• ११ मंसिर २०८१, मङ्गलबार

विकासका आधारस्तम्भ

blog

युवा भन्नेबित्तिकै ऊर्जाशील जनशक्तिका रूपमा बुझिन्छ। युवालाई राष्ट्रिय विकासको जिम्मेवारी बहन गर्ने, उन्नति, प्रगति अनि विश्वसनीयता आर्जन र सिर्जना गर्ने वर्ग मानिन्छ। युवा नवीन रचनालाई जन्म दिन सक्छन्। विश्वमै युगीन परिवर्तनको विगुल फुक्न सक्छन्। युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगिरथ तपस्या गर्न सक्छ। विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधारस्तम्भ बन्न सक्छन्।

देश विकासमा युवाको महत्वपूर्ण भूमिका हुन्छ। इतिहासका पाना पल्टाउने हो भने नेपोलियन बोनापार्ट, महात्मा गान्धी, हिटलर, मुसोलिनी, कार्ल माक्र्स, लेनिन, अब्राहम लिङ्कन, नेल्सन मण्डेला सबैले युवावस्थामै चमत्कार देखाएका थिए। सीता, भृकुटी, बुद्ध र अरनिकोले पनि युवावस्थामै सर्वस्व कार्य गरेर सबैलाई अचम्मित बनाएका थिए। इतिहासका पाना पल्टाउँदै जाँदा प्रत्येक देशका सीमारेखा युवावर्गको रगतबाट कोरिएका छन्। व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थमा उनीहरूलाई प्रयोग गर्दा राष्ट्रको विकासमा कायापलट नै हुन गएको अवगतै छ। त्यसैले युवा भनेका राष्ट्रका धरोहर हुन्, स्तम्भ हुन्, अनि सर्वोच्च शक्ति हुन्।

यतिबेला विकासशील राष्ट्रका युवाको तुलनामा नेपाली युवाको अवस्था प्रशंसनीय बन्न सकेको छैन। जसले गर्दा युवा राज्यको मूल प्रवाहीकरणमा आउन सकेका छैनन् भने राज्यबाट पनि यथोचित रूपमा युवालाई प्राथमिकतामा राखेको महसुस हुन सकेको छैन। अधिकांश शिक्षित युवा औपचारिक शिक्षा आर्जनपछि खाडी मुलुकमा आफ्नो श्रम सस्तो मूल्यमा बेच्न बाध्य छन्। हामी युवालाई नै परिवर्तनको संवाहक मान्छौँ, युवालाई नै समृद्धिको मेरुदण्ड मान्छौँ, अनि फेरि तिनै युवाको पसिना बाहिर बेचेपछि कसरी सम्भव हुन्छ समृद्ध देशको परिकल्पना ? नेपालमा केही गर्छु भन्ने युवाशक्ति मनभरि मिठामिठा सपना बुन्दै विदेश पलायन भइरहेका छन्। त्यही दरिलो र भरिलो आधार स्तम्भ बन्ने युवा आज खाडीमा ४५ डिग्रीको तापक्रममा पसिना चुहाउँदै छन्। अकालमै विदेशी भूमिमा ज्यान गुमाएर बन्द काठको बाकसमा फर्किंदै छन्। निकै नै कहालीलाग्दो स्थिति छ। यसरी दिन प्रतिदिन युवा विदेश पलायन हुने क्रम बढ्दा देशमा विकराल स्थिति सिर्जना भएको छ। आजभोलि गाउँघरतिर युवादेखि नै छाडेका छन्। गाउँघरमा कसैको मृत्यु हुँदा लास बोक्ने युवा भेटिन छाडेका छन्। गाउँघर शून्य छन्। यस्तै हो भने त भोलिका दिनमा हाम्रो देश अवला नारीझैँ नहोला भन्न सकिन्न। 

युवा वर्तमानका साझेदार हुन्। युवाको क्षमता अभिवृद्धि र सशक्तीकरणका माध्यमबाट देशको परिवर्तन र विकास सम्भव छ। शिक्षा, स्वास्थ्य, रोजगार युवाको मौलिक अधिकार हो। सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा युवाको सहभागिता सुनिश्चित हुनसके मात्र दिगोपन हुन सक्छ। समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि योगदान दिनुपर्ने युवा बेरोजगारी, अशिक्षा, आर्थिक अभाव, मानसिक तनाव तथा अवसरबाट वञ्चित जस्ता कारणले देश विकासको मूलप्रवाहमा आउन सकिरहेका छैनन्। वर्तमान नीतिले युवालाई विकास तथा क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रम तथा तालिम तय गरेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक सङ्घसंस्थाले पनि युवा लक्षित कार्यक्रम ल्याएका छन्। यस्ता उपयोगी कार्यक्रम तथा तालिम सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आए पनि युवाको सक्षमतालाई ध्यान दिइँदैन। राज्यले विकासका निम्ति योजना बनाई मूलप्रवाहमा युवालाई समेट्नु पर्छ। विकास र विस्तारका लागि समावेशी तवरले योजना कार्यान्वयन गर्न आवश्यक छ। ग्रामीण समुदायमा रहेका सम्भाव्यताको सूची बनाई युवालाई अग्रसर बनाउनुपर्छ। देश विकासको कार्यान्वयनमा युवालाई जोस र होसका साथ कम्मर कसेर अघि बढ्नका लागि अनुकूल वातावरण बनाइदिएमा मुलुकको विकासमा युवाले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छन्। साथै मुलुकको भौतिक विकासमा युवाले अनुकरणीय दृष्टान्त प्रस्तुत गर्न सक्छन्। 

