• ११ मंसिर २०८१, मङ्गलबार

खुसी हुने कला

blog

एक्काइसौँ शताब्दीलाई प्रतिस्पर्धाको युग भन्ने गरिन्छ। खुला विश्व बजारमा योग्यतम व्यक्तिको सीप मात्र सहजै विनिमय हुने विश्वास गरिन्छ। यसैले हरेक अभिभावक आफ्ना बालबालिकालाई उच्चस्तरको बनाउन चाहन्छन्। पठनपाठन र अतिरिक्त क्रियाकलापमा आफ्नो बच्चाले राम्रो गरोस् भन्ने आकाङ्क्षा अभिभावकको रहेको हुन्छ। त्यसैले धेरै जनाले उस्तै उमेरका बालबालिकाका बीचमा तुलना गरी आफ्नो बच्चालाई उत्कृष्ट बनाउन प्रयास पनि गरेका हुन्छन्। उपलब्धि वा नतिजाका लागि मात्र उत्प्रेरित गरिरहेका बालबालिका जीवनको महìवपूर्ण पक्ष खुसीबाट भने वञ्चित हुने गरेका छन्। बालबालिकालाई शिक्षा, स्वास्थ्य र पोषक पदार्थको जति आवश्यकता छ त्यति नै खुसी हुने कलाको सिकाइ पनि आवश्यक छ।

जीवन र जगत्का बारेमा व्यक्तिले बनाएको धारणा, भावना र अनुभवले हरेक क्रियालाई अथ्र्याउने मनोरचना निर्माण हुन्छ। बाल्यकालदेखि सिकेका बानी, व्यायाम, खानपान, ध्यान अनि मिजासले अरू व्यक्तिसँगको सम्बन्ध निर्धारण गर्छ। यस्तै बाल्यकालमै सिकेको आत्मनियन्त्रण, अरूको उपकार गर्ने विचार, स्वच्छता, निष्पक्षता, साहस, नेतृत्व, इमानदारिता र अग्रसरताले व्यक्तिमा सिर्जनशीलता र तत्परता बढाउँछ।

विद्युतीय ग्याजेटहरूको अत्यधिक प्रयोगले अहिले बालबालिका अन्तरमुखी बन्न थालेका छन्। उनीहरूमा आवेग र संवेगहरूको व्यवस्थापन गर्ने सीपको अभाव हुन थालेको छ। फलतः बालबालिका तत्काल प्रतिफल खोज्ने अधैर्य मानसिकताको सिकार हुन थालेका छन्। सामाजिक, पारिवारिक वातावरण र बालबालिकाले महसुस गरेको तनावका कारणले कलिला बालबालिका पनि प्राकृतिक रूपमा खुसी हुन नसक्ने अवस्थामा पुगेका देखिन्छन्। यसैले उनीहरूलाई तनाव र संवेग व्यवस्थापन गर्न सिकाउँदै खुसी हुने कलाले सम्पन्न बनाउनु अति आवश्यक छ।

अभिभावकहरूले बालबालिकालाई राम्रा अर्ती उपदेश दिने तर आफूले विपरीत प्रकृतिका काम गर्दा बालबालिका अन्योलको सिकार हुन्छन्। यसले गर्दा उनीहरूको अभिभावकप्रतिको विश्वास हराउँदै जान्छ। युरोप र अमेरिकामा गरिएका अनुसन्धानले बालबालिकालाई स्वस्थ राख्न अभिभावक नै मोडल वा आदर्श बन्नुपर्ने नतिजा निकालेको छ। बालबालिकालाई असल संस्कार, शिक्षा दिन सबैजसो अभिभावकले प्रयास त गरेका हुन्छन् तर आफ्ना बाध्यता देखाएर बालबच्चालाई आफूले गरेजस्तो होइन, आफूले भनेजस्तो काम गर्न लगाउँछन्। बालबच्चाको प्राकृतिक स्वभाव भने अभिभावकले सोचेजस्तो हुँदैन। उनीहरू आफूभन्दा ठूला मानिसले यसो गर उसो गर भनेर सिकाएको भन्दा उनीहरूले के कसरी व्यवहार गर्छन् भन्ने कुराबाट धेरै सिकिरहेका हुन्छन्।

