• १३ वैशाख २०८१, बिहिबार

‘मुखको परीक्षणले अन्य अङ्गको रोग पत्ता लगाउन सकिन्छ’

blog

काठमाडौं, चैत ६ गते । मुखको स्वास्थ्यले हाम्रो अन्य अङ्गको स्वास्थ्यलाई पनि असर पार्ने हुँदा मुखको ख्याल गर्न चिकित्सकको सुझाव छ । वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाशराज न्यौपानेले नेपालीले खैनी, चुरोट, गुट्का बढी सेवन गर्ने भएकाले नेपालीको मुखको स्वास्थ्य खराब नराम्रो भएको बताउनुभयो ।  

धेरै रोगको लक्षण मुखबाट पत्ता लाग्ने हुँदा मुख स्वच्छतामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । आम मानिसमा जनचेतनाको अभावले गर्दा मुखको स्वास्थ्य ख्याल नगर्दा विभिन्न अन्य अङ्गमा असर परिरहेको उहाँको भनाइ छ ।  

चिकित्सकका अनुसार नियमित मुख परीक्षण गर्नाले शरीरका अन्य अङ्गमा जटिल प्रकारका रोग पत्ता लगाउन सकिन्छ ।

चिकित्सकका अनुसार नियमित मुख परीक्षण गर्नाले शरीरका अन्य अङ्गमा जटिल प्रकारका रोग पत्ता लगाउन सकिन्छ । डा. न्यौपानेले नियमित रूपमा हामीले दाँत तथा मुखको परीक्षण गराउने बानीले दाँतमा, गालामा ओठमा देखिएको घाउले शरीरमा रोग छ की छैन भन्ने पत्ता लगाउन सकिने बताउनुभयो ।  

मुखमा देखिएका लक्षणका आधारमा मुखबाट मधुमेह, मिर्गौलासम्बन्धी समस्या कलेजोसम्बन्धी रोगहरु पत्ता लगाउन सकिने न्यौपाने बताउनुहुन्छ । हरेक दिन दाँत तथा मुखको स्वास्थ्यमा ध्यान दिएमा कम्तीमा ९५ प्रतिशत रोगको जोखिम कम हुने चिकित्सक बताउँछन् । तर नेपालमा जनचेतनाको अभावले मुख स्वास्थ्यमा बेवास्ता गरेको पाइएको छ । 

मुखको स्वास्थ्य के हो ?

डा. न्यौपानेका अनुसार ओठदेखिभित्र घाँटीसम्मको भागलाई मुख भनिन्छ । दाँत, गिजा, भित्री गाला, भित्री ओठ, तालु, जिब्रो, च्यापु, मुख खोल्न वा बन्द गर्ने जोर्नी मुखभित्र पर्छन् । मुखमा विभिन्न रोग लाग्ने गर्छन् । मुखमा देखिने समस्यामा जन्मजात समस्या जस्तै– चिउँडो सानो हुने, जन्मजात नै काटिएको ओठका समस्या देखिन्छन् । 

हरेक दिन दाँत तथा मुखको स्वास्थ्यमा ध्यान दिएमा कम्तीमा ९५ प्रतिशत रोगको जोखिम कम हुने चिकित्सक बताउँछन् । 

त्यसका अलावा जन्मिसकेपछि विभिन्न कारण घाउखटिरा आउने, खानपानले गर्दा गिजा÷दाँतमा समस्या आउने, क्यान्सर हुने, सरसफाइ नहुँदा मुख गन्हाउनेजस्ता समस्या देखिन्छ । मुखको ख्याल नराख्दा मुखको रस खाना नलीमा श्वास नलीमा गएर विभिन्न समस्या तथा क्यान्सर समेत हुने सम्भावना हुने चिकित्सक न्यौपानेले बताउनुभयो ।   

हेलचेक्राई गर्दा के हुन्छ ?

दाँत किराले खाएको छ र समयमै उपचार भएन भने किराले खाएको ठाउँमा पिप जम्मा हुँदा च्यापु सुन्निएर, सास फेर्न नसक्ने, खान नसक्नेसम्मको अवस्था आउन सक्छ । गिजासम्बन्धी समस्या छ भने हड्डी कमजोर हुने, श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, मधुमेह जस्ता रोगहरू समेत देखिने चिकित्सकहरूको भनाइ छ ।  

दाँतको कारण हुने घाउको समयमै उपचार गरिएन भने मद्यपान, धूम्रपान, सुर्ती सेवन गर्ने बानीले मुखको क्यान्सर निम्तिने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार मुखको सरसफाइमा ध्यान दिएमा मुखका केही घाउ खटिरा प्राय आफै निको हुन्छ । 

गिजासम्बन्धी समस्या छ भने हड्डी कमजोर हुने, श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, मधुमेह जस्ता रोगहरू समेत देखिने चिकित्सकहरुको भनाइ छ ।  

लामो समयसम्म निको भएन भने, खाना निल्न गाह्रो भएमा, सास फेर्न गाह्रो भएमा, बोल्न गाह्रो भयो भने तुरुन्त चिकित्सकलाई देखाउन डा. न्यौपानेले सुझाव दिनुभयो । घाँटीमा घाउ, गिर्खा, खटिरा आएमा हेलचेक्राई गर्दा इन्फेक्सन (सङ्क्रमण) भई सास फेर्न नसकेर मृत्यु समेत हुनसक्छ । 

मुख स्वास्थ्यको ख्याल नगर्दा एक सय जनामा एक जनाको मृत्यु हुन्छ भने तीनदेखि चार जनालाई विभिन्न दीर्घरोग हुने सम्भावना बढी हुने न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “हेलचेक्राई गर्दा आवाज नआउने, सास फेर्न गाह्रो हुने, खाना खान नसकिनेजस्ता दीर्घकालीन स्वास्थ्य समस्या देखिन्छ ।” 

मुख स्वास्थ्यको सरसफाइ महत्त्वपूर्ण भएकाले यस्ता समस्याबाट बच्न सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ ।  

खाना खानसाथ मुख सफा गरौँ 

खानेकुरा खानेबित्तिकै सफा पानीले दाँत कुल्ला गर्ने बानीले लगभग ८० देखि ८५ प्रतिशत दाँत तथा मुखमा आउने समस्याहरू र रोगहरूलाई रोक्न सकिने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार दाँत र जिब्रो सफा गरेमा लगभग ९० देखि ९५ प्रतिशत दाँत तथा मुखका रोगहरू रोक्न सकिन्छ । 

मुख स्वास्थ्यको ख्याल नगर्दा एकसय जनामा एक जनाको मृत्यु हुन्छ भने तीनदेखि चार जनालाई विभिन्न दीर्घरोग हुने सम्भावना बढी हुने न्यौपानेको भनाइ छ ।

बिहानको खाना र साँझको खाना खाइसकेपछि नरम ब्रसले फ्लोराइड भएको मन्जन प्रयोग गरेर दाँतका सबै भाग सफा गर्न चिकित्सकको सुझाव छ । धूम्रपान, मद्यपान, अति अमिलो, अति पिरो, अति गुलियो, अति साह्रो, अति टाँसिने चिजबाट टाढै बस्न चिकित्सकको सुझाव छ । 

यस्तो खानेकुरामा खाएमा तुरुन्तै ब्रस गर्ने या कुल्ला गर्ने हो भने त्यसले दाँतलाई असर नगर्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मुख स्वास्थ्य राख्न हरियो सागसब्जी, रेसादार खानेकुरा, दूध वा दूधजन्य पदार्थ, मौसमी फलफूलहरू खानु उपयुक्त हुन्छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।