• ११ मंसिर २०८१, मङ्गलबार

खाद्य सुरक्षाका लागि कोदो

blog

गरिबको खानाका रूपमा हेला गर्ने र सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने गरेको कोदोलाई सन् २०२३ भरि कोदोजन्य वर्षका रूपमा विश्वभरि मनाइरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएकोे प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ साधारण सभाको ७५औंँ सेसनले पारित गरेबमोजिम सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेसनल इयर अफ मिलेट्स २०२३)का रूपमा मनाइरहेको छ । भारत सरकारले सन् २०२१ मा गरेको सो प्रस्तावमा विभिन्न ७२ वटा देशले समर्थन गरेका थिए । त्यसमध्ये एक नेपाल पनि हो । नेपालले पनि ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ मूल नाराका साथ सन् २०२३ लाई कोदोजन्य वर्षका रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । भारत–नेपालबीच कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो । दुई देशबीचको कृषि सहकार्यलाई निरन्तरता दिँदै नेपालस्थित भारतीय दूतावासले नेपालमा सन् २०२३ को वर्षभरि नै विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाउने भएको छ । 

विश्वमै भारत सबभन्दा बढी कोदो उत्पादन गर्ने देशमा पर्छ । सन् २०२० को खाद्य तथा कृषि सङ्गठनमा उल्लेख एक तथ्याङ्कअनुसार भारतमा एक करोड २४ लाख ९० हजार मेट्रिकटन कोदो वार्षिक उत्पादन भएको थियो भने नेपालमा तीन लाख २० हजार मेट्रिक टन मात्र उत्पादन भएको थियो । कोदो उत्पादनमा भारतभन्दा चीन पनि पछाडि छ । सन् २०२० मा चीनले २३ लाख मेट्रिकटन मात्र उत्पादन गर्न सकेको थियो । भारतमा विभिन्न नौ प्रजातिका कोदो उत्पादन हुँदै आएको छ । अब कुरा उठ्छ, भारतमा यतिका उत्पादन हुँदाहुँदै पनि किन कोदोजन्य वस्तुको उत्पादन वृद्धि, त्यसको संरक्षण तथा संवद्र्धनका लागि सन् २०२३ लाई विशेष वर्षका रूपमा मनाइरहेको छ त ? कोदो स्वास्थ्यका दृष्टिकोणले अति लाभदायक हुनुका साथै सुक्खा जमिनमा पनि खेती गर्न सकिने बाली भएका कारण खाद्य सङ्कटमा काम लाग्ने खाद्यवस्तु कोदो नै भएको हुनाले भारतले कोदो उत्पादनमा जोड दिनका लागि २०२३ लाई कोदोजन्य वर्षका रूपमा मनाउन थालिएको छ । विश्वमै भइरहेको जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा नकारात्मक असर पर्ने क्रम बढ्दै गइरहेको छ । त्यसले गर्दा खाद्य सुरक्षामा प्रत्यक्ष असर परिरहेको छ । जलवायु परिवर्तनका कारण त्यसको असर सिधै खाद्यान्न उत्पादनमा परिरहेको छ । 

जलवायु परिवर्तनको असर

बीबीसीको एक रिपोर्टअनुसार नेपालमा यो वर्ष हिउँदमा तीन दशकयताकै औसतभन्दा निकै कम पानी परेको छ । मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई नेपालमा हिउँदयाम मान्ने गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी हिउँदमा पर्ने गर्छ । हिउँदमा मात्र करिब ६० मिलिमिटर वर्षा हुने गरेको छ तर यस पटक पानी नै परेन भन्दा हुन्छ । बीबीसीका अनुसार सन् २०२१–२०२२ को जनवरीदेखि फरवरीसम्म २७.१ मिलिमिटर पानी परेकोमा २०२२–२०२३ को हिउँदमा हालसम्म ०.१ मिलिमिटर पानी मात्र परेको तथ्याङ्क छ । यो सबै जलवायु परिवर्तनको प्रभाव हो र यसको सिधै असर हिउँदे बालीमा परेको छ । वर्षा नभएका कारण हिउँदे बालीलगायत गहुँ, दलहन, तेलहन बाली उत्पादनमा ह्रास आउने निश्चित रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

