अजय शाह
गौशाला (महोत्तरी), वैशाख १८ गते । गोरखापत्र अनलाइनमा “महोत्तरीमा बधशाला अभाव, प्रदूषित मासु उपभोग बाध्यता’’ शीर्षकमा बिहीबार प्रकाशित भएको समाचारपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरको नेतृत्वमा महोत्तरीको औरही नगरपालिकामा बजार अनुगमन गरेको छ।
समाचार प्रकाशित भए लगतै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले औरही नगरपालिकाका प्रतिनिधि सहित वडा नं –१, औरही बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अनुगमन, सरसफाइ र गुणस्तरमा गम्भीर समस्या फेला परेको छ।
अनुगमन टोलीले बजारमा रहेको मासु पसलहरुलाई सरसफाई र मासुलाई सिसाको देखिने बाकस (शो केस)मा राखेर बिक्री गर्न निर्देश दिएका छन्।
अनुगमन टोली आएको खबर बजारमा थाहा पाएर पसलेहरु पसल बन्द गरेर फरार भएका थिए । अनुगमनको सूचना पूर्व मै पाएको आशंकामा व्यवसायीहरूले पसल बन्द गरेको देखियो। केही होटल तथा मासु पसल भने सञ्चालनमा रहेका थिए।
अनुगमनका क्रममा एक कोल्ड स्टोरमा म्याद गुज्रिएको बियर फेला परेको छ भने केही मासु पसलमा पनि म्याद नाघेका पेय पदार्थ भेटिएको टोलीले जनाएको छ। साथै, होटलहरूमा प्रयोग भइरहेको पकाउने तेल धेरैजसो स्थानमा गुणस्तरहीन तथा बिग्रिएको अवस्थामा रहेको पाइएको छ। सरसफाइको अवस्था समेत सन्तोषजनक नरहेको निष्कर्ष निकालिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका अधिकृत बिक्की राउतले म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्ने र सरसफाइमा लापरबाही गर्ने व्यवसायीलाई कडा चेतावनी दिनुभएको छ। उहाँले पहिलो चरणको अनुगमन भएकाले चेतावनी दिइएको उल्लेख गर्दै पुनः यस्तो अवस्था भेटिएमा कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पार्नुभयो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषयमा कुनै सम्झौता नहुने उहाँले जोड दिनुभयो।
औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्काले अनुगमन उपभोक्ता हित संरक्षणका लागि आवश्यक प्रक्रिया भएको बताउँदै व्यवसायीहरूलाई कानुनको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। उहाँले बजारलाई स्वच्छ, व्यवस्थित र दर्ता प्रणालीअनुसार सञ्चालन गर्न सबै व्यवसायी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
यसैबीच, गौशाला नगरपालिका–३ का उपभोक्ता दिलिप महतोले बजारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न व्यवसायीहरूलाई सचेत गराउनुभयो।
औरही उद्योग वाणिज्य संघका महासचिव राजु चौधरीले अनुगमनका बेला पसल बन्द गर्ने प्रवृत्ति गलत भएको भन्दै व्यवसायीहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो।
वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले पनि अनुगमनलाई सकारात्मक रूपमा लिन आग्रह गर्दै नियमअनुसार व्यवसाय सञ्चालन गर्न सुझाव दिनुभयो ।
अनुगमनमा स्थानीय प्रशासन, औरही नगरपालिका तथा प्रहरी प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, समाचार संकलन तथा रिपोर्टिङका लागि स्थानीय पत्रकारहरूको पनि उपस्थिति रहेको थियो। अनुगमन टोलीले व्यवसायीहरूलाई कानुनअनुसार दर्ता भई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री गर्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।