• २२ जेठ २०८०, सोमबार

नवनिर्वाचित राष्ट्रपतिको राजनीतिक जीवन र व्यक्तित्व

गणतन्त्रको राष्ट्राध्यक्ष पनि बदलिनुपर्छ : नवनिर्वाचित राष्ट्रपति पौडेल

blog

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, फागुन २५ गते। तनहुँ जिल्लाको साबिक मिर्लुङ, बाहुन पोखरामा बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोखबाट जन्मनु भएका रामचन्द्र पौडेल नेपाली जनताले प्राप्त गर्ने सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा उहाँ विजयी हुनुभएको हो। तनहुँको व्यास नगरपालिका–८ स्थायी बसोबास गर्दै आउनु भएका ७८ वर्षीय पौडेल मध्यम वर्गीय किसान परिवारमा जन्मनु भएको हो। हाल उहाँ काठमाडौंको महानगरपालिका वडा नं. ८ बोहोराटार, बालाजुमा बस्दै आउनु भएको छ। 

बाल्यावस्थामा दाजुसँग वनमा गाई–बाख्रा चराउने, घोडा दौडाउने र खोलामा पौडी खेलेर दिन बिताउनु भएका पौडेलले काठको पाटीमा माटोको धुलो राखेर प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको हो। पोखरामा पढ्दै गर्दा विद्यार्थी आन्दोलनमा लाग्नुभएका पौडेल २०१७ सालमा जननिर्वाचित बीपी कोइरालासहितका नेतालाई बन्दी बनाइएपछि उहाँ नेपाली कांग्रेसप्रति आकर्षित हुनुभयो।

उहाँ काठमाडौंमा २२ विद्यालयका प्रतिनिधि बसेर विद्यार्थी युनियन स्वतन्त्र हुनुपर्छ भनेर अगुवाइ गर्ने नेता पनि हुनुहुन्छ। 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त

विद्यार्थी आन्दोलनकै क्रममा नेपाली कांग्रेसका नेताहरू भेट भएपछि नेपाली कांग्रेसमा आवद्ध रहेर उहाँ निन्तर अगाडि बढ्नु भयो। बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता उच्च व्यक्तित्वबाट प्रशिक्षित तथा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका हरेक अन्दोलनमा क्रियाशील रहँदा पौडेलले करिब १४ वर्ष राजनीतिक बन्दी जीवन बिताउनु भएको छ। 

तनहुँबाट संविधान सभासहित छ पटक सांसद निर्वाचित उहाँले मन्त्री, उपप्रधानमन्त्री, सभामुख भएर जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँको कठिन र अविचलित राजनीतिक यात्रालाई सफल बनाउन उहाँकी श्रीमती सविता पौडेलको योगदान ठूलो रहेको छ। 


नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाइ दिनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । साथमा प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।  तस्बिर : प्रदीपराज वन्त

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अविचलित राजनीतिज्ञ पौडेल भ्रष्टाचारमुक्त समाज, निमुखालाई न्याय र विपन्नलाई आय, हाम्रो मूल ध्येय हुनुपर्ने मान्यता राख्नु्हुन्छ। राष्ट्रपति पदमा निर्वाचित हुनुअघि गोरखापत्र अनलाइनका सम्पादक नारद गौतमसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले गणतन्त्रको राष्ट्राध्यक्ष (राष्ट्रपति) पनि बदलिनुपर्ने बताउनु भएको छ। उहाँसँग गरिएको संवादको सम्पादित अंश :

बाल्यावस्था : धुलौटोमा लेखपढ

मेरो बाल्यावस्था अहिलेको जस्तो आधुनिक थिएन। दाइहरूसँग वनमा गाई बाख्रा हेर्न जङ्गलमा जाने र खोलामा पौडी खेलेर समय बित्यो। गाउँघरमा पढाइको कुरा पनि व्यवस्थित थिएन। पढ्दाखेरि पनि हामीले चौतरामा बसेर काठको सानो पार्टीमा धुलो माटो राखेर खरको डाँटले क र ख लेखेर पढ्न थालिएको हो।

