• ७ मंसिर २०८१, शुक्रबार

कुपोषण जनस्वास्थ्यको समस्या बन्दै

blog

काठमाडौं, चैत ७ गते । पछिल्लो समय नेपालमा कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले जनसाङ्ख्यिक सर्वेक्षण २०२२ को प्रारम्भिक नतिजा अनुसार नेपालमा कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको बताउनुभयो ।  

उहाँ भन्नुहुन्छ, “पोषण तत्वको कमी, अधिक पाेषण र न्यून पोषणका कारण (ट्रिपल बडन अफ मालन्युट्रिसन) समस्याका रुपमा देखा परिरहेको छ ।”  

उहाँका अनुसार नेपालमा १५ देखि ४९ वर्षका महिला प्रजनन उमेर महिला, बालबालिका, गर्भवतीमा किशोर किशोरीमा यस्तो समस्या देखिएको हो । 

उक्त सर्भेक्षणका अनुसार १५ देखि ४९ वर्षका प्रजनन उमेर समूहका १० प्रतिशत महिलामा दुब्लो पातला छन् भने ३५ प्रतिशत महिलामा चाहिनेभन्दा बढी मोटोपनाको समस्या छ । 

त्यसैगरी, सोही उमेर समूहका १० प्रतिशत महलिा पुड्कोपना (१४५ सेन्टिमिटर भन्दा होचा) छ भने ३४ प्रतिशतमा एनिमियाको समस्या देखिएको छ ।

सोही सर्भेक्षणमा जन्मेदेखि पाँच वर्ष कम उमेरका ४३ प्रतिशत बच्चामा एनेमियाको समस्या छ । प्रत्यका दुई जना बच्चामध्ये एक जनामा एनेमियाको समस्या रहेको उक्त अध्ययनले देखाएको छ । त्यसैगरी, १० देखि १९ वर्षका किशोर किशोरीमा ३९ प्रतिशत एनेमियाको समस्या देखिएको छ । १० देखि १९ वर्षका २५ प्रतिशतमा दुब्लो पातलाेको समस्या छ । ५३ प्रतिशत किशोर किशोरी मोटोपनको समस्या रहेको अध्ययनले देखाएको छ । किशोर किशोरीमा दुई जनामध्ये एक जनामा मोटोपनको समस्या छ ।

खानपान र जीवनशैली समस्याको मुख्य कारण 

अधिक मोटो हुनु, उमेर अनुसारको तौल नहुनु र शरीरमा आइरनको कमी हुनु यी सबै समस्याको मूल जड नै खानपान र जीवनशैली भएको थापाको भनाइ छ । 

धेरै प्रशोधित खाना खाने, लामो समयसम्म प्याकेटमा राखिएका खानेकुरा खाँदा पोषण नपुगेर यस्तो समस्या देखिन्छ । उहाँका अनुसार पेटभरि खाँदैमा पोषण पाइन्छ भन्ने होइन । अति प्रशाेधित खानेकुरा जस्तै अति गुलियो, नुनिलो र चिल्लो खानेकुरा खानाले यस्तो समस्या दिन प्रतिदिन बढ्दै गएको थापाको भनाइ छ । 

 उहाँका अनुसार नेपालीले काब्रोहाइड्रेड र प्रोटिन भएका खाना बढी खाइरहेका छन् । 

दीर्घकालिक कस्ता असर देखिन्छन् ?

पहिलेदेखि नै खाना कम कम हुँदै गएपछि अहिले यो समस्या  अहिले जनस्वास्थ्यको समस्याका रुपमा देखिएको थापाको बुझाइ छ । 

उहाँका अनुसार पाँच वर्षको उमेरसम्म आवश्यक पोषण नपाएमा,आमा गर्भमा हुँदा पनि पोषण नपुगेकोले बच्चाहरुमा पुड्को पनको समस्या देखिएको थापा बताउनुहुन्छ । 

 अधिक मोटोपना तथा दुब्लोपना, पुड्कोपना एनिमियाको समस्याले आमा र बच्चामा दीर्घकालीन असर गर्ने थापाको भनाइ छ ।  यो समस्यालाई व्यवस्था गरेमा भविष्यमा बच्चा कम तौलका जन्मिने, बच्चाको मृत्यु हुने र आमाको स्वास्थ्यमा पनि असर गरी मृत्यु समेत हुने गर्छ । 

 उहाँ भन्नुहुन्छ,“यस्ता समस्याले तत्कालै असर देखिनेभन्दा पनि यस्तो समस्या भएका महिलाबाट जन्मिने बच्चाको पुड्काे हुने सम्भावना बढ्छ ।  उनीहरुबाट जन्मिएका बच्चा कम तौलका जन्मिने र आमाको अत्यधिक रगत बगेर मृत्यु हुने सम्भावना बढी हुन्छ ।” 

खानामा समावेशिता आवश्यक छ ?

