अविनाश चौधरी
धनगढी, चैत १० गते। बाघको आक्रमणमा कञ्चनपुरकी एक महिलाको आज मृत्यु भएको छ।
भारतको दुधुवा नेशनलपार्कमा दाउरा लिन गएकी पुनर्वास नगरपालिका-१० मदन टोलकी ३२ वर्षीया कलसा सार्कीको ज्यान गएको सब डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवले जानकारी दिनुभयो। दुधुवा नेशनलपार्कभित्र गौरीफन्टा वन एरियामा महिलाको मृत्यु भएको उहाँले बताउनुभयो।
बाघको आक्रमणमा परी महिलाको मृत्यु भएपछि भारतीय सुरक्षाकर्मीसहित सब डिभिजन कार्यालय प्रमुख यादव, इलाका प्रहरी त्रिभुवन बस्तीका प्रहरी निरीक्षक राज मल्ल, वडा नम्बर १० का वडा अध्यक्ष सुकदेव राना, ११ वडा वडा अध्यक्ष तुलसी अर्याल घटनास्थलमा पुग्नुभएको थियो।
स्थानीयका अनुसार दाउरा लिनका लागि ६÷७ जनाको समूहमा महिलाहरु विहान दुधुवा नेशनल पार्कमा गएका थिए। बाघ देखेपछि अरु कराउँदै भागेर ज्यान जोगाएका छन्। बाघको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको शव भारतीय सीमा सुरक्षा बल (एसएसबी) लालकुँवा नम्बर ८ को दक्षिणपूर्वतिर जङ्गलमा फेला परेको थियो।