• १५ साउन २०८२, बिहिबार

चुरे विनाशको दुष्प्रभाव

blog

मधेश प्रदेश अहिले गम्भीर जलसङ्कटको सामना गरिरहेको छ । एकातिर किसानले खेत जोतेर धान रोपाइँको तयारीमा छन् अर्कोतिर आकाशबाट वर्षा रोकिएको छ । साउन लागिसक्दा पनि वर्षा नहुँदा रोपाइँ ढिला हुँदै गएको छ । सिँचाइका स्रोतहरू सुक्न थालेका छन् । यही कारणले मधेश प्रदेश सरकारले औपचारिक रूपमा मधेशलाई ‘सुक्खाग्रस्त प्रदेश’ घोषणा गरिसकेको छ । त्यसपछि सङ्घीय सरकारले समेत मधेशलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्नु परेको अवस्था सिर्जना भएको छ । 

समस्या यति गम्भीर छ कि लाखौँ हेक्टर जमिन बाँझै बस्ने देखिएको छ । जनकपुर, बर्दीबास, गौर, मलङ्गवा, सिरहालगायतका प्रमुख सहरमा पनि खानेपानीको हाहाकार छ । खेत सिँचाइ गर्न त परै जाओस् पिउन पानीसमेत पाइँदैन भन्ने अवस्था आइपुगेको छ । जति नै ट्युबबेल खन्दा पनि भूगर्भीय पानी घट्दो छ । जमिन मुनिको पानीको तह तल झर्दै गएको छ । मधेशमा आकाशे पानीको विकल्पमा अधिकांश किसान ट्युबबेलबाट सिँचाइ गर्ने गर्छन् तर अहिले डिप ट्युबबेलमा पनि पानी छैन । वर्षा अभावका कारण सिँचाइमा निर्भर धान उत्पादन चौपट भएको हुने देखिएको छ । जब चुरेले वर्षा पानीलाई सोस्न सक्दैन, तब त्यही पानी तीव्र बेगमा मधेश झर्छ । जसका कारण बाढी आउँछ, खोलाहरूले बस्ती बगाउँछन्, उब्जनी जग्गा बगरमा परिणत हुन्छ । तर अर्कोतर्फ वर्षाभन्दा बाहिर सुक्खा याममा पानी पाइँदैन । यही चक्रले अहिलेको सङ्कट निम्त्याएको हो ।

हिमालय शृङ्खलाको निर्माण क्रममा नदीजन्य पदार्थहरू जमेर बनेको सबैभन्दा कान्छो पहाड हो चुरे । पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको यस शृङ्खलालाई चुरे वा शिवालिक पर्वत भनेर चिनिन्छ । नेपालको सन्दर्भमा चुरे पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ वटा जिल्लामा लगभग आठसय किलोमिटर लम्बाइ र झन्डै १२.७८ प्रतिशत भूभाग ओगटेको अत्यन्त संवेदनशील पहाडी क्षेत्र हो । चुरे कुनै हिमाली अग्लो पर्वत होइन । यसका चट्टानहरू खुकुला छन् । माटो बलियो छैन र वर्षाको पानी यसमा छिटै छिर्छ र जमिनभित्र जाने गर्छ । यही कारणले चुरे जल सञ्चित गर्ने प्राकृतिक संरचना हो । यहाँको वनस्पति, भावर क्षेत्र, माटोको बनावट र भूसंरचना सबैले भूजल संरक्षणमा योगदान गर्छन् तर अहिले चुरे शृङ्खला द्रुत गतिमा विनाश हुँदै छ । यहाँबाट अवैध रूपमा ढुङ्गा, गिटी, बालुवा तस्करी भइरहेको छ । दोहनको गति यति तीव्र छ कि आज धेरै ठाउँमा खोला सुक्न थालेका छन् । वन क्षेत्र उजाड हुँदै गएका छन् ।

चुरे क्षेत्र नेपालको धेरै जसो नदीहरूको जन्मस्थल पनि हो । यी नदीहरू भावर हुँदै मधेशमा झर्छन् । ससाना खोल्सा, झरना र भूगर्भ जलले मधेशलाई सिँचाइ र खानेपानीमा आत्मनिर्भर बनाएको छ तर अहिले त्यो चक्र बिथोलिएको छ । चुरेमा पानी थुनिने, जमिनभित्र छिर्ने र पछि फेरि निस्कने प्रक्रिया बिग्रिँदा मधेशको ट्युवबेल, इनार र बोरिङ सुक्न थालेका छन् । अहिले सिँचाइ गर्न गाह्रो छ । किसानलाई निजी बोरिङ चलाउन महँगो डिजेल चाहिन्छ । त्यो चलाएर पनि पानी नपाएर धान रोप्न सकेका छैनन् ।

