• १३ वैशाख २०८१, बिहिबार

हेलचेक्राइँ गर्दा महिला स्वास्थ्यमा समस्या धेरै

blog

काठमाडौं, फागुन २४ गते । कतिपय यस्ता रोग छन् जुन महिलालाई मात्रै लाग्ने गर्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् । 

महिला आफ्नो स्वास्थ्यका विषयमा खुलेर बोल्न नसक्दा र आफ्नो स्वास्थ्यको हेलचेक्राइँ गरी ढिला मात्रै अस्पताल पुग्ने डा.सुवेदी बताउनुहुन्छ ।  

आफ्नो स्वास्थ्यको हेलचेक्राइँ सहरी क्षेत्रका महिलाले भन्दा ग्रामीण क्षेत्रका महिलाले बढी गर्ने डा.सुवेदी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “ग्रामीण क्षेत्रका महिलाले आफ्नो स्वास्थ्य समस्याका विषयमा लाज वा जनचेतनाको कमीले परिवारलाई खुलेर भन्न नसक्दा अन्तिम अवस्थामा जटिल समस्या लिएर अस्पताल पुग्छन् ।” 

डा. सुवेदीका अनुसार धेरै जनाले जनचेतनाका अभावले सानातिना समस्या लुकाउँछन् । कुनै महिलाले परिवारलाई प्राथमिकता दिँदा आफ्नो स्वास्थ्यको व्यवस्था गर्छन् । पछि समस्या बढ्दै गएपछि अन्तिम अवस्थामा परिवारका सदस्यले अस्पतालमा ल्याउने गरेको डा. सुवेदी बताउनुहुन्छ ।  

महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् । यसैगरी, रक्तश्राव बढी भई रक्तअल्पता हुने, गर्भाशय र अण्डाशयको सङ्क्रमणका कारण बच्चा नबस्ने, बच्चा जन्माउँदा विभिन्न जटिल समस्या देखिने, आङ खस्ने, पिसाब चुहिने, मुर्छा पर्नेजस्ता समस्या देखिने डा.सुवेदी बताउनुहुन्छ ।

चिकित्सकका अनुसार, सामान्य समस्याको समयमा उपचार नहुँदा कतिपय महिलाले अकालमै ज्यान गुमाउन बाध्य छन् । समयमा रोग पत्ता लागेमा औषधि उपचार पछि धेरै जस्ता समस्या पूर्णरुपमा निको हुने डा.सुवेदीको भनाइ छ ।  

जति छिटो उपचारको दायरामा आयो समस्याको समाधान त्यति नै छिटो हुने हुँदा महिला आफ्नो रोग नलुकाउन डा. सुवेदीको आग्रह छ । जनचेतनाको अभावले वा अन्य कारणले अन्तिम अवस्थामा अस्पतालमा पुग्दा पैसा र ज्यान दुवै सकिने भन्दै महिलाको स्वास्थ्यका विषयमा खुलेर बोल्न डा.सुवेदीको सुझाव छ । 

महिलालाई देखिने समस्या

सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् । यसैगरी, रक्तश्राव बढी भई रक्तअल्पता हुने, गर्भाशय र अण्डाशयको सङ्क्रमणका कारण बच्चा नबस्ने, बच्चा जन्माउँदा विभिन्न जटिल समस्या देखिने, आङ खस्ने, पिसाब चुहिने, मुर्छा पर्नेजस्ता समस्या देखिने डा.सुवेदी बताउनुहुन्छ ।

चिकित्सकका अनुसार गर्भपतन, कडा प्रसूति बेथा लाग्नु, गर्भावस्थामा सङ्क्रमण हुनेजस्ता समस्या महिलामा देखिन्छन् । भुण अवस्थादेखि नै पाठेघरको विकास नहुने पनि महिलामा देखिने अर्को प्रमुख समस्या हो । परिवार नियोजनका साधनको प्रयोग नगर्दा कतिपय महिला असुरक्षित गर्भपतन गर्न बाध्य छन् जसले गर्दा भविष्यमा जटिल स्वास्थ्य समस्या निम्तिने गर्दछन् । 

त्यसैगरी, सानै उमेरमा विवाह गर्दा र धेरै बच्चा जन्माउँदा पाठेघर तल झर्ने, बच्चा जन्मिएपछि साल राम्रोसँग नछुटिने, पाठेघर तल खस्ने समस्या देखिने गर्छ । यस्ता समस्या देखिएमा हेलचेक्राइँ गरेमा महिलाको मृत्युसमेत हुने चिकित्सक बताउँछन् । पौष्टिक आहारको कमी भएका महिलामा कुपोषण हुने, रक्त अल्पता हुने समस्या देखिने डा. सुवेदीको भनाइ छ । 

पछिल्लो समय युवापुस्ताले गर्भपतनका औषधिलाई परिवार नियोजनको साधनका रूपमा लिने क्रम बढ्दो छ, यसले पनि महिलामा समस्या देखिन थालेको डा. सुवेदी बताउनु हुन्छ । 