बाल्यावस्थाको कुरा गर्दा एक पटक तत्कालीन श्री ५ युवराजाधिराज दीपेन्द्रसँग मेरो कुरा भएको थियो। दीपेन्द्रले चुरोट खान मन लाग्ने तर घरका (तत्कालीन राजा वीरेन्द्र तथा रानी ऐश्वर्य) ले खान नदिने भएपछि बिजुलीको तार जोडेर चुरोट सल्काउँदा झण्डै करेन्ट लागेको घटना सुनाएका थिए। आफ्नो बाल्य जीवनमा दर्शन ढुंगामा झुलो राखेर चकमकले हानेर आगो निकाल्ने अनि सालको पातमा खोची बनाएर चिलिम खाने गर्दथ्यौं।  

म त किसानको छोरो हो। मेरो बुबा राम्रै किसान हुनुहुन्थ्यो। घरमा घोडा पनि थियो। घोडा कुदाउने, खोलामा पौडी खेल्ने, गाई बाख्रा चराउन वन जाने गरेर बाल्यजीवन बित्यो। हामी कटुस बोटुलेर घर ल्याउने गर्दथ्यौं। 

२०४६ सालको आन्दोलन पछि बागलुङ जेलबाट रिहा हुँदै । तस्बिर साभार : धनन्जय कुमार श्रेष्ठ

मेरा बाले कता कताबाट गुरु खोजेर ल्याउनु भयो। चौतरामा बसेर काठको पाटीमा माटोको धुलो राखेर पढ्ने गर्दथ्यौं। अहिलेका जस्ता विद्यालय थिएनन्। त्यहीँबाट अक्षर चिनियो। मैले अलि पढ्न सक्ने भएपछि हितोपदेश, अमरकोष, लघु कौमोदी पढ्न सुरु गरेको हो। 

त्यो भन्दाअघि २००८ सालमा काठमाडौं आएको थिएँ। काठमाडौंमा मैले ए बी सी डी पढ्न सुरु गरेको हुँ। सिएटी क्याट, आरएटी र्‍याट भनेर पढ्न थालेको थिएँ। केही महिना मात्रै काठमाडौंमा बस्न पाएँ। घरमा दाइहरु छुट्टिनु भएपछि म घर फर्कें। दुराडाँडा गएर र अनि आफ्नै घर नजिक दुई तीन ठाउँमा संस्कृत पढ्न थालेँ। 

राजनीतिप्रतिको आकर्षण 

हाम्रो गाउँको माथि पोखरी छाप भन्ने गाउँमा हजुरबाको साथमा जान्थेँ। त्यहाँ नेपाली काँग्रेस र गोरखा परिषद्का नेताहरूले भाषण गरेको सुनेँ, झण्डा झण्डाएर भाषण गरेको सुनेँ। धेरै कुरा नबुझे पनि राजनीतिक संस्कार बस्दै गयो। त्यसपछि पढ्नका लागि पोखरा गएँ। त्यहाँ विद्यार्थी राजनीतिमा लागेँ। त्यहाँको युनियनको सचिव र अर्को साल सभापति भएँ। पोखरामा पढ्दै गर्दा सत्र सालको राजनीतिक घटना भयो। जननिर्वाचित प्रधानमन्त्रीसहित नेताहरूलाई थुना राख्ने कार्य भयो। त्यसले पनि मलाई राजनीतिप्रति आकर्षित गर्‍याे। 

त्यसपछि म पोखराबाट काठमाडौं पढ्न आएँ। म पोखरा, रानी पोखरी र नन्दी रात्रि स्कुलको विद्यार्थी युनियनको अध्यक्ष भएँ। २२ वटा विद्यालयका प्रतिनिधिहरू जे.पी. हाइस्कुलमा हामी जम्मा भयौं। हामीले विद्यार्थी युनियन स्वतन्त्र हुनुपर्छ, कसैको निर्देशनमा चल्ने हुनुहुन्न भन्ने माग थियो। त्यतिबेला विश्वबन्धु निर्देशन मन्त्री थिए। हामीले कसैको निर्देशन बिना नै विद्यार्थी आन्दोलन अगाडि बढाएका हौं। शीर्ष राजनीतिक दलका नेतासँग त मेरो पछि मात्रै भेट भएको हो। 