युवा वर्तमानका साझेदारी हुन् भने भविष्यका महानायक हुन। जब विकासको कुरा अगाडि आउँछ तब युवाको क्षमता विस्तारमा विशेष ध्यान दिन जरुरी छ। अहिलेको सरकारसँग नेपाली जनताको ठूलो अपेक्षा र भरोसा छ। युवाको वैदेशिक रोजगारप्रतिको मोहलाई रोक्न सर्वप्रथम त नीति निर्माण तहमा रहेका नेतृत्वकर्ताले युवावर्गलाई समेत नेतृत्व तहमा समेट्ने किसिमले नीति अवलम्बन गर्नुपर्छ। जतिसक्दो स्वदेशी स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै लैजानुपर्छ। युवालाई स्वदेशमै स्वरोजगारको वातावरण मिलाइदिनुपर्छ। सय दिनको रोजगारीभन्दा पनि दीर्घकालीन नीति तथा योजना निर्माण गरी निर्वाह भत्ताको सट्टा स्थायी रूपमा रोजगारीको व्यवस्था मिलाउनुपर्छ। आवश्यक सहयोग सकारात्मक सुझाव तथा प्रोत्साहन दिनुपर्छ। चाहे उद्योगमा होस् चाहे कृषिमा, चाहे व्यापार व्यवसायमा लगानी गर्नलाई अनुदान दिनुपर्छ। महिला सीप तथा विकासमा जोड दिनुपर्छ। साथै युवाको आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणको माध्यमबाट मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण युवाको भूमिका र तिनीहरूमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउन जरुरी छ। उत्पादनशील स्रोतमा युवा वर्गको पहुँचलाई वृद्धि गरी राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवं कार्यान्वयन प्रक्रियामा लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताको माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा स्थापित गर्न आवश्यक छ। 

शिक्षा आर्जनको क्रममा रहेका तथा समाजमा आफ्नो पहिचान स्थापित गर्ने अवस्थामा रहेका युवाको शिक्षा, रोजगारी, वृत्तिलगायतका वैयक्तिक एवं सामाजिक विकासमा सघाउ पुगेको देखिँदैन। युवा परिवर्तनको संवाहक हुन्। त्यसैले देशभित्रै साहित्य, कला, संस्कृति, सङ्गीत, अभिनय र खेलकुदजस्ता सिर्जनशील क्षेत्रमा युवाको संलग्नतालाई प्रोत्साहन गर्न हिच्किचाउनु हुँदैन। युवामा भएका ज्ञान, सीप, दक्षताको उचित व्यवस्थापन गरी युवाको सम्मान गर्नु राज्यको दायित्व हो। अनुशासित, स्वाबलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति भनेको राष्ट्रका लागि महìवपूर्ण आधार हुन्। राष्ट्र निर्माणमा सामाजिक सद्भाव, पूर्वाधार विकास र देशको आर्थिक वृद्धि हो। राष्ट्रिय विकासका लागि बढ्दो अर्थव्यवस्थामा युवाको सहभागिता आवश्यक कुञ्जी हो। युवा देशको सबैभन्दा ठूलो शक्ति हुन्, यसैले राष्ट्रकोे दिगो विकासका लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु-याइ सशक्त बनाउन महत्वपूर्ण प्रयास स्थापना गर्न आवश्यक छ। 

अन्त्यमा, संसार परिवर्तन गर्न चाहनेले सुरुवात आफैँबाट गर्नुपर्छ। तसर्थ, यो राष्ट्रप्रतिको दायित्वलाई मनन् गर्दै समृद्ध नेपाल निर्माणको लागि हरेक युवा अहोरात्र खटिनुपर्छ। अब हरेक युवाले शोषक र सामन्तलाई पाखा लगाउन सक्नुपर्छ। युवामा भाइचारा, विश्वबन्धुत्व, भातृत्व र सहअस्तित्वको भावना सधैँ अङ्कुराउनुपर्छ। 

युवा मस्तिष्कमा आलस्यको रेखा कोरिनु हुँदैन। राष्ट्रसेवामा युवा खम्बाजस्तो दर्बिलो भएर लाग्नुपर्छ । निराशामा होइन आशामा बाँच्नुपर्छ। युवाको काँधमा नै राष्ट्रको भविष्य अडेको हुन्छ। त्यसैले देशविकासमा युवा वर्ग सदैव उन्मुख हुनुपर्छ। साँच्चै भन्नुपर्दा अब यो देशलाई परिवर्तनसँगै सबै क्षेत्रमा युवा नेतृत्वको खाँचो छ। त्यसैले सरकारले पनि अब युवा नेतृत्वलाई जिम्मेवारी सुम्पिनुपर्छ। युवालाई अवसर दिनुपर्छ। राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव एवं स्वाभिमानयुक्त नीति र नेतृत्वबाट युवा वर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सक्नुपर्छ। 

लेखक सामाजिक विषयमा कलम चलाउनुहुन्छ।