाली क्षेत्रलाई औलो प्रकोपको केन्द्रविन्दु र एसियाली क्षेत्रलाई इन्सेफ्लाइटिस प्रकोप केन्द्र मानेको छ । भित्री मधेश र मधेशसहितका २८ जिल्लालाई जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएको जिल्ला मानिन्छ ।
सन् १९७८ मा भारतको उत्तरप्रदेशबाट नेपालको रुपन्देहीमा प्रवेश गरी पटक पटक महामारीको रूप लिएको यस रोगबाट प्रायः विपन्न वर्ग, प्रतिरोधात्मक शक्ति कम भएका, अज्ञान बालबालिका (१५ वर्ष मुनिका) र वृद्धवृद्धा (५० वर्ष भन्दा माथिका) जोखिम समूहमा पर्छन् । जनस्वास्थ्यका दृष्टिले यस रोगलाई ‘गरिबमा पनि अति गरिबको रोग’ का रूपमा परिभाषित गरिन्छ । किनभने सुँगुर, बङगुर र हाँस नै गरिबका सम्पत्ति, झुल किन्न नसक्ने आर्थिक हैसियत, जनचेतनाको कमी, रेडियो टिभीबाट दिइने जानकारीमा पहुँच नहुनु, रोग लागिसकेपछि पनि उपचार खर्चको कमी वा डरले अस्पताल नपुग्ने वा उपचार गराउँदा गराउँदै बिचैमा भाग्ने र राज्यको पहुँच पुग्न नसक्नुले विपन्न वर्ग बढी प्रभाबित हुन्छन् ।
रोग के हो ?
महामारीको रूपमा फैलिने इन्सेफ्लाइटिस जापानिज इन्सेफ्लाइटिस हो र कारक जापानिज बी इन्सेफ्लाइटिस भाइरस हो । जापानिज इन्सेफ्लाइटिस समूह बीको फलेवी भाइरसद्वारा हुने मस्तिष्कको वा दिमागको सुजन हो जहाँ पिप हुँदैन । सङ्क्रमणको मुख्य स्रोत सुँगुर भए पनि बङ्गुर, हाँस, कुखुरा, घोडा, गाई, भैँसी र राँगा जस्ता घरपालुवा र जङ्गली चरापन्छीको शरीरमा वा सङ्क्रमित अवस्थामा फलोवी भाइरस अत्यधिक रहँदा क्युलेक्स जातको पोथी लामखुट्टेले टोकी मान्छेलाई टोकेर मानिसमा सार्छ ।
लक्षण
सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेको पाँचदेखि १४ दिन पछाडि प्रत्येक ३०० देखि ५०० जनामध्ये एक जनामा यो रोगका लक्षण देखा पर्छन् । सुरुमा ज्वरो आउने, धेरै टाउको दुख्ने, बान्ता हुने, शरीर थरथराउने, जिउ गल्ने, घाँटी बस्ने वा स्वर बस्ने हुन्छ । पछि अरबोभाइरसले मस्तिष्कमा असर पु¥याइ बेहोस हुने, ज्वरोसँगै बर्बराउने, मांसपेशी कडा हुने, घाँटी वा गर्धन कडा हुने, कम्पन हुन्छ । स्नायुसम्बन्धी विकृतिले हातखुट्टा नचल्ने, मुख बाङ्गिने, दिसापिसाब नियन्त्रण गर्न नसक्ने र पक्षघात हुन सक्छ ।
अधिकांशमा लक्षण सामान्य वा असर नदेखिने तर हरेक २५० जनामा एक जनामा कडा लक्षण स्नायु प्रणालीमा जटिल समस्या ल्याऊने सङ्क्रमण हुने गर्छ । रोग लागेको झन्डै नौ दिनभित्र नै रोगीको मृत्यु हुने गर्छ । जेई सङ्क्रमण ‘इन्सेफ्लाइटिस,’ ‘मेनेन्जाइटिस’ वा ‘फ्रेवाइल हेडेक’ का रूपमा देखिन सक्छ, साथै उच्च ज्वरो आउने, गम्भीर कम्पन छुट्ने, मानसिक अवस्था बिग्रँदै जाने र हातमा प्यारेसिस हुन्छ ।
ज्वरोको औषधी खाएको दुई–तीन दिनसम्म पनि ज्वरो निको नभएमा, टाउको दुख्ने, वान्ता हुने, बर्बराउने, अचेत हुने र घाँटी अररो भएमा सकेसम्म चाँडै स्वास्थ्य संस्था पुग्न जरुरी रहन्छ । अस्पतालमा आएर उपचार गर्दागर्दै मर्ने बिरामीभन्दा उपचार नपाएर, रोगले च्यापेर ढिलो अस्पताल ल्याउँदा ल्याउँदै, वा धामीझाँक्रीको भर परेर र लापर्बाहीका कारण मर्ने धेरै बढी छन् ।
निदान
मस्तिष्क रस/सिएसएफ, ‘सिटीस्क्यान,’ इइजी, एमआरआई. र भाइरल स्टडिजबाट जापनिज इन्सेफ्लाइटिसको निदान गरिन्छ । निश्चित निदान गर्ने भाइरल स्टडिज केही केन्द्रमा मात्र हुने भएकाले, लक्षणकै आधारमा उपचार गर्नु पर्छ । इन्सेफ्लाइटिस कडा प्रकृतिको रोग भएकाले, परिणाम आउँदासम्म समयमै उपचार नभए यस्ले ज्यान पनि लिन सक्छ ।
उपचार
