• २७ असोज २०८२, सोमबार

‘अनियमिततामा शून्य सहनशीलता’

‘एकीकृत बस्तीसँग आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन’

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहित अन्य । तस्बिर : मन्त्री घिसिङको सचिवालय

गोरखापत्र अनलाइन 

काठमाडौँ, असोज २७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम सफल हुन नसकेको बताउनु भएको छ । 

विश्व बसोवास दिवसको अवसरमा सहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसङ्घीय मानव बसोवास कार्यक्रमले सोमबार राजधानीमा गरेको कार्यक्रममा भौगोलिक जोखिम परीक्षणमार्फत सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउन नसक्दा हरेक वर्ष विपदबाट ठुलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुभयो । 

‘देशका केही ठाउँमा एकीकृत बस्ती निर्माण गर्यौं, त्यहाँका समुदायलाई सामाजिक, वातावरण र आर्थिक पक्षसँग जोड्न नसक्दा विकास गरिएका बस्ती खाली देखिए, ग्रामीण र सहरी क्षेत्रका अव्यवस्थित बस्तीलाई सुरक्षित एवम् व्यवस्थित बनाउनु अहिलेको सबैभन्दा ठुलो चुनौती हो ।’ 

मन्त्री घिसिङले भन्नुभयो, ‘मनसुनजन्य विपदबाट बच्न पूर्वसूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रूपमा जोखिमयुक्त स्थानको म्यापिङ गरी सुरक्षित स्थानको पहिचान गरेर बस्ती स्थानन्तरण गर्न नसक्दा हरेक वर्ष ठुलो जनधनको क्षति हुने गरेको छ, अब भौगोलिक म्यापिङ गरी असुरक्षित वस्ती स्थानन्तरण गर्नु पर्ने देखिएको छ ।’’

उहाँले सहर विकासको गुरुयोजना तयारी गरी कुनै एउटा सहरलाई नमुनाको रूपमा विकास गरी सोहीअनुसार पूर्वाधारका संरचना निर्माण गरिने र त्यसलाई अन्य सहर विकासमा पनि अनुशरण गर्न सकिने उल्लेख गर्नुभयो । ‘जग्गा खण्डीकरण गरी सहर विकास गरिने अभ्यास रहेको छ, अब यसलाई अन्त्य गर्न सहर विकासको एकीकृत गुरुयोजना तयार गरी अगाडि बढ्नु पर्ने छ’, घिसिङले भन्नुभयो । ‘नदी किनार सुन्दर नभइकन सहरी सौन्दर्य कायम हुन नसक्दैन, त्यसैले काठमाडौँ उपत्यकाका नदी काेरिडोर किनारमा रहेका बस्तीको व्यवस्थापन आवश्यक छ ।’

उहाँले सडक, बिजुली, टेलिफोन, खानेपानीलगायतका पूर्वाधार ग्रामीण क्षेत्रमा पुगेको तर त्यहाँ बस्ती भने घट्दै गएको बताउनुभयो । 

‘अनियमिततामा शून्य सहनशीलता’

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूले सम्हालेका मन्त्रालय र त्य मातहतका निकायमा हुने भ्रष्टचार, अनियमिता र ढिलासुस्ती शून्य सहशीलताको नीति लिएर सोही बमोजिम सङ्लग्नलाई कारबाही गरिने बताउनुभएको छ । सहरी विकास तथा भवन निर्माण विभाग निर्माण विभागले गरेको कार्यक्रममा मन्त्री घिसिङले गलत काम गर्ने कर्मचारीप्रति निर्ममताका साथ प्रस्तुत हुने चेतावनी दिनुभयो । उहाँले ठुला सहर विकास गर्नु पर्ने काममा केन्द्रीत हुने सहरी विकास मन्त्रालय आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर टुक्रे योजनामा लागेको बताउनुभयो ।