 ग्रामीण भेगको तुलनामा शहरका मानिसहरुले खानामा समावेशी गर्ने भए पनि गाउँघरमा खानामा समावेशिता नभएको थापा बताउनुहुन्छ । 

 विश्व स्वास्थ्य सङ्गठनको खानामा हप्तामा ८ देखि १० प्रकारका खाद्य समावेश गर्नुपर्छ भन्ने सुझाव छ । 

थापाका अनुसार नेपाल सरकारले कम्तीमा पनि सात बारमा खाने खानमा सागसब्जी अन्न, प्रोटिनका लागि माछामासु र फलफूल मिलाएर खानुपर्ने हुन्छ । 

खानामा समावेशिता हुन जरुरी छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा, भिटामिन मिनिरल, प्रोटिन, काब्रोहाइड्रेडयुक्त खानेकुरा सबै खाना मिलाएर खाँदा नै सबै पोषण पुग्ने थापाको भनाइ छ ।

समस्या समाधान गर्न के गर्दै छ सरकार 

सरकारले यो समस्यालाई जनस्वास्थ्यको समस्याबाट हटाउन राष्ट्रिय पोषण रणनीतिका आधारमा रहेर पाँचवर्षे कार्ययोजना बनाएको थापा बताउनुहुन्छ । 

 त्यो अनुसार विभिन्न उमेर समूहका मानिसलाई पोषणसम्बन्धी जनचेतना अधिवृद्धि गर्ने सबै स्वास्थ्य संस्थाबाट लेखाजोखा गरेर परामर्श गर्ने गर्भजाँच गर्न आउँदा बच्चा र आमासँग  परामर्श गर्ने गरेको उहाँको भनाइ छ । 

किशोरीलाई  फोलिक एसिड चक्की बाँडिदै

१० देखि १९ वर्षका किशोरीमा २५ प्रतिशतमा उमेर अनुसारको तौल नभएको र धेरैमा एनेमियाको पनि समस्या देखिएपछि हाल हरेक स्कुलमा किशोरीलाई फोलिक एसिड चक्की वितरण गरिन थालिएको थापाले बताउनुभयो । 

 उहाँले भन्नुभयो, “पोषणको कमी नहोस् भनेर हाल हामीले हरेक स्कुलमा १९ वर्षमुनिका स्कुले छात्रालाई फोलिक एसिड चक्की दिन थालेका छौँ। एक हप्ता बिराएर १३ हप्तासम्म दिने गरेको छ ।” 

यस्तै गर्भवतीलाई पनि निःशुल्क फोलिक एसिड चक्की दिने गरिएको छ । गर्भावस्थाको समयमा १४५ ट्याब्लेट फोलिक एसिड खानुपर्ने र यो सबै निःशुल्क दिने गरेको थापाले जानकारी दिनुभयो । 

कुपोषणबाट बचाउन बालभिटा

 कुपोषणको समस्या घटाउन कुपोषण र ख्याउटेपनको समस्या भएका बच्चाहरु लक्षित गरी सरकारले देशव्यापी तयारी खाना (पल्पीनट) खाना दिने गरेको थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार यो खाना खाएपछि एक महिनामा ख्याउटेपन कुपोषण लागेको बच्चाको स्वास्थ्यमा सुधार आउँछ । यो खाएपछि झोलिलो पदार्थ बाहेर अन्य खाद्यपदार्थ खानुनपर्ने उहाँको भनाइ छ  । 

त्यसैगरी, सरकारले छ महिनामाथिका बालबालिकालाई लक्षित गरी सरकारले निःशुल्क खानामा मिसाएर खाने बालभिटा वितरण गर्दै आएको छ । यसले बच्चाको विकासमा मद्दत गर्ने उहाँ बताउनुहुन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।