जापानिज इन्सेफ्लाइटिसको विशेष उपचार पद्धति र औषधी नभएकाले लक्षण तथा कारण अनुसार उपचार गर्न, ज्वरोको, वान्ताको, टाउको दुखाइका र स्टेरोवाइड, विषाणु विरुद्धको, कम्पनको औषधीको साथै अक्सिजन, सलाइन पानी पनि दिने गरिन्छ र कम्पन छुट्ने, चेतना हराउँदै जाने र बेहोस हुनबाट जोगाइन्छ ।
सङ्क्रमितमध्ये २० देखि ४० प्रतिशतसम्मको मृत्यु हुने गर्छ । बाँचेकामा पनि ४० देखि ७५ प्रतिशत जतिले स्नायु बिकार वा स्नायु अपाङ्गता भोग्नु पर्छ । आँखा कान बन्द हुने, बोली बन्द हुने, छारे रोग, बिर्सने रोग, सुस्त मनस्थिति, कान नसुन्ने, पक्षघात जस्ता रोग झेलिरहनु पर्छ । त्यस कारण चुनौती भनेको रोग लाग्न नदिने, रोग लागिहाले मृत्यु रोक्ने र बाँचेकाको बिकलाङ्गपन न्यूनीकरण गर्ने तथा उपचार गर्ने पर्छन् ।
रोकथाम
रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । मृत्युको मुखमा पु¥याउने यो रोग र बचेमा पनि विकलाङ्ग भएर बाँच्नुपर्ने बाध्यताबाट मुक्त हुन एकातिर स्वास्थ्यसम्बन्धी जनचेतनाको वृद्धि र सरसफाइ छँदै छ, अर्कोतिर खोपको प्रयोग गरेर र सङ्व्रmमित लामखुट्टेको टोकाइबाट बच्नु पर्छ ।
खोप
लाइभ एक्टिभेटेड (मरेको विषाणु) र इनएक्टिभेटेड (विषाणु ज्युँदै हुन्छ तर रोग लगाउन नसक्ने गरी कमजोर बनाइएको) दुई किसिमका खोप हुन्छन् । नेपालमा २०५५ सालमा चीन सरकारको सहयोगमा बाँके, बर्दिया, कैलाली र दाङमा पाँच लाखलाई इनएक्टिभेटेड र दुई लाख ५० हजारलाई लाइभ एक्टिभेटेड (एक महिनाको फरक गरेर तीन डोज) दिइएको थियो । तीन डोज पूरा गर्ने ६० प्रतिशत मात्रै भए, ज्वरोको कारण र पटक पटक लगाउने झन्झटका कारण ४० प्रतिशतले खोप दोहो¥याएनन् भने उता लाइभ इनएक्टिभेटेडमा साइड इफेक्ट कम भएको, रोग नलागी सत् प्रतिशत सुरक्षित भएको, खर्च सस्तो पर्नजाने भएकाले एक मात्रा खोप सही ठह¥याइयो ।
सन् २००६ देखि जोखिम क्षेत्रका एक वर्षमाथिका बालबालिकालाई खोप दिन सुरु भए पनि २००९ सम्म विस्तार गर्दै सबै प्रभावित क्षेत्रमा खोप कार्यक्रम विस्तार भएको हो । पहाडमा समेत सङ्क्रमणदेखिन थालेपछि सन् २०१५ मा राष्ट्रिय खोप सल्लाहकार समितिको परामर्शमा बाँकी ४४ जिल्लाका १५ वर्षसम्मका सबैलाई खोप दिने निर्णय भयो । हाल नियमितमा एक वर्षमुनिका र छुटेमा पाँच वर्षमुनिका बालबालिकालाई दिने गरी नियमित खोपमा छ । ८२ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।
लामखुट्टेको टोकाइबाट बच्ने
घर र घर वरिपरिको झाडी फँडानी गर्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने, ढल, नाला सफा गर्ने र निकासको राम्रो ज्यवस्था गर्नु पर्छ । त्यस्ता ठाउँमा मोविल, मटीतेल वा कीटनाशक औषधी छर्कने र घरवरपर सफा राख्नु पर्छ । घरका ढोका झ्याल र मकेलामा तामा वा कासको जाली राख्ने गर्नु पर्छ । जापानिज इन्सेफ्लाइटिस सार्ने क्युलिसिन लामखुट्टे धानबारीमा, जमेका पानीमा बढी हुने भएकाले समय–समयमा धानबारीमा र खाल्टाखुल्टीमा किटनाशक औषधी छर्नु पर्छ । घरबाहिर नसुत्ने, साँझपख घरबाहिर निस्कँदा वा सुत्दा वा काम गर्दा पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । घर बाहिर वा भित्र सुत्दा झुल टाँगेर सुत्नु पर्छ ।
भाइरसको घर मानिने, छाडा गाईवस्तु, पशुपन्छी, कुखुरा, विशेष गरी सुँगुर, बङ्गुर र हाँस भरिसक्य एउटै घरमा नभए घरसँगै जोडिएको ससाना झुपडीमा नपाल्ने र पालेतापनि घर टाढा, जालीवाला सफा वाकसमा व्यवस्थित ढङ्गले पाल्ने गर्नु पर्छ । बङ्गुर, सुँगुरमा पनि भ्याक्सिनेसन गरिनु पर्छ ।
अन्त्यमा घर र घर वरिपरि व्यक्तिगत र सामाजिक सरसफाइ गर्ने,बालबालिकालाई खोप लगाइदिने, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अवलम्बन गर्न सके मात्र पनि अनेकन सङ्क्रमण, जटिलता र मृत्यु रोक्न सकिन्छ ।