गत वर्ष बेमौसमी वर्षाका कारण आएको बाढीले पाकिसकेको धानलाई नोक्सान गरेको थियो । करोडौँ रुपियाँ बराबरको धानमा क्षति पुगेको थियो र त्यसले धान उत्पादनमा आठ प्रतिशतले कमी आएको थियो । अर्थात् पानी पर्ने बेला परिरहेको छैन, नपर्ने बेला परिरहेको छ । जसको असर खाद्यान्न उत्पादनमा परिरहेको विभिन्न अध्ययनले देखाएको छ । यस परस्थितिमा जुनसुकै बेला खाद्य असुरक्षा बढ्न सक्छ, खाद्य सङ्कट आउन सक्छ भनी सबैतिर चिन्ता भइरहेको छ । त्यस्तो बेला कोदो मात्र काम लाग्न सक्छ भनी नेपाल, भारतलगायत विभिन्न देशको विश्लेषण छ । कोरोना महामारीको पीडा भुल्न नपाउँदै रसिया–युक्रेन युद्ध सुरु भयो । त्यसले विश्वकै आर्थिक अवस्थामा असर पु¥यायो । पेट्रोलियम पदार्थदेखि लिएर रासायनिक मललगायत अन्य खाद्यवस्तुको मूल्यमा अत्यधिक वृद्धि गरायो । त्यही युद्धका कारण रासायनिक मलको उत्पादन एवं आपूर्तिमा नकरात्मक असर परेका कारण नेपाललगायत विश्वव्यापी रूपमा खाद्यान्न उत्पादन घटेको विभिन्न प्रतिवेदनले देखाएको छ ।

विभिन्न खाद्यवस्तुको आपूर्ति शृङ्खलामा असर परेको छ । यस्तो अवस्थाबाट नेपालजस्तो सानो अर्थतन्त्र भएको देश प्रभावित नहुने कुरा हुँदैन । खाद्य सुरक्षाका लागि नेपाल पनि संवेदनशील क्षेत्र हो । उत्पादनका लागि विभिन्न विकल्पमा कोदोलाई पनि लिइएको छ । खाद्य सङ्कट नहोस् भनेर भारत सरकारले जस्तै नेपाल सरकारले पनि कोदो उत्पादनमा जोड दिएको छ । सुदूरपश्चिम प्रदेशमा गत वर्ष धानभन्दा कोदो बढी उत्पादन भएको छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक गतिविधि अध्ययनका अनुसार सुदूरपश्चिममा गत वर्ष कोदोको उत्पादन ४०.४९ प्रतिशतले वृद्धि भएको देखिएको थियो तर धान उत्पादन ३१.४९ प्रतिशतले मात्र भएको अध्ययनले देखाएको छ । धान बाली पाक्ने समयमा परेको अत्यधिक वर्षाका कारण धान उत्पादनमा ह्रास आएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा जिल्ला कृषि ज्ञान केन्द्रले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेका कारण कोदो उत्पादनमा वृद्धि भएको राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ । अर्थात् धान, गहुँ, मकैको विकल्पमा कोदोलाई लिन थालिएको छ । 

नेपालले पनि खाद्य सुरक्षालाई ध्यानमा राख्दै २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्षका रूपमा मनाउने घोषणा गरेको छ । विभिन्न कार्यक्रम गरी त्यसलाई मनाइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भनेको छ, “कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतको संरक्षण दिगो उपयोगलाई उच्च महìव दिइने राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तीनै तहको सरकारको भूमिक रहने उल्लेख छ ।” पछिल्लो समय जलवायु परिवर्तनको कारणले कृषि जैविक विविधतामा ह्रास हुने क्रमलाई तीव्र बनाएको छ । नेपालमा रैथाने कृषि जैविक विविधतामध्ये करिब ४० प्रतिशत लोप भइसकेको हुन सक्ने अनुमान गरिएको छ । 

के छ कोदोमा ?