पूर्व प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग रामचन्द्र पौडेल । फाइल तस्बिर  

१४ वर्ष राजनीतिक बन्दी 

राजनीतिक बन्दी जीवन बिताउँदा धेरै दर्दनाक घटना भएका छन्। हामी नख्खु जेलमा बन्दी जीवन बताइरहेका थियौं, बिहान उज्यालो हुनै लागेको थियो। एक्कासि भाग्यो, भाग्यो, हान ! हान !  भन्ने आवाज आयो। अनि ’ड्याङ ड्याङ गरेको बन्दुक पड्केको आवाज सुनियो। पछि थाहा भयो, त्यो राती लीला, ठगीहरूलाई जेल सार्ने बहानामा गोली हानी मारिएको रहेछ। राजनीतिक बन्दी भनेपछि अरु कैदी बन्दी अलि हच्चिकिन्थेँ। 

पञ्चायती व्यवस्थामा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा कहिले एक वर्ष, कहिले दुई वर्ष त कहिले चार वर्ष गरेर १३ वर्ष र तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा एक वर्ष गरी करिब १४ वर्ष राजनीतिक बन्दीजीवन बिताएँ। 

सुविधासम्पन्न गाउँ 

२०४८ सालमा म कृषि मन्त्री थिएँ। त्यतिबेलाको सरकारले नै त्यतिबेलाको गाउँपालिकालाई बजेट दिनुपर्छ, स्कुल, बाटो, सडक बनाउनुपर्छ भनेर ग्रामीण स्वाबलम्बन कार्यक्रम पनि हामीले सुरु गरेका हौं। कुल १४ हजार गाउँमा प्राथमिक स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय गरेका थियौं। त्यसैगरी कृषि विकासमा जोड दिएको थिएँ। त्यतिबेला तीन वर्षको अवधिमा जति विकास भयो, पछि त्यति विकास हुन सकेन। राजनीतिक अस्थिरताले पनि धेरै बिग्रियो।


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल  र उहाँकी श्रीमती  सविता पौडेल। तस्बिर : रासस 

अबको यात्रा 

नेपालमा मानिसहरूले अझै गणतन्त्रको महत्व बुझ्न सकेको छैनन्। अलिकति राजनीतिक नेतृत्वको कमी कमजोरी पनि छन्। लोकतन्त्रमा नेपाली समाज, राजनीतिक दल कस्तो हुनुपर्छ ? लोकतान्त्रिक नेतृत्व, लोकतान्त्रिक शासन प्रणाली कस्तो हुनुपर्छ भनेर जनतालाई बुझाउने गरेर आफू नमुना बन्नुको सट्टा विगतका राजा–महाराजा तथा तानाशाहकै जस्तो नक्कल गर्ने खालको कुराले पनि लोकतन्त्रप्रति गलत फहमी  भएको छ। गणतन्त्रलाई राम्रोसँग बुझाउन गणतन्त्रको आचारण, शासन व्यवस्था, गणतन्त्रमा कसरी लाभ प्राप्त गर्छन् भनेर अझै बुझाउन बाँकी छ। 

राजतन्त्रकालीन राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा के फरक छ भनेर बुझाउनुपर्छ र देखाउनुपर्ने छ। समाजलाई लोकतान्त्रिककरण हुनुपर्‍याे र दलहरूमा अझै लोकतान्त्रिकीकरण हुनु जरुरी छ।


रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएपछि प्रमाणपत्र वितरण गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया। साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ।तस्बिरः रत्न श्रेष्ठ/रासस

दृश्याङ्कन : मनोजरत्न शाही, प्रस्तुति : सपना थामी, तस्बिर साभार : रामचन्द्र पौडेलको फेसबुक 

शब्दमा जीवन परिचय  


Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।