काठमाडौँ, असोज २७ गते । दोस्रौ संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) का लागि पाँच सय १२ स्वदेशी खेलाडीको नाम दर्ता भएको छ ।
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीकाअनुसार लिगका लागि बागमती प्रदेशबाट सबैभन्दा बढी एक सय ५५ खेलाडीको नाम दर्ता गरिएको छ ।
त्यस्तै, सुदूरपश्चिमका एक सय तीन, लुम्बिनीबाट ९८, मधेशबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकी प्रदेशबाट २४ जना खेलाडी दर्ता भएका छन् । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा दुई सय ७८ नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए ।
पहिलो संस्करणमा ६ सहरका ६ टोलीले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए । जसमा ६६ जना नेपाली खेलाडी थिए ।
“प्रतियोगितामा विदेशी खेलाडी पनि आकर्षण छ, दोस्रो संस्करणको ‘ड्राफ्ट’मा ४० देखि ५० जना विदेशी खेलाडी लिने छौँ”, प्रमुख बेगानीले भन्नुभयो । पहिलो संस्करणमा थाइल्यान्ड, बङ्गलादेश, श्रीलङ्का र केन्याका १८ खेलाडीले एनकेएलमा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले सहभागी जनाएका थिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो संस्करणमा जनकपुरले काठमाडौँलाई ४३–४१ ले हराउँदै उपाधि जितेको थियो । आयोजकले दोस्रो संस्करणको मिति चाँडै सार्वजनिक गरिने जनाएको छ ।