सिराज खान
नेपालगन्ज, कात्तिक १९ गते । बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाको सामुदायिक अस्पताल परिसरमा पहिलो पटक आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
गाउँकै अस्पतालमा पहिलो पटक शल्यक्रिया लगायतको सुविधा पाएपछि ठुलो सङ्ख्यामा स्थानीयले आँखा परिक्षण गराएको जनाउँदै गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले १९३ जनाको आँखामा मोतियाविन्दु भेटिएकोले गाउँमै निःशुल्क शल्यक्रियामा गरिएको बताउनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म चलेको निःशुल्क आँखा परिक्षण शिविरमा १९३ जनाको मोतियाविन्दु र चार जनाको आँखामा मासु पलाएको (प्टेरिजियम) शल्यक्रिया गरिएको छ । आर्थिक कठिनाइका कारण लामो समयदेखि अन्धकारमा बाँचिरहेका नागरिकका लागि यो शिविरले ठुलो राहत दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारूले वर्षौंदेखि उपचार नपाएर दुःख पाउँदै आएका नागरिकका लागि यो शिविरले ठुलो राहत दिएको बताउनुभयो । गाउँपालिकाको सक्रिय पहलमा पहिलो पटक सबै वडामा आँखा शल्यक्रिया शिविर गरिनुले स्वास्थ्यका क्षेत्रमा पालिकाको प्राथमिकतालाई पुष्टि गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अनुसार, महिलाहरूमा आँखा रोगको समस्या बढी पाइने भएकाले उनीहरूको उपचारमा प्राथमिकता दिइएको थियो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले सो निःशुल्क आँखा जाँच कार्यक्रम गाउँपालिकाका सबै नौ वटै वडामा गरिएको बताउनुभयो ।
सोही क्रममा मोतियाविन्दु र अन्य आँखासम्बन्धी समस्या भएका बिरामीको पहिचान गरेर स्थानीय अस्पतालमै शल्यक्रिया गरिएको हो । उक्त शिविर नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । सो शिविरमा आँखा परिक्षण र शल्यक्रियाका लागि तिलगङ्गा आँखा प्रतिष्ठानबाट डा. रेखा पुन, डा. नम्रता, र विदेशी विशेषज्ञ डा. ओराक सहितको टोली खटिएको थियो ।