गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक १९ गते । नेकपा (एकीकृत समाजवादी केन्द्र) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा फर्कन लागेको बताउनुभएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभएको हो ।
आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उहाँले स्पष्ट पार्नुभयो । ‘हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन, कि घर फर्कने अभियानमा जुटेको छौँ’ उहाँले भन्नुभयो ।
एमालेमा आफूहरू कुनै पदका आशा गरेर जान नलागेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी घर फर्कने क्रममा एमालेसँग वार्ता संवादमा छौँ, देशभरिका नेता कार्यकर्तालाई पनि एमालेमा फर्कन आह्वान गर्न चाहन्छौँ, कुनै पद वा सशर्त घर फर्कने हाम्रो कार्यक्रम छैन, हामी निसर्त फर्कन्छौँ, हामीलाई केही चाहिएको छैन, हाम्रो मूल घरमा, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ’ उहाँले भन्नुभयो ।
श्रेष्ठले माओवादीमा मिल्न लाग्नु भएको माधव नेपाल र नयाँ पार्टी घोषणा गर्न लाग्नु भएका घनश्याम भुसाललाई पनि शुभकामना दिनुभयो । आफूहरूले जाने र नजानेर एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै फर्कने वातावरण बनाइदिन पनि उहाँले एमाले नेतृत्वलाई अनुरोध गर्नुभयो । ‘हामीलाई विनासर्त घर फर्कने वातावरण बनाइदिनु अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।