कस्ता महिलामा समस्या देखिन्छ 

उमेर समूह २० देखि ४५ वर्षसम्ममा महिलाले धेरै यस्ता समस्या लिएर आउने गर्दछन् । शारीरिक सम्पर्कमा सक्रिय महिलामा यस्तो समस्या बढी देखिने चिकित्सक बताउँछन् । अविवाहित ४५ वर्षभन्दा माथि उमेरका महिलामा यस्तो समस्या कम देखिने चिकित्सकको भनाइ छ । एक वा एक भन्दा बढीसँग यौन सम्बन्ध राख्ने, धूम्रपान तथा मद्यपान गर्ने, धेरै सन्तान जन्माउने महिलामा पाठेघरको मुखको घाउ हुने गर्छ । डा.सुवेदीका अनुसार २५ देखि ५० वर्ष उमेर समूहका महिलाको शरीरमा आउने हर्मोनल परिवर्तनका कारण पाठेघरमा मासु पलाउने गर्छ । 

त्यस्तै,शारीरिक सरसफाइमा ध्यान नदिँदा, यौन अङ्ग साबुनले डेटोल पानीले सफा गर्ने गर्दा पनि यौन अङ्गमा सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । सुत्केरी अवस्थामा र महिनावारी सुकिसकेपछि महिलाहरूमा उदासीपन, चिन्ताको समस्या देखिने चिकित्सक बत्ताउँछन्, यसलाई हेलचेक्राइँ गर्दा आत्महत्यासम्मको अवस्था सिर्जना हुने गर्छ । 

समस्या देखिनुका कारण 

आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग, महिनावारी सार्ने औषधिको अत्यधिक प्रयोगले पनि महिनावारी अनियमित हुन सक्छ । त्यसका अलाव थाइरोइडको समस्याले पनि महिनावारीको चक्र बिगार्छ । पाठेघरमा ट्युमर पलाउँदा पनि महिनावारी नियमित नहुन सक्छ । महिनावारी सुक्ने बेलामा पनि महिनावारी अनियमित हुने गर्छ । 

पाठेघरमा, पिसाब, अण्डाशयको सङ्क्रमण भयो भने तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिने डा.सुवेदी बताउनुहुन्छ । यसका साथै असुरक्षित यौन सम्पर्क, गर्भपर्तनले पनि यस्तो समस्या निम्तने डा.सुवेदीको भनाइ छ ।  

त्यसैगरी, पाठेघरको मुखमा ह्युमन पापिलोमा भाइरस सङ्क्रमणको कारणलेले गर्दा घाउ हुने गर्छ । चिकित्सकका अनुसार भाइरस सङ्क्रमण गन्हाउने र फोहोर पानी बग्ने, यौनाङ्ग चिलाउने, महिनावारीको बीच–बीचमा पनि रगत देखाउनुपर्ने, यौन सम्पर्कपछि पनि रगत देखिनेजस्ता लक्षण देखिन सुवेदी बताउनुहुन्छ ।  

डा.सुवेदीका अनुसार महिलामा हुने आम समस्यामध्ये एक हो पिसाब चुहिने समस्या । डा.सुवेदीका अनुसार नियमित रूपमा पिसाब चुहिने गर्छ, कसैलाई  खोक्दा, हाँच्छ्युँ गर्दा पिसाब चुहिने गर्छ भने कसैलाई पिसाब लाग्ने बित्तिकै गर्नुपर्ने अथवा रोक्न नसकिने र पटक पटक पिसाबको सङ्क्रमण हुने गर्छ ।  

समस्याबाट बच्ने उपाय

महिलामा देखिने धेरै समस्या व्यक्तिगत सरसफाइमा ध्यान दिएमा धेरैजस्ता महिलामा देखिने समस्याबाट बच्न सकिने डा.सुवेदी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “शारीरिक  सरसफाइमा ध्यान दिने, असुरक्षित गर्भपतन नगराउने, जथाभाबी औषधिको प्रयोग नगर्ने, महिनावारीको बेलामा सरसफाइमा ध्यान दिने, बेलाबेलामा स्वास्थ्यको जाँच गर्ने, असुरक्षित शारीरिक सम्बन्ध नराख्ने, यौन अङ्ग सफा पानीले सफा गर्दा धेरै समस्याबाट बच्न सकिन्छ ।” 

त्यसका साथै नियमित स्वास्थ्य जाँच गर्ने, यदि कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन डा.सुवेदीको सुझाव छ । पाठेघरको मुखको क्यान्सरबाट बच्न यो विरुद्धको एचपिभीको खोप लगाउन डा. सुवेदीको सुझाव छ । 

यो पनि पढ्नुहोस

नारी जागरणको गौरवपूर्ण इतिहास

प्रदेश सरकारमा महिला सहभागिता: पन्छाइँदै छ समता

समान सहभागितामा सबैको जोड हुनुपर्छ: ओली

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।