• ११ वैशाख २०८१, मङ्गलबार

रणवीर र श्रद्धाको कमेडी ‘तू झुठी मैं मक्कार’

blog

काठमाडौँ, फागुन २८ गते । रणवीर कपुर र श्रद्धा कपुर अभिनीत बलिउड चलचित्र ‘तू झुठी मैं मक्कार’ रोमान्टिक कमेडी विधाको चलचित्र हो । चलचित्रलाई लव रञ्जनले निर्देशन गर्नुभएको हो । यसअघि लव रञ्जनले ‘प्यार का पञ्चनामा’ र ‘सोनु के टिटु की स्विटी’ जस्तो उत्कृष्ट रोमान्टिक कमेडी चलचित्र बनाइसक्नुभयो । चलचित्र ‘ये जवानी है दिवानी’ को नौ वर्षपछि रणवीर कपुर रोमान्टिक कमेडी चलचित्रमा देखिनुभएको छ । 

चलचित्रले दुई आधुनिक प्रेमी रोहन अरोरा ​​मिकी (रणवीर कपुर) र निशा मल्होत्रा ​टिन्नी (श्रद्धा कपुर)को कथा भन्छ । दुवै भेट्छन् र प्रेममा पर्छन् । दुवै सुखी सम्बन्धमा बस्छन् र सँगै मर्ने वाचा गर्छन् । केही महिनाभित्रै दुवै यस्तो स्तरमा पुग्छन् जहाँ दुवै एकअर्काबाट छुटकारा पाउन चाहन्छन् । केही समयपछि दुवैका परिवारका सदस्य पनि यो प्रेमकथामा संलग्न हुन्छन् र उनीहरूलाई विवाहमा बाँध्ने सुरसार कस्छन् । विवाहको तयारीका बीचमा दुवैले ब्रेकअपका लागि नयाँ तरिका अपनाउँछन् । दुवैको सम्बन्ध कसरी बिग्रन्छ भन्ने कुरालाई चलचित्रको मुख्य विषय बनाइएको छ । 

मिकीको भूमिकामा रणवीर कपुर निकै ऊर्जावान् देखिएका छन् । उनको अभिनय तारिफयोग्य छ । श्रद्धा आफ्नो भूमिकामा निकै खुलेकी छिन् । उनको अभिनयलाई पनि दर्शकले धेरै रुचाउँछन् । दुवैको अभिनयमा खोट लगाउने ठाउँ पाइँदैन । चलचित्रमा एउटा यस्तो पात्र छ, जसले दर्शकलाई हँसाउने काम मात्र गर्छ । ती कलाकार हुन बस्सी (अनुभव सिंह) । बस्सीले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको छ र उहाँको भूमिका निकै रमाइलो छ । उहाँ त्यही अनुभव हो, जसले स्ट्यान्ड–अप कमेडीबाट मानिसलाई धेरै हँसाइसक्नुभएको छ । चलचित्रका अन्य कलाकार डिम्पल कपाडिया, बोनी कपुरले पनि दर्शकलाई साढे दुई घण्टा सिनेमाघरमा बाधेर राख्न बाध्य बनाउँछन् । 

निर्देशक लव रञ्जनले यसअघि कार्तिक आर्यन र नुसरत भरुचासँग चलचित्र ‘प्यार का पञ्चनामा’ र ‘सोनी के टिटू की स्विटी’ जस्ता चलचित्र बनाउनुभएको थियो । उहाँले यस चलचित्रमा पनि पुरानो जोडीलाई दोहो-याउनुभएको छ । चलचित्रमा कार्तिक र नुसरत पनि छन् । दुवैको भूमिका गोप्य राखिएको छ । चलचित्रमा तेरे प्यार मे, प्यार होता कभी बार है, सो मी द ठुम्का, ओ बेर्ददी र मैने पी राखी हे गरेर पाँचवटा गीत छन् । चलचित्रका गीतमा विविधता छ । चलचित्रमा पार्टी गीत, रोमान्टिक गीत, दुःखी गीत र विवाह गीत पनि सुन्न पाइन्छ । चलचित्रको एउटा गीत ‘मैने पी राखी हे’ रिलिज हुन बाँकी छ, जुन चलचित्रसँगै हेर्न सकिनेछ । चलचित्रलाई प्रीतमले सङ्गीत दिनुभएको हो । चलचित्रका तीन गीतमा अरिजित सिंहले आवाज दिनुभएको छ ।

चलचित्र हरेक मापदण्डमा मनोरञ्जनात्मक बनेको हुनाले नहेर्ने प्रश्नै उठ्दैन । चलचित्रको कतिपय ठाउँमा प्रेमकथामा परिवारको थप संलग्नताजस्ता कथालाई अनावश्यक पनि लाग्न सक्छ । यसका साथै चलचित्रको कास्टिङ बलियो, कथा अनौठो छ । चलचित्र हेरेर दर्शक अवश्य धेरै हाँस्नेछन् । यो पूर्ण पारिवारिक चलचित्र हो । चलचित्रमा निर्देशकले आफ्नो अघिल्लो चलचित्रको स्वाद पनि दिएका छन् । जुन निकै स्वादिलो बनेको छ ।