काठमाडौँ, फागुन ३० गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा देखिनुभएको छ ।
प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतमा दीपिका बयम्बुमगर र खेम सेन्चुरीको स्वर रहेको छ । साथै सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेख्नुभएको हो ।
चलचित्रको प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त चललचित्रमा स्वस्तिमा, रवीन्द्रसिंह, समाइरा र विशालसँगै अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारीलगायतको अभिनय रहेको छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।