• २७ असोज २०८२, सोमबार

विकासका लागि शान्ति

blog

शान्ति र विकास एक सिक्काका दुई पाटा जस्तै हुन् । जहाँ शान्ति हुन्छ, त्यहाँ विकास हुन्छ । शान्तिलाई नै विकासको जग मान्न सकिन्छ । शान्ति हुनका लागि सम्बन्धित राष्ट्रका सबै पक्षमा विकासको वातावरण बन्नु पर्छ । चाहे त्यो भौतिक विकास होस् चाहे त्यहाँका जनताको बौद्धिक वा प्राज्ञिक विकास होस् तिनैबाट नै शान्तिको सही अर्थ साकार हुन्छ । 

शान्तिले समाजमा स्थिरता र सुरक्षा कायम गर्छ, जसले विकासका लागि आधार तयार गर्छ । विकास भनेको अर्थिक, सामाजिक, सांस्कृतिक प्रगति हो । जब कुनै देशमा शान्ति हुन्छ, त्यहाँका नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पहुँच हुन्छ, जसले विकासमा मद्दत गर्छ । विकासले पनि शान्तिलाई प्रोत्साहित गर्छ । जब मानिसलाई आर्थिक अवसर र सामाजिक सेवा उपलब्ध हुन्छन उनीहरूमा स्वतः सन्तोष र सन्तुष्टिको मिठो अनुभव हुन्छ । यसरी शान्ति र विकास एकअर्कालाई सुदृढ पार्छन् । शान्तिले मानिसलाई सुरक्षित महसुस गराउँछ भने विकासले मानिसको जीवनस्तरमा सुधार ल्याउँछ । 

विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गरिसकेको छ । शान्ति कायम गरेका कतिपय मुलुकले यस शताब्दीमा आएर अझ उन्नति र प्रगति गर्दै लगेका छन् । शिक्षा, रोजगार, सञ्चार, यातायात, विद्युत्, विज्ञान र प्रविधिका क्षेत्रमा अकल्पनीय प्रगतिले विकासोन्मुख मुलुकका जनताका लागि उनीहरूको जीवन लोभलाग्दो बनेको छ । विडम्बना ! हाम्रो देशमा राजनीतिक मतभेद, भ्रष्टाचार, खुट्टा तान्ने प्रवृत्ति, विध्वंसात्मक कार्य, विद्रोही स्वभाव, सुशासन अभाव जस्ता अशान्तिले गर्दा कुनै पनि क्षेत्रको विकास राम्रो तरिकाले हुन सकिरहेको छैन । केही व्यक्तिले आर्थिक उन्नति गरेका भरमा मात्र देशले विकास गरेको ठहरिँदैन । विभिन्न क्षेत्रमा उन्नति हुन सकेमा देश विकास सम्भव हुन्छ । साधन र स्रोतको न्यायपूर्ण विभाजन हुन नसक्दा समाज अस्तव्यस्त र अव्यवस्थित बन्दै गइरहेको छ । आपसी वैचारिक द्वन्द्व एवं विद्रोही स्वभाव र अशान्तिका कारण विकासको गति सुस्त भएको छ ।

आजको पुस्ता सुशासन चाहन्छ । नवपुस्ता देशले नयाँ काँचुली फेरेको हेर्न चाहन्छ । उज्ज्वल सम्भावना बोकेर देशलाई कायापलट गर्न चाहन्छ । देशले विद्यमान अवस्थाभन्दा अझ तीव्रताका साथ अघि बढेको हेर्न चाहन्छ । पुरानै ढर्राबाट अघि बढिरहेको नेपाललाई नयाँ बाटोमा हिँडाउने योजना, सही दृष्टिकोण र अठोटका साथ अघि बढेको हेर्न चाहन्छ । आफ्नो गाउँ, क्षेत्र र राष्ट्रको विकास तथा प्रगतिका लागि हरेक व्यक्तिको साथ, सहयोग र संलग्नता हुन जरुरी छ । समाजको आधार निर्माणमा नवयुवा र देशप्रेमी व्यक्तिको खाँचो छ । आजका युवा विद्रोही स्वभावका छन् । विद्रोही बन्नुमा सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा जातिगत अनेकौँ विषमता हुन् । युवा युद्ध, अशान्ति, विध्वंसका पक्षमा र मानव कल्याणका काममा लाग्न नसक्दा देशले ठुलो नोक्सानी बेहोर्न परिरहेको छ । न्यायप्रणालीसमेत विभेदकारी भइरहेको अवस्था छ । यसका लागि सम्बन्धित निकाय नै संवेदनशील हुनु पर्छ । अशान्तिले देश उन्नतिको शिखरतर्फ होइन अवनतितर्फ भासिन जान्छ ।

