• २७ असोज २०८२, सोमबार

लोप हुँदै लट्टेको खेती

blog

तीन वर्षअघि सिमकोटमा फलेको लट्टे खेती । फाइल तस्बिर

राजन रावत

हुम्ला, असोज २७ गते  । धेरै सम्भावना रहेको लट्टे खेती जिल्लाबाटै लोप हुने अवस्थामा पुगेको छ । किसानले यो बालीको खेती गर्नै छोडेपछि लट्टे खेती हराउने अवस्थामा पुगेको हो ।

पहिले घरघरै किसानहरुले आफ्नो जग्गामा लट्टे खेती गर्ने गरेको भए पनि पछिल्लो वर्षमा यसको खेती गर्न छोडिएको कारण यो बाली लोपाेन्मुख अवस्थामा पुगेको सिमकोट गाउँपालिका–८ का किसान ल्वान्नी बुढाले बताउनुभयो । 

खेतीपाती लगाएको जग्गामा कतै एक दुई बोट मात्र लट्टे फलेको देखिने बताउँदै पहिले चिनो, कोदो, आलु, सिमी लगायतका बाली लगाएको जग्गाका लट्टेले गर्दा दृश्य पनि रमाइलो देखिने उहाँको भनाइ छ । यो लट्टे बालीको खेती कुनै एक गाउँमा मात्र नभएर जिल्लाबाटै हराएर जान थालेको चिन्ता व्यक्त गर्दै बुढाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । 

सिमकोट गाउँपालिका–२ का किसानजङ्ग बोहराले घर–घरमा एक क्विन्टलसम्म लट्टे उत्पादन हुने गरैको भए पनि अहिले धेरैले यसको नाम पनि बिर्सन थालेको बताउनुभयो । अर्को कुरा लट्टे बालीको अन्न किसानले प्रयोग गर्नै छाडेको कारण यो लोपाेन्मुख अवस्थामा पुगेको उहाँले बताउनुभयो । 

लट्टे खेती हराउन थालेको बताउँदै कृषि विकास कार्यालयले यसको संरक्षणमा किसान स्तरबाटै गर्नुपर्ने जनाएको छ । हाल कार्यालयसँग लट्टे खेतीको कुनै विवरण नरहेको उहाँको भनाइ छ ।