यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), कात्तिक १९ गते । बर्दियाको भुरिगाउँमा सञ्चालन गरिएको १६ औँ बृहत् रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाले हरेक तीन–तीन महिनामा आयोजना गर्ने बृहत् रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको हो । रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना भट्टराई, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीसहित ९४ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेमा १३ जना महिला र ८१ जना पुरुष रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबाका अध्यक्ष छविलाल लम्सालले बताउनुभयो । नियमित गर्ने बृहत् रक्तदान कार्यक्रममा २ सय ५० पिन्टसम्म रगत सङ्कलन भएको उहाँले बताउनुभयो ।
बर्दिया थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । थारू समुदायमा बढी सिकलसेल र थालसेमिया रोग देखा पर्ने गर्दछ । सिकलसेल एनिमिया र थालसेमिया रोगको लागि बढी रगत आवश्यक पर्ने भएकाले हरेक तीन–तीन महिनामा बृहत् रक्तादान कार्यक्रमको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बताउनुभयो ।
उहाँले सङ्कलन गरिएको रगत गुलरिया, कोहोलपुर र नेपालगन्जको भेरी अस्पतालमा सञ्चालित रक्तसञ्चार केन्द्रमा पठाउने गरिएको बताउनुभयो । नगरपालिकाले नियमित कार्यक्रममा राखेर नै रक्तदान कार्यक्रम राखेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा ठाकुरबाबा नगरअस्पताल नयाँ भवनमा सारेपछि नगरअस्पतालमै रक्तसञ्चार सेवा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
नेपाल रक्तदाता समाज बाँकेको प्राविधिक सहयोग नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबाको समयन्वयमा ठाकुरबाबा नगरपालिका–२, रानीपुर कभर्डहलमा आयोजना गरिएको थियो । स्थानीय सरकारको आयोजनामा नियमित सबैभन्दा धेरै रगत सङ्कलन हुने लुम्बिनी प्रदेशमै पहिलो रक्तसञ्चार कार्यक्रम भएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।