अभिभावक झुठो बोलेको, अनैतिक काममा संलग्न भएको, गलत शब्दहरूको प्रयोग गरेको, झैझगडा वा अन्य यस्तै घटनामा संलग्न भएको देखेमा यसको प्रत्यक्ष प्रभाव बालमस्तिष्कमा पर्ने गर्छ। यसैले बच्चाका अगाडि राम्रो कुरा गर्ने मात्र होइन, व्यवहार नै राम्रो गर्न सके मात्रै बच्चाले असल कुरा सिक्न सक्छन्।

खुसीका लागि अत्यावश्यक पक्ष आवेग र संवेगको व्यवस्थापन हो। बालबालिकालाई समयसमयमा झनक्क रिस उठ्नु, काम गर्न मन नलाग्नु, प्रतिफलका लागि तुरुन्तै हौसिनु वा मन दुख्नु सबै क्रियाकलाप सामान्य हुन् भनेर सिकाउनुपर्छ। कहिलेकाहीँ बालबच्चा रिस नियन्त्रण गर्न नसकेका कारण पश्चात्तापमा परिरहेका हुन्छन्। उनीहरू समस्याको पहिचान र समाधानका लागि आफ्नै किसिमले सङ्घर्ष गरिरहेका हुन्छन् तर सानो कुरामा अल्झिरहेका पनि हुन सक्छन्। अभिभावकले बालबच्चालाई आफूमा विकसित भएका आवेगलाई महसुस र पहिचान गर्न सिकाउनुपर्छ। कुन कारणले मलाई अप्ठ्यारो बनाएको छ वा खुसी हुन दिएको छैन भन्ने कुरा पहिचान गरी अभिव्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नु हरेक अभिभावकको कर्तव्य हो।

बालबालिकाले आफ्नो मनमा विकसित भएका भावनालाई जस्ताको तस्तै अभिव्यक्त गरे भने उनीहरू तनावबाट मुक्त हुन्छन् र खुसी हुन सक्छन्। उपहार वा भौतिक वस्तुले दिने खुसी क्षणिक हुन्छ। आफूमा विकसित भावनालाई पहिचान गरी अभिव्यक्त गर्दाको खुसी भने दीर्घकालीन हुन्छ। सानो समस्या समाधान गर्न पाउँदा पनि बालबच्चाको आत्मबल बढ्छ। अभिभावकबाट सहयोग र मनोबल उच्च पार्ने काम गरिँदा उनीहरूमा आत्मसम्मान वृद्धि हुन्छ।

कहिलेकाहीँ बालबालिका आफ्नो शरीर र रूपसम्बन्धी अवधारणाका कारण पनि हीनताग्रन्थिले ग्रस्त हुन पुग्छन्। आफ्नो शरीर संरचनाका बारेमा नकारात्मक दृष्टिकोण भएका बच्चामा आत्मविश्वासको कमी हुन्छ। अज्ञात चिन्ता र भयका कारण उनीहरू तुरुन्तै आत्तिन्छन्। कुनै पनि क्रियाकलापमा अग्रसर हुन नखोज्ने प्रवृत्तिको विकास हुन्छ। लागूपदार्थ सेवन वा यस्तै अन्य दुव्र्यसनमा लाग्ने सम्भावना पनि बढ्छ। अभिभावकले कहिल्यै बालबच्चालाई उसको रूप वा शारीरिक अवस्थालाई सङ्केत गरी खिसिट्युरी गर्नुहुँदैन। विद्यालयमा शारीरिक अवस्थासँग सम्बन्धित उपनाम दिइएको छ भने पनि बालबालिकामा बेखुसी बढेको हुन्छ। अभिभावक सधैँ बच्चालाई आत्मसम्मान गर्न उत्प्रेरित गर्दै समस्या समाधानका लागि सारथि बन्नुपर्छ।

