• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रपतिको अभिभावकीय भूमिका

blog

राष्ट्र र जनताप्रति सदैव बफादार रहने व्यक्तिका लागि राज्यका उच्च पद घुमीघुमी आउँदो रहेछ भन्ने उदाहरण नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएबाट पुष्टि भएको छ । उच्च विचार तर सादगी जीवनको परिचय बनाउनुभएका पौडेल वि.सं. २०१७ मा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि कलिलै उमेरमा राजनीतिमा होमिए । ०२७ सालमा गठित नेविसङ्घमा संस्थापक सदस्य रहेर काम गर्नुभएको उहाँले वि.सं. २०३६ सालको जनमत सङ्ग्रहमा पनि निलो रङमा छाप लगाउन ठूलो जनमत तयार पार्नुभयो । नेपाली कांग्रेसका संस्थापक बीपी. कोइराला, गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईलगायतका नेताले विश्वास गर्ने नेताको रूपमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यको नाम लिइन्थ्यो । नेत्री आचार्य दिवङ्गत भएको धेरै भइसक्यो, देउवा दुई पटक पार्टी कांग्रेसको पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो । वरिष्ठ नेताका रूपमा पौडेल कार्यकर्ताका बीच लोकप्रिय हुनुभयो । पार्टी र सरकार सञ्चालनमा मात्र होइन संसद् सञ्चालनमा समेत लामो अनुभव बटुलीसक्नुभएका पौडेलले प्रतिनिधि सभाका सभामुखका रूपमा काम गर्दा सन्तुलित भएर काम गर्नुभएको थियो । पार्टीमा पनि महामन्त्री, उपसभापतिलगायतका पद सम्हाल्दा उहाँले चित्तबुझ्दो काम गरेको कांग्रेसीजन बताउँछन् । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्री कालमा उपप्रम तथा गृहमन्त्री सम्हालिसक्नुभएका उहाँले त्यसबेला एक प्रसङ्गमा देशमा भ्रष्टाचार विरुद्धको अभियान चलाउनु पर्छ भन्ने उहाँको अवधारणा चर्चित रहेको थियो । भ्रष्टाचारका छिद्र छिद्र पत्ता लगाएर ती प्वालहरू बन्द गर्नका लागि सायद त्यस्तो अभिव्यक्ति दिनुभएको थियो । 

प्रजातन्त्र पुनःस्र्थापना र लोकतन्त्र बहालीका लागि पौडेलले पटक पटक गरी झन्डै १४ वर्ष कारागार जीवन बिताउनुभयो । पार्टीमा सदैव मध्यमार्गी नेताका रूपमा परिचय बनाउनुभएका उहाँ कांग्रेस विभाजन हुँदा आफूप्रति आउन देउवाले आग्रह गर्दा पनि वि.सं. २०५९ मा मूलधारमा रहेर काम गर्नुभयो । त्यसपछि प्रजातान्त्रिक कांग्रेसका सभापति देउवा र नेता पौडेलबीच सुमधुर सम्बन्ध कायम रहन सकेन । तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रम देउवालाई बर्खास्त गरी सम्पूर्ण अधिकार हातमा लिँदा राजाको कदमको घोर विरोध गर्ने पङ्क्तिमा पौडेललाई लिन सकिन्छ । २०६२/०६३ को आन्दोलनमा तत्कालीन सात राजनीतिक दल मिलेर आन्दोलन सफल पार्नु पर्छ भन्ने सूत्राधारका रूपमा पनि पौडेललाई लिइन्छ । आन्दोलन सफल भएपछि नेका र नेका प्रजातान्त्रिक गरी दुवै पार्टी मिलेर मात्र प्रजातन्त्र दिगो रहन्छ, ०६२/६३ को मूलमर्म कायम रहन्छ भनी गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवालाई एकै ठाउँमा उभ्याउने नेताका रूपमा पनि कांग्रेसीहरू पौडेलको नाम लिन्छन् । 

कांग्रेसमा सदैव बौद्धिक नेताका रूपमा परिचय बनाउनुभएका पौडेललाई संस्कृत साहित्य र नेपाली साहित्यका विद्वान् व्यक्तिका रूपमा हेर्ने गरिन्छ । नेपालको राजनीतिक, सामाजिक अवस्था र समाजवादको व्याख्याता पौडेलका विभिन्न कालखण्डमा लेखिएका ११ वटा पुस्तक प्रकाशित छन् । श्रीमद्भागवत गीता र दर्शनशास्त्रको समेत राम्रो अध्ययन गर्नुभएका पौडेल नेपाली समाजलाई विकासोन्मुख गराउन बीपीको समाजवाद नै पर्याप्त छ भनी पार्टीमा बहस चलाउनुहुन्थ्यो । 

