• १४ वैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति निर्वाचनका लागि यस्तो छ संवैधानिक व्यवस्था

blog

निर्वाचन आयोग । फाइल फाेटाे

काठमाडौं, चैत १ गते । उपराष्ट्रपति पदको लागि चैत ३ गते हुन गइरहेको निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ । 

निर्वाचन आयोगले मङ्गलबार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।  

सोही दफाको उपदफा १ मा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्बन्धित सबै पक्षले आचारसंहिता पालना गर्नुपर्ने विषय उल्लेख छ । 

सो उपदफा अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका सरकारी,  अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मीले सो आचारसंहिता पालना गर्नुपर्नेछ । 

यसैगरी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था र निर्वाचन आयोगले तोकेका अन्य निकाय वा व्यक्तिमा यो आचारसंहिता लागू हुन्छ । यसअघि यो आचारसंहिता बनाउँदा आयोगले सम्बन्धित सरोकारवालासँग परामर्श गर्नुपर्ने विषयमा पनि ऐनमा उल्लेख छ । 

आचारसंहिता लागू भएको समयमा सरकारले नयाँ नीति, योजना तथा कार्यक्रम घोषणा गर्न, जनशक्ति तथा साधन, स्रोतको परिचालन गर्न नपाइने व्यवस्था छ । 

उपराष्ट्रपतिको संवैधानिक व्यवस्था:

नेपालको संविधानको धारा ६७ को उपधारा १ मा नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था छ । सो धाराको उपधारा २ मा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिने र उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै पनि व्यक्ति उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ । 

नेपालको संविधान २०७२ जारी भएपछि सोही सालको कात्तिक १४ गते उपराष्ट्रपति पदमा नन्दबहादुर पुन निर्वाचित हुनुभयो । यसअघि सोही पदमा परमानन्द झा हुनुहुन्थ्यो ।

उपराष्ट्रपति पुन तीन सय २५ मतसहित विजयी र उहाँको प्रतिद्वन्द्वी अमियकुमार यादवले दुई सय १२ मत प्राप्त गर्नुभयो । त्यतिबेला उपराष्ट्रपतिको निर्वाचनमा पाँच सय ४७ जना मतदानमा सहभागी हुनुहुन्थ्यो । 

उपराष्ट्रपतिमा २०७४ चैत ४ गते उहाँ पुनः निर्विरोध निर्वाचित हुनुभयो । त्यतिबेला उम्मेदवारी दर्ताको समयमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले उहाँलाई दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिको औपचारिक घोषणा गर्‍यो ।   

अहिलेको उपराष्ट्रपति पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय प्रसाद यादव र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । 

उम्मेदवारी दिनुभएका जसपाका प्रमिला कुमारीले फागुन २९ गते सोमबार उम्मेदवारी फिर्ता लिनुभएको हो । 

सङ्घ र प्रदेशको मतदान केन्द्र छुट्टाछुट्टै:

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले संघीय संसदका सदस्यहरुले मतदान गर्ने केन्द्रमा अधिकृत कृष्णशरण लामिछाने र प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने केन्द्रमा अधिकृत मन्दिरा शाहीसहितका कर्मचारी खटाइएको बताउनुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।