बालबालिकासँगसँगै खाना खाने र खेल्ने गर्दा उनीहरूसँगको घनिष्ठता बढ्छ। जसले गर्दा आफ्नो मनमा लागेका कुराहरू बालबच्चाले निर्धक्क भएर भन्न सक्छन्। केही अभिभावक बालबालिका आफूसँग डराउन् भन्ने ठानेका हुन्छन्। घरमा कसैसँग पनि डराएनन् भने उनीहरू बिग्रन्छन् भन्ने धारणाले अभिभावकले त्यस्तो विचार बनाएका हुन्। भयमा हुर्केका बालबच्चाका मनमा आएका विचारहरूले अभिव्यक्त हुने अवसर पाउँदैनन्। अतृप्त र अव्यक्त भावनाले गर्दा बालबालिकाको मनमा कुण्ठा निर्माण हुन्छ। जसले उनीहरूको झनै बेखुसी बनाइदिन्छ। यसैले धेरैभन्दा धेरै समय बालबालिकासँग बिताउँदा बच्चाले सामाजिक, भाषिक र तनाव व्यवस्थापनका सीप सिक्न सक्छन्। अझ बालबच्चासँग शारीरिक परिश्रम पर्ने किसिमका खेल खेल्दा उनीहरूमा इन्डोर्फिन्स नामको रसायनको मात्रा बढ्छ। यस मस्तिष्कीय रसायनले शारीरिक व्यायामबाट उत्पन्न भएको दुखाइ कम गर्ने र मस्तिष्कमा खुसी बढाउने काम गर्छ।

पौष्टिक आहार र व्यायाम जस्तै मानसिक स्वास्थ्यका लागि पर्याप्त निद्रा अपरिहार्य हुन्छ। सामान्यतया बालबालिकामा निद्रासम्बन्धी समस्या ज्यादै कम मात्र भेटिन्छन्। मोबाइल, ल्यापटपजस्ता साधन धेरै चलाउने र अनलाइन गेम खेल्ने बालबच्चामा निद्राको समस्या बढ्दै जान थालेको छ। खाना खाँदा र सुत्दासमेत मोबाइल चलाउने बालबालिका यस समस्याबाट पीडित हुने गरेका छन्। समयमा सुत्न नसक्ने र निद्रामै अचानक झस्कने गर्दा उनीहरू मस्त निद्रामा पुग्न सकेका हुँदैनन्। अपूर्ण निद्राले बालबच्चामा मानसिक, संवेगात्मक र व्यवहारजन्य समस्या सिर्जना गर्छ। यसैले खेल्ने, खाने, सुत्ने तालिका निर्माण गरेर दैनिकीलाई व्यवस्थित बनाउनुपर्छ। खुसीका लागि पहिलो र आवश्यक सर्त समय व्यवस्थापन हो। स्वस्थ समय व्यवस्थापनले नै व्यक्तिलाई तनावमुक्त र खुसी बन्न सघाउँछ।

बालबालिकाको भौतिक सुविधा, खानपान, स्वास्थ्य र शिक्षामा जोड दिनु राम्रो कुरा हो। बालबालिकाको वास्तविक क्षमता नबुझी उनीहरूमाथि उच्च आकाङ्क्षा राख्दा बालबच्चामा तनाव सिर्जना हुन्छ। तनाव व्यवस्थापनका स्वस्थ पद्धति अपनाउन नजान्दा उनीहरूले आफ्नो क्षमताअनुसारको उपलब्धि देखाउन सक्दैनन्। आफूले गर्ने काम सन्तोषजनक नहुँदा र अभिभावकबाट आवश्यक भावनात्मक र संवेगात्मक सहयोग प्राप्त नहुँदा बच्चामा बेखुसी बढ्छ।

बाल्यकालमा खुसी हुन नसकेको व्यक्ति जीवनका अरू चरणमा पनि खुसी हुन सक्दैन। यसैले गुणस्तरीय जीवनशैली, स्तरीय शिक्षाजस्तै अपरिहार्य जीवनोपयोगी सीप खुसी हुने कलाको सिकाइ हो। हरेक अभिभावकले बालबालिकालाई आफ्ना आवेग र संवेगहरू अभिव्यक्त गर्न प्रेरित गर्ने तथा अस्वस्थ किसिमले अभिव्यक्त संवेगलाई सुधार गर्न सघाउने हो भने उनीहरूको जीवन सुखद बन्ने आधार निर्माण हुन सक्छ।

लेखक शिक्षण पेसामा आबद्ध हुनुहुन्छ।