वि.सं. २०४८ देखि संसदीय चुनावमा लगातार विजयी हुनुभयो नेता पौडेल । लोकतन्त्रका पक्षपाती उहाँले ०७४ सालको आमनिर्वाचनमा तत्कालीन वाम गठबन्धनका कारण पराजय बेहोर्नु प-यो । प्रजातन्त्र र लोकतन्त्रप्रति उहाँको निष्ठा र द्वन्द्वकालको अन्त्यका लागि उहाँले गरेको योगदान र शान्ति सम्झौता कायम राख्न खेलेको भूमिकाको समेत कदर गर्दै सन् २०२० मा जापान सरकारले आफ्नो देशमा निम्तो दिएर उहाँलाई राजकीय सम्मानसमेत ग-यो । संसारमा विशिष्ठ पाहुनालाई प्रदान गरिने उक्त सम्मान आफैँमा गरिमायुक्त छ । 

वि.सं. २०६७ मा नेका संसदीय दलका नेता चुनिएपछि प्रधानमन्त्री पदका लागि सत्र पटकसम्म प्रत्याशी बन्नुभयो तर प्रम हुन साइत भने पौडेललाई जुरेन । २०७२ साल सम्पन्न पार्टीको १३आैँ महाधिवेशनमा पौडेल, शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको सभापतिमा उम्मेदवारी परेको थियो । पहिलो चरणमा सभापति पदमा आवश्यक बहुमत कसैले ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा देउवा सभापतिमा निर्वाचित हुनुभयो । पौडेल सभापतिसमेत हुन सक्नुभएन । तर उहाँ सक्रिय नै रहनुभयो । पार्टीको आन्तरिक राजनीतिमा लोकतान्त्रिक प्रणाली कायम राख्न सक्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने मान्यताका साथ त्यसपछि पनि निरन्तर रूपमा पार्टी सङ्गठन विस्तार र कार्यकर्तालाई प्रशिक्षण दिनतर्फ क्रियाशील नै रहनुभयो । एक पटक पार्टी सभापति र एक पटक देशको कार्यकारिणी प्रमुख भएर आफ्ना समाजवादी विचारहरू लागू गर्ने पौडेलको तीव्र चाहना थियो । 

१४औँ महाधिवेशनमा भने पौडेलले सभापतिमा देउवालाई सहयोग गर्नुभयो । सक्रिय राजनीतिबाट अलग हुन चाहेका पौडेललाई निष्क्रिय हुनबाट जोगाउन देउवा आफँै पौडेललाई भेट गर्न जानुभएको थियो । देशमा तपाईंको राजनीतिक खाँचो छ भनी भरोसा पनि दिएर फर्किनुभयो देउवा । कांग्रेसभित्र कतिपयले राष्ट्रपति पदका लागि आफैँ प्रत्याशी बन्न देउवालाई सुल्झाएका थिए तर सभापति देउवाले कार्यकर्ताको सुझाव इन्कार गर्दै पौडेलको नाम प्रस्ताव गर्नुभयो । राजनीतिक धर्म र प्रतिबन्धित कालमा दुवै नेताले पाएको कठोर यातना सम्झदै शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति पदका लागि अगाडि मात्र सार्नुभएन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत समर्थन जुटाउनुभयो । यसरी कांग्रेस, नेकपा माओवादीलगायतको समर्थनमा पौडेल राष्ट्रपति निर्वाचित हुनुभयो । 

नेपालको संविधानअनुसार राष्ट्रपति पद आलङ्कारिक पद हो । संविधानमा उल्लेखित धारा, उपधाराको आफूअनुकूल व्याख्या नगरी संविधानले निर्दिष्ट गरेका प्रत्येक अक्षरको पालना गर्नु राष्ट्रपतिको परम कर्तव्य हुन आउँछ । अब पौडेलले राजनीतिक दलसंँग आबद्धता जनाउनु हुने छैन । मर्यादित र तीन करोड नेपाली जनताको अभिभावक भएर देशको सर्वोच्च पदमा आसीन हुनुहुनेछ । नेपाली माटो छुँदै शहीदलाई सम्झँदै लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा राष्ट्रपति पदको गरिमा पौडेलले बढाउने कुरामा मेची–महाकालीका जनता ढुक्क छन् । 

लेखक लोकतान्त्रिक आन्दोलनका अभियन्ता हुनुहुन्छ ।