• ३० फागुन २०८२, शनिबार

महोत्सवमा चौबिस चलचित्र

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३० गते । भक्तपुर चलचित्र महोत्सव आयोजना हुने भएको छ । उक्त महोत्सव चैत ६ र ७ गते आयोजना हुन लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ चलचित्रकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताउनुभयो । 

किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको हो । दुईदिने महोत्सवमा २४ वटा चलचित्र देखाइने छ । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुने छ । 

नवीन सुब्बा निर्देशित चलचित्रबाट महोत्सव सुरु हुने छ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ देखि अङ्कित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्म देखाइने छन् । महोत्सव सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ पछि समापन हुने छ । महोत्सवमा दुई नेवा संस्कृति समेटिएका चलचित्र ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ देखाइने छ । महोत्सव चलचित्रकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धी कार्यशाला दिँदै छन् । महोत्सव सुरु हुने अघिल्लो दिन उनले यो कार्यशाला सञ्चालन गर्ने भएका हुन् । फागुन ३० मा भने महोत्सवले रुसेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा ‘हेरिटेज वाक’ पनि आयोजना गर्दै छ ।