बाबुराम देवकोटा
सिन्धुलीमाढी, असोज २७ गते । सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको श्री नं. ९ बाहिनी अड्डामा सञ्चालित सैन्य आधारभूत तालिम लिई रहेका १०२ जना सैन्यजवान सोमबार एक समारोहबिच सिपाही दर्जामा पदोन्नति भएका छन् ।
नेपाली सेनामा नयाँ भर्ना भएका १०२ जना सैन्यजवानका लागि उक्त अण्डामा सञ्चालन भइरहेको सि.सं. २० सैन्यआधार तालिमको समापनसँगै उनीहरू सिपाही दर्जामा पदोन्नति भएका उक्त अड्डाले जनाएको छ ।
सो अवसरमा उक्त अड्डामा सञ्चालन भइरहेको तालिमको अन्तिम दलेल कबाज समारोहको नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासका पृतनापति तथा उपरथी कृष्णबहादुर जिसीले निरीक्षण गर्नुभयो । उहाँले सिपाही बलियो भएमा सेना बलियो हुने र सेना बलियो भएमा देश बलिया हुने बताउनुभयो ।
सुरक्षा चुनौतीलाई सामना गर्न सक्ने जनशक्तिको उत्पादन गर्न नौ महिने आधारभूत तालिमलाई विषेश महत्त्व दिई नेपाली माटो र भूगोल सुहाउँदो पाठ्यक्रम तयार गरी उक्त तालिम प्रदान गरेको उहाँको भनाइ थियो ।
बदलिदो विश्व परिवेश र नवीनतम प्रविधिहरूको विकास र प्रयोगका कारण विश्वमा नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिँदै गएको चर्चा गर्नुहुँदै उहाँले आधारभूत तालिम सैनिक जीवनको सुरुवात मात्र भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी दिनमा तपाईंहरूलाई विभिन्न सैनिक पेसाका तालिमले अझ तिखार्दै लैजाने छ । राष्ट्रको मेरुदण्ड सेना भएको र सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित कर्तव्यनिष्ट सिपाही हो ।’ समारोहमा पृतनापति जिसीले तालिमको विभिन्न विधामा उत्कृष्ट सैन्यजवानलाई पुरस्कार प्रदान गरी पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, कार्यालय प्रमुखहरू र तालिम लिन सैन्यजवानका आफन्तहरूको उपस्थिति रहेको थियो ।