सामाजिक उत्तरदायित्व वहन गर्ने गरी पत्रकारले अँगालेको पेसा नै पत्रकारिता हो । यसले आमसञ्चारका माध्यममा लेखेर, बोलेर, दृश्य वा डिजिटल स्वरूपबाट नागरिकलाई सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणा दिने उद्देश्य राख्छ । प्रविधिको विकाससँगै नेपाली पत्रकारिताले पनि आज ठुलो ‘छलाङ’ मारिसकेको छ । कुनै समय परम्परागत सञ्चार माध्यममा कटुवाल प्रथा, हुलाक आदि भन्ने बुझिन्थ्यो भने आज अखबार पनि यही समूहमा दर्ज भइरहेको छ । अचेल अनलाइन पत्रकारिताको तीव्र प्रभाव बढ्ने मात्र नभई कृत्रिम बुद्धिमता (एआई) ले पत्रकारितामा समेत ‘नयाँ क्रान्ति’ नै ल्याइसकेको छ । मूलतः प्रसारण र अनलाइनमार्फत सूचनाको तीव्रता, एआई जस्ता नवीन प्रविधिको पहुँच र नागरिक सहभागिताको अभिवृद्धिले पत्रकारिताको दायरा पनि