कृषिविज्ञ कृष्णहरि घिमिरेका अनुसार वैज्ञानिक भाषामा कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बाली सबै कोदो वर्गमा पर्छन् । नेपाली भाषामा कोदो भन्नाले मसिना गोलाकार दाना हुने घाँसे परिवारअन्तर्गत पर्ने परम्परागत अन्नबाली हो । कोदो नेपालमा धान, मकै र गहुँपछिको चौथो महìवपूर्ण खाद्यान्न बाली हो । यो खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बाली हो । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँमा भन्दा ८.८ गुणा बढी क्याल्सियम पाइन्छ भने चामलभन्दा २.३ गुणा, मकैभन्दा ३.७ र गहुँभन्दा १.५ गुणा बढी फलाम पाइन्छ । कोदो क्याल्सियम र फस्फोरसको धनी स्रोत भएकाले गर्भवती महिलाका लागि उत्तम भोजन मानिन्छ । कोदो मधुमेह रोगीका लागि पनि फाइदाजनक हुन्छ ।

कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । यो थोरै खाएर पनि पेट भरिने र धेरै पोषण प्राप्त गर्न सकिने हुन्छ । यसमा असाध्यै धेरै पौष्टिक तìव रहेको हुन्छ । खाद्य तथा पौष्टिक सुरक्षामा ठूलो योगदान गर्छ । रेसा र शरीरलाई चाहिने क्याल्सियम, फसफोरस, फलाम, लवन, अमिनोएसिडलगायतका खाद्य पदार्थ पाइने हुनाले मधुमेह, एनिमिया, हड्डी बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउनलाई औषधीय वस्तुका रूपमा प्रयोग भएको पाइन्छ । यसले रगतमा बोसो र कोलेस्टरोलको मात्रा घटाउँछ । जाडोयाममा कोदो खानाले चिसोबाट बचाउन र सर्दी हटाउन यो उपयोगी हुन्छ । कोदोलाई हिमालयन सुपर फुड (हिमालयन सर्वोत्तम खाना)का रूपमा चिनिन्छ । नेपालका आदिवासी जनजाति समुदायमा चाडपर्व तथा पूजाआजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा प्रयोग हुने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ । पशु वस्तुका लागिसमेत यो महìवपूर्ण आहार हो ।

भाते संस्कृतिलाई न्यूनीकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम सुरुवात गर्न सकिन्छ । पौष्टिकता र औषधीयपन तथा मानव स्वास्थ्यमा पु¥याउने टेवाबारे ज्ञानको प्रसार गरी यसको प्रवद्र्धन गराउन सकिन्छ । शिशु खाद्य, वृद्ध खाद्य तथा विभिन्न परिकारका रूपमा विस्तार गर्न सकिन्छ । अनुसन्धानबाट उन्नत प्रविधिको विकास गरी उत्पादन बढाउन सकिन्छ । सम्मानित बालीका रूपमा विकास गरी यसको महत्वलाई वृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारका रूपमा विकास गर्न सकिन्छ । राष्ट्रिय कानुनमा नै सुधार गरी नेपाली ब्रान्डेड कोदोको मदिरा उत्पादन र विदेश निकासी गर्न सकिन्छ । 

कोदो बालीमा जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दीर्घकालीन कृषि बालीका रूपमा विकास गर्न सकिन्छ । कोदो सुक्खा सहन सक्ने र वर्षे बाली पनि भएकाले यसलाई सामान्यतया सिँचाइको आवश्यकता पर्दैन तर लामो समयसम्म खडेरी परेमा वा जमिन निकै सुक्खा छ भने जरा गँजाउने वा गाँज हाल्ने र फूल फुल्ने बोलामा सिँचाइ दिँदा बालीको उत्पादनमा वृद्धि हुने देखिएको छ । सञ्चित बालीले पानीका साथ मलखाद पनि बढी प्राप्त गर्छन् । कोदो बालीमा पानी जम्न नदिने गरी निकासको व्यवस्था गर्न जरुरी छ । कोदो मात्र यस्तो अन्न हो; जसलाई कीराले पनि असर गर्दैन । यसको विशेषता नै हो कि लामो समय भण्डारण गरेर राख्न सकिन्छ । कोदोलाई चिसो र सुक्खा ठाउँमा राख्न सकियो भने धेरै वर्षसम्म बिग्रिँदैन । कोदो खेती गर्दा कडा परिश्रम गर्नुपर्छ । जेठको दोस्रो हप्तादेखि असारको पहिलो हप्ताभित्र कोदो छर्ने उत्तम समय मानिन्छ । असारको अन्तिम हप्तादेखि साउनको पहिलो हप्ताभित्र छरुवा कोदो गोड्ने तथा रोपुवा कोदो रोप्ने उत्तम समय हो । त्यसपछि पनि भदौ नलाग्दै कोदो एक पटक गोड्नुपर्छ । कात्तिकमा कोदो पाक्छ । 

लेखक गोरखापत्रका सहसम्पादक हुनुहुन्छ ।