मानिसको बुझाइमा सुक्खा भन्नासाथ वर्षा नहुनुलाई दोष दिइन्छ ।  वैज्ञानिक दृष्टिकोणमा वर्षाको अनियमितता प्राकृतिक चक्र हो तर त्यस चक्रको वनको संरक्षण र भूजल व्यवस्थापनमा निहित छ । हामीले चुरेबाट दोहन त ग¥यौँ तर चुरे संरक्षणको जिम्मेवारी लिन सकेनौँ । हामीले सुकुमवासीका नाममा चुरे क्षेत्रमा लालपुर्जा बाँड्यौँ, स्कुल, अस्पताल र सडक बनाउँदै चुरेको हरियाली फाँड्यौँ अनि वर्षा नभएपछि आकाशलाई दोषी देखाउँछौँ । वास्तविक दोषी भने हामी आफैँ हौँ । हामीले चुरेलाई प्रकृतिको रूपमा बुझेनौँ । भौगोलिक संरचनाका हिसाबले खुकुलो पत्रे चट्टानबाट बनेको चुरे अत्यन्त नाजुक संरचना हो । यही क्षेत्रमा महाभारत पर्वत शृङ्खलाबाट बग्ने साना–ठुला नदीहरू बगेर तराईतिर झर्छन् । यही कारण चुरे नेपालको जल स्रोतको एक महत्वपूर्ण मूल स्रोत हो ।

चुरे क्षेत्रमा पानी भण्डारण भएर भूगर्भीय जलमार्फत मधेशलाई पानी आपूर्ति गर्ने प्राकृतिक प्रणालीलाई विज्ञानले समेत पुष्टि गरिसकेको छ । चुरेले खस्रो भूभागबाट वर्षा हुँदा पानीलाई भण्डारण गरी बिस्तारै तलतिर झार्ने काम गर्छ । चुरे नहुँदो हो भने अहिले पनि मधेशको हजारौँ ट्युबबेल, इनार, पोखरीमा बर्सौंभरि पानी टिक्ने अवस्था हुने थिएन तर पछिल्लो केही दशकयता चुरे क्षेत्रको दोहन, अतिक्रमण र अवैध उत्खननले गर्दा यो संवेदनशील भूभाग दिन प्रतिदिन खतरामा पर्दै गएको छ । बालुवा, ढुङ्गा, गिटीलगायत निर्माण सामग्रीका लागि अत्यधिक उत्खनन भएको छ । वन फडानी, मानव बस्ती विस्तार, सरकारी नीतिमा ढिलासुस्ती भौतिक संरचना निर्माणका नाममा चुरे मासिँदै आएको छ ।

चुरे संरक्षणको कुरा गर्नु केवल वनको संरक्षण मात्र होइन । मधेशको पानी, अन्न र जीवनको रक्षा गर्ने कुरा हो । चुरे विनाशको प्रत्यक्ष असर तराईको भूगर्भीय जलमा देखिन्छ । आजको दिनसम्म आइपुग्दा मधेश प्रदेशमा बर्सेनि पानीको सङ्कट झनै चर्किदो छ । सामान्यतया असार लागेपछि सुरु हुने रोपाइँ यसपालि साउनको मध्यसम्म पनि हुन सकेको छैन । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सर्लाही, पर्सालगायतका जिल्लामा खेत सुक्खा छन् । धानको बिउ सुक्न थालेको छ । किसान आकाश हेरेर प्रार्थना गरिरहेका छन् । वास्तवमा चुरे संरक्षण भन्नाले भूसंरक्षण, जलस्रोत संरक्षण, वन र जैविक विविधताको समुचित व्यवस्थापन बुझिन्छ । यी चार वटै पक्ष संरक्षण हुन सके तब मात्र मधेश सुरक्षित रहन सक्छ तर राज्यले चुरे विनाशलाई प्रोत्साहित गर्ने काम गरिरहेको देखिन्छ । सुकुमवासीका नाममा चुरे क्षेत्रमा लालपुर्जा वितरण विद्यालय–अस्पतालका नाममा संरचना निर्माण, सडक विस्तारका नाममा जङ्गल फडानी जस्ता गतिविधि रोकिएनन् भने चुरे बच्दैन ।

अहिलेको जलसङ्कट भयावह परिणामको सुरुवात मात्र हो । राज्यले आफ्नो नीति र कार्यक्रम चुरे संरक्षणमै केन्द्रित गर्नु पर्छ । तीन वटै तहका सङ्घीय, प्रदेश र स्थानीय सरकारले एकीकृत योजना बनाएर चुरे क्षेत्रमा वैज्ञानिक व्यवस्थापनका माध्यमबाट संरक्षण गर्नुपर्ने अपरिहार्यता छ । आजको यथार्थ हो– चुरे मासियो भने मधेश सुक्छ । मधेश सुक्यो भने नेपालको अन्नभण्डार सुक्छ । अन्न सुक्यो भने राष्ट्रको पेट सुक्छ । यही यथार्थ बुझेर हामीले चुरे संरक्षणलाई राष्ट्रिय अभियान बनाउनुपर्ने हो । चुरेको सङ्कट मधेशको सङ्कट हो र चुरेको संरक्षणमा नै मधेशको भविष्य लुकेको छ । चुरे बचाऔँ, मधेश बचाऔँ, राष्ट्र बचाऔँ ।