• १५ वैशाख २०८१, शनिबार

राष्ट्रपतिको सवारी व्यवस्थापन

blog

विशिष्ट व्यक्तिको सवारी आवागमन केही वर्षदेखि ठूलै चर्चाको विषय बन्ने गरेको छ । राजधानी काठमाडौँ उपत्यकामा सवारी चाप तीव्रतर रूपमा बढेसँगै यो विषय झनै पेचिलो बन्दै गएको थियो । विशेष गरी राष्ट्रपतिको सवारीको समय, त्यसको अघि र पछि समेत लामैजस्तो समय सडक नै खाली गर्नुपर्ने अवस्थाले उपत्यकामा एकै पटक हजारौँ हजार सवारी र लाखौँ मानिस प्रभावित हुने गरेका थिए । गुडिरहेका सवारीसाधनलाई सवारीकै कारण गन्तव्य मोडिदिँदा धेरैतिर सवारी जाम हुने गरेको थियो । अस्पताल जाने बिरामी समयमा पुग्न सक्ने थिएनन् । कार्यालय तथा घर पुग्ने मानिसको समय नै एकडेढ घण्टा तलमाथि हुने अवस्था सामान्यजस्तै भएको थियो । कतिपयको त विमान नै छुट्ने अवस्थासमेत थियो । अब भने यो अवस्थाको अन्त्य हुने स्पष्ट शुभारम्भ भएको देखिएको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनताका नै आफू राष्ट्रपति भए सवारीका समयमा सडकमा भइरहेको सास्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँ निर्वाचित हुनुभयो र प्रतिबद्धता क्रमशः आरम्भिक दिनदेखि नै कार्यान्वयनमा ल्याउने यत्न भएको छ । दुई दिनअघि शनिबार काठमाडौँको वसन्तपुरस्थित देवी कुमारीको दर्शनको समयमा राष्ट्रपति पौडेलको सवारीबारे धेरै मानिसले थाहै पाएनन् । विगतमा जस्तो सडकमा टाइँ टाइँ र टुइँ टुइँको लामो लर्को भएन । राष्ट्रपतिको सवारीको समयमा अरू सवारीलाई कुनै सकस भएन । सबै साविकमा झैँ आफ्नो गन्तव्यमा आउने जाने क्रम जारी नै रह्यो । राष्ट्रपति भवन शीतल निवासबाट कुमारीको घर वसन्तपुरमा प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली नहुँदा सर्वसाधारणले ठूलो राहत महसुस गरेको देखियो । 

परम्पराअनुसार दशमी तिथिमा कुमारी घरमा विशेष पूजाआजा हुने गर्छ । पूजाको भोलिपल्ट एकादशीको दिन कुमारीको प्रसाद राष्ट्राध्यक्षबाट ग्रहण गर्ने परम्परा छ । यो गएको शनिबार परेको थियो । राष्ट्रपति पौडेल शीतल निवासबाट अपराह्न ४ बजे राष्ट्रपति भवन, पानी पोखरी, लाजिम्पाट, कान्तिपथ, रत्नपार्क, भृकुटी मण्डप, भद्रकाली, नेपाल वासुसेवा निगम, नयाँ सडक हुँदै कुमारी मन्दिर वसन्तपुर पुग्नुभएको थियो । विगतमा यति सवारी हुँदा कम्तीका एक घण्टादेखि बढीमा दुई घण्टासम्म राजधानी काठमाडौँको सवारी आवागमन अस्तव्यस्त हुने गरेको थियो । तर यो पटक राष्ट्रपतिको सवारीमा सडक खाली गरिएन । सवारी गन्तव्यान्तर गरिएन । यो परम्परा आगामी दिनमा कायम रहँला भन्ने जिज्ञासासमेत कतिपयले गरेका छन् । 

 त्यसो त सबै नागरिकको सुरक्षा राज्यको दायित्वभित्र पर्छ । अझ पदीय दायित्व र गरिमा बोकेका विशिष्ट, अतिविशिष्ट व्यक्तित्वको सुरक्षामा विशेष संवेदनशील हुनै पर्ने हुन्छ । समय, परिस्थिति र परिवेशले पदीय दायित्वअनुसारको सुरक्षा संवेनशीलता समेत हुने गर्छ । विदेशी पाहुनाको सवारीमा समेत त्यस खालको सुरक्षा संवेदनशीलता हुन्छ र कतिपय अवस्थामा सम्मानका खातिरसमेत सवारी चलाउँदा सुरक्षा प्रोटोकल अवलम्बन गर्नुपर्ने हुन्छ । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डसमेत छन् । त्यसैले सुरक्षा प्रदान गर्ने कठिन विधा र कार्य हो । यो विषयलाई अति सामान्यीकरण समेत गर्न मिल्दैन । तर सुरक्षा दिने तथा सवारी चलाउनेक्रममा सर्वसाधारणले ठूलो सास्ती र पीडा भने पाउनु हुँदैन । एक जना मानिसको एक घण्टाको समय केही होइन भन्ने मान्न सकिएला तर सधैँ त्यस्तो हुँदैन । विगतका तिता अनुभव छन् ।

 एक पटक शीतल निवासबाट बानेश्वरसम्म राष्ट्रपतिका सवारी हुँदा सडकमा झन्डै तीन लाख मानिस एक पटक प्रभावित भएका थिए । उनीहरूको एकदेखि डेढ घण्टा समय सडकमै गन्तव्यमा जाने पर्खाइमा बितेको थियो । हरेकको एक घण्टाका दरले तीन लाख घण्टा समय सडकमै गन्तव्यको पर्खाइमा बितेको थियो । तीन लाख घण्टा समय खेर जानु सामान्य कुरा होइन । नागरिकको करबाट चल्ने संस्था र व्यक्तिले नागरिकलाई सास्ती र पीडा दिने कार्य गलत भएको भन्दै आलोचनासमेत भएको थियो । राष्ट्रपति पौडेलले नागरिकका यो मर्मलाई समयमै मनन गर्नुुभएको बुझ्न सकिन्छ । सवारीका समयमा नागरिकलाई कमभन्दा कम प्रभाव परोस् भन्ने तौरतरिकाले सवारी र यात्रालाई व्यवस्थापन गर्नुपर्छ । शनिबारको शीतलनिवासदेखि वसन्तपुर सवारीझैँ आगामी दिनमा सवारीका बेला सर्वसाधारणले राहत महसुुस गर्ने विश्वास बढेको छ । यसबाट सवारीका क्रममा साधन र स्रोतको समेत मितव्ययिता हुने निश्चित छ ।