बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक १९ गते । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ ।
विगत तीन वर्षदेखि निर्माणाधीन उक्त योजनामा प्रयोग गर्नका लागि जडान गरेको १०० केभि ट्रान्सफर्मर मङ्गलबार राती चोरी भएको स्थानीयले बताएका छन् । विद्युत जोड्न बाँकी रहेको उक्त ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार(क्वाईल) लिएर गएको सो वडाका अध्यक्ष कमलकुमार राईले जानकारी दिनुभयो।
उक्त ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी चौकी महेन्द्र झ्याडीले जनाएको छ । चौकीका ईन्चार्ज (सई)राजनारायण साहले बस्तिी भन्दा अलिपर जङ्गलमा उक्त ट्रान्सफर्मर जडान गरिएको र चोरी गर्नेको पहिचान नखुलेको बताउनुभयो ।
वडा अध्यक्ष राईका अनुसार चोरी भएको ट्रान्समिटर २०८२ सालमा सो ठाँउमा जडान गरिएको थियो । उक्त योजना निर्माणका हालम्म ६५ लाख रुपिया खर्च भइसकेको र योजना निर्माणको काम ७५ प्रतिशत पुरा भइसकेको छ । योजना निर्माणको काम यो वर्ष सक्ने लक्ष्य रहेकोमा बागमती प्रदेश सरकारले बजेट बिनियोजन नगरेको उहाँले जानकारी दिनुभयो ।
उक्त योजना सम्पन्न भएपछि मरिण खोलाको पानी लिफ्ट गरी हरिहरपुरगढी गाँउपालिका–४ मा झ्याडी र भल्खाडामा गरी करिब ५५० बिघा जमिनमा बर्षैभरि सिँचाइ सुविधा पुग्ने उहाँले बताउनुभयो ।