नारी जागरणको यात्रामा राष्ट्रिय र अन्तर्राष्ट्रिय इतिहास गौरवमय छ । समय समयका सरकार र सामाजिक संस्थाका प्रयासका कारण विकासका क्रममा आज धेरै सुधार पनि भएका छन् । यो दिन विगत र वर्तमानलाई पुनरवलोकन गर्ने दिन पनि हो । नेपाली महिलाले नालापानीको युद्धमा अङ्ग्रेजी तोप र गोला, बारुदको बदला खुकुरी र ढुङ्गाको भरमा लडी वीरताको प्रदर्शन गरेका थिए । समय समयमा महिलाले आ–आफ्ना क्षेत्रबाट नारी जागरणमा महìवपूर्ण योगदान दिएको कुरा इतिहासमा छ । योगमायादेवीले कविताको माध्यमबाट र जलसमाधिको माध्यमबाट मेलवादेवीले गायनको क्षेत्रबाट, तुलजा शर्माले गान्धी आश्रममा संलग्न भएर र दुर्गादेवीले शिक्षण पेसाको माध्यमबाट नारी जागरणमा मद्दत पु-याएका थिए ।
यसपछि वि.सं. १९९७ मा प्रजातन्त्र स्थापनाका लागि लड्ने सेनानीमाथिको दमन र हत्याले नेपालीहरूलाई सचेत बनायो । सन् १९४५ (वि.सं. २००२) मा चन्द्रकान्ता मल्लले कन्या स्कुलको स्थापना गरी महिला–जागरणमा ठोस योगदान पु-याउनु भएको थियो । सन् १९४८ (२००४ वि.सं.) मा मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला–स्वतन्त्रता र समानता प्राप्त गर्ने उद्देश्यले नेपाल महिला सङ्घको स्थापना भयो । सोही वर्षमा नेपालमा नगरपालिका खडा भएको थियो । तर नगरपालिकामा महिला उम्मेदवारी खडा गर्न नपाउने र भोट खसाल्न पनि नपाउने कानुनी प्रावधान थियो । त्यसको विरोधमा सन् १९४८ मा नै नेपालमा मङ्गलादेवी, सहाना प्रधानलगायत महिला नेत्रीहरूले नगरपालिकामा भोट दिने अधिकारका लागि तत्कालीन प्रधानमन्त्री पद्म शमशेरसमक्ष आफ्नो माग पेस गरी आफ्नो माग पूरा गर्न सफल भएका थिए ।
यसरी नेपाली महिलाले भोट हाल्ने अधिकार प्राप्त गरेको श्रेय मङ्गलादेवी र साहना प्रधानलगायत महिलालाई नै जान्छ । वि.सं. २००८ मा नेपाल महिला सङ्घसंँग वैचारिक मतभिन्नता भएपछि स्व. कामाक्षादेवीको अध्यक्षतामा महिला स्वतन्त्रता र समानता प्राप्त गर्ने उद्देश्यले अखिल नेपाल महिला सङ्घ स्थापना भएको हो ।
पञ्चायतकालमा पनि महिला सङ्गठन, आमा मिलन केन्द्र र व्यावसायिक महिला क्लब स्थापना भएका थिए । सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति, विकास र समानताको उद्देश्यले ‘महिला दशक’ को रूपमा मनाइएपश्चात् महिला विकासका लागि सरकारी र गैरसरकारी स्तरमा सङ्घ, संस्थाहरू स्थापना भए । हाम्रो देशमा महिलाको स्थितिबारे अध्ययन गरियो र समाजको ध्यानाकर्षण गराइयो ।
विश्वभरका महिला विभिन्न रूपमा नारी दिवस मनाउँछन् । विश्वमा महिलाद्वारा आफ्नो हक, हित र अधिकार प्राप्तिका लागि सर्वप्रथम अमेरिकाको न्यूयोर्क सहरमा कपडा मिलका महिला मजदुरले सन् १९०८ मा सडकमा उत्रिएर विरोध गरे । यो विद्रोह गरिएको दिन मार्च ८ दिन थियो । यसको ठीक दुई वर्षपछि
सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा ‘अन्तर्राष्ट्रिय महिला सम्मेलन’ आयोजना गरियो । सत्रवटा देशका करिब सय जना महिलाले भाग लिएको यही सम्मेलनले मार्च ८ लाई कामदार महिलाको दिवसको रूपमा मनाउने निर्णय ग-यो । जसमा विश्व शान्ति, आमा र बालबालिकाको सुरक्षा, काम गर्ने समय दिनको आठ घण्टा हुनुपर्ने आदि विषयका साथै महिलाले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा भोग्नु परेका समस्याबारे छलफल भए । नारी–दिवस, पहिलोपल्ट सन् १९११ मा जर्मन, अस्ट्रिया, डेनमार्क, स्विट्जरल्यान्ड र अमेरिका पाँच देशमा मनाइयो । यो दिनलाई जुनसुकै सरकारी, गैर–सरकारी महिलासँग सम्बन्धित सङ्घ संस्थाद्वारा महिलालाई गरिने भेदभाव र शोषणविरुद्ध समानताका लागि आवाज उठाउने प्रेरणाको रूपमा लिई विभिन्न कार्यक्रमसहित मनाउने परम्परा छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकका निम्न मध्यमवर्गीय र गरिब समुदायका महिलाले दिनको १२ घण्टादेखि १६ घण्टासम्म काम गर्नुपर्ने बाध्यता छ । संसारका श्रमिकमध्ये ५० प्रतिशतभन्दा बढी महिला छन् र संसारकै आधाभन्दा बढी खाद्यान्न मागको पूर्ति महिलाले नै गर्छन् । यो दिवस विश्वभर मनाइन्छ । हामीले दिवस मनाउँदा आममहिलाले अनुभूति गर्न सकेका छैनन् । यो दिनमा आउने भाषण, नारा र बहसले लक्षित वर्गसम्म पुग्न सकेको छैन । तसर्थ पनि आममहिलालाई यस दिवसले छुन सकेको छैन ।
विभिन्न रूपमा महिलाले हिंसा भोगिरहेका छन् । आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारका सिकार बालिका र महिला अझै भइरहेका छन् । महिला जनसङ्ख्या मानसिक तनावका कारणले पनि अस्वस्थ छन् । शारीरिक अस्वस्थताबाट रोग लाग्नु मात्र होइन, बलात्कार, त्रास, दबाब, बेचबिखनजस्ता सामाजिक विसङ्गतिले उनीहरूको जीवनमा प्रत्यक्ष असर पारेको छ ।
हाम्रो परिवेशमा यस दिवसले आमग्रामीण महिलालाई अझ पनि आकर्षण गर्न भने सकेको छैन । सनातन हिन्दु संस्कारको तीजले जसरी आममहिलालाई प्रभावित पारेको छ स्वतः उनीहरू संलग्न भएर मनाउँछन् यसरी नारी दिवस मनाउँदैनन् किनभने यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाउन थालेको हो । यसको महìव भनेको महिलाको उन्नतिको प्रगतिको समीक्षा गर्ने दिन हो ।
महिला कामदारको ठूलो सङ्ख्या श्रममूलक र सानो पदमा कार्यरत हुनु, निर्णायक तहमा औैँलाले गन्न सक्ने मात्र महिला पुग्नु, ठूलो पदमा पुगेका महिलाहरूले पनि चाहेअनुरूप महिला हकहितका पक्षमा कदम उठाउन नसक्नु र अत्यावश्यक अवसरबाट वञ्चित हुनुले विकासोन्मुख मुलुकका महिलाहरूको वास्तविक स्थिति बुझाउँछ ।
तसर्थ नारी र पुरुषबीच रहिआएका लिङ्गभेदका आधारमा गरिने आधारमा गरिने भेदभाव, शोषण, दमन हटाउन र सह–अस्तित्वको बोध समाजमा गराउन यस क्षेत्रमा कार्यरत मात्र नभई आ–आफ्ना तहबाट बालिका र महिलाप्रति इमानदार हुनु मात्र पनि महत्वपूर्ण योगदान हुनेछ ।
लेखक नारी जागरण र सचेतनाका पक्षमा कलम चलाउनुहुन्छ ।