नेपाल विश्वमा शान्तिपूर्ण देशको सूचीमा पर्छ । नेपाल बुद्धले सिकाएका शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश पनि हो । यो देश कसैको बाह्य हस्तक्षेप वा द्वन्द्वको चपेटामा परेको छैन । विडम्बना देशभित्रकै आन्तरिक द्वन्द्वबाट भने माथि उठ्न सकेको छैन । नेपाल जस्तो मुलुकमा जात, धर्म, वर्ग, लिङ्ग, क्षेत्र, भावनालगायतका विभिन्न विषयप्रतिको विभेद र महìवाकाङ्क्षाकै कारण पनि शान्तिको वातावरण सिर्जना हुन सकिरहेको छैन । विकासका केही छिटपुट लक्षण देखिए पनि विध्वंसात्मक प्रवृत्तिका कारण शान्ति हुन सकिरहेको छैन । कुनै पनि विकासको क्षेत्रमा आशाका किरण आशालाग्दो देखिए पनि त्यसले पूर्णता पाउन भने सकेको छैन । जुन मुलुकमा विभिन्न कारणबाट अशान्तिको वातावरण सिर्जना भएको छ त्यस मुलुकको विकासको त कल्पना पनि गर्न सकिँदैन । शान्तिका लागि व्यक्तिको सोच र चिन्तनमा परिवर्तन आउनु पर्छ । 

खास गरी व्यक्तिको निजी मनदेखि समग्र राष्ट्रसम्म नै अशान्तिको पीडाले प्रभाव परेकै हुन्छ । मान्छेको व्यक्तिगत जीवनमा उथलपुथल, मानसिक द्वन्द्व र अशान्तिको घेराबन्दीमा मन र मष्तिष्क सँधैभरि रुमलिरह्यो भने पक्कै पनि त्यस व्यक्तिको जीवनमा सफलता, आशा तथा विकासात्मक, सकारात्मक सोच तथा सिर्जनात्मक कार्यबाट सदैव वञ्चित रहन्छ । शान्त जीवन भएका व्यक्तिका मनमा सफलताका ढोका सदैव खुला रहन्छन् । शान्त भएका ठाउँमा विकासका राम्रा लक्षण देखा पर्छन् । कुनै पनि कुरामा विकास खोज्ने हो भने व्यक्तिको जीवन शान्त हुनै पर्छ । त्यसपछि क्रमशः पारिवारिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा शान्तिको वातावरण सिर्जना गर्न सकिन्छ । शान्तिका लागि व्यक्ति र परिवेश दुवैको उपयुक्त संयोजन हुन आवश्यक छ । 

विकासको मूल मन्त्र भनेको शान्ति हो । विकास शान्तिमा र शान्तिमा विकासको सम्बन्ध गाँसिएकाले सर्वप्रथम देशवासीलाई शैक्षिक जागरणको अभियानभित्र समावेश गर्न आवश्यक छ । युवा समूहलाई शान्तिको ठोस प्रतिफल दिलाउन रोजगारीका अवसरमा बढोत्तरी, आयउपार्जन तथा उनीहरूको सशक्तीकरणका उपाय खोज्न जरुरी छ । युवा उमेर समूह शान्ति बिथोल्नेहरूको भड्काउमा लाग्न सक्ने खतरा बढी हुन्छ । जुन जेनजी आन्दोलनको परीणाम जगजाहेर नै छ । देशप्रतिको श्रद्धा र स्वार्थबिनाको कामबाट विकासात्मक कार्य सफल हुन्छ । कुनै पनि व्यक्ति कसैको पक्ष विपक्षमा नलागी केवल मुलुकको सर्वोपरितामा निःस्वार्थ भएर स्वार्थभन्दा माथि उठेर क्रियाशील भएर लाग्ने हो भने शान्ति र विकास दुवै हुन्छ । देशलाई उन्नतिको चुलीतर्फ लैजान सर्वप्रथम अशान्तमय वातावरणको समाधानको उपायको खोजी गर्नु पर्छ । त्यसको समुचित समाधानका लागि जति पनि उपाय हुन सक्छन् ती सबै अवलम्बन गर्नु पर्छ । पुरानै ढर्राबाट अघि बढिरहेको नेपाललाई नयाँ बाटोमा हिँडाउन योजना, सही दृष्टिकोण र अठोटका साथ अघि बढ्नु पर्छ । समाजका हरेक वर्ग र तहका नेपाली जनता आफ्नो अधिकार र कर्तव्यबारे जानकार हुनु पर्छ । अधिकार मात्र खोज्ने तर कर्तव्य भुसुक्क बिर्सिदिनाले समाजमा अराजकता र सामाजिक विखण्डनको अवस्था सिर्जना हुन्छ । परिवार, समाज र राष्ट्रको विकास र समृद्धिका लागि हामीले सद्भाव, सहयोग एवं भाइचाराको सम्बन्ध कायम गर्नु पर्छ । 

फुटेर होइन जुटेर अगाडि बढ्नु पर्छ । यस्ता कैयौँ चरण पार गर्न सकेको खण्डमा देशमा हामीले चाहेको जस्तो शान्ति अवश्य कायम हुन सक्छ । देशमा शान्ति कायम भएको खण्डमा मात्र विकास सम्भव हुन सक्छ । विकासका लागि शान्ति एक मात्र विकल्प हो ।