गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ३० गते । प्रतिनिधि सभा चुनावपछि चलचित्र ‘लालिमा’ हलमा पहिलो प्रदर्शनमा आउने चलचित्र हो । यौनकर्मी महिलाको वास्तविक जीवनका कथामा आधारित चलचित्रको भूमिकामा अभिनेतृ रोशनी कार्की देखिएकी छन् । उनको यो पहिलो शीर्ष भूमिका हो ।
चलचित्र तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित छ । चलचित्रको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालिमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालिमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुन्छिन् ।
नायिका उषा रजक लालिमाको आमाको भूमिकामा देखिनुभएको छ । उहाँ पहिलो पटक आमाको भूमिकामा देखिनुभएको हो । रोशन मिजार निर्देशित चलचित्रमा रोशनी र उषासँगै शिशिर बाङ्देल, जीवन भट्टराई, उषा रजक, सुषमा निरौला, सविन कट्टेल र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन देशभर करिब ६० सो पाएको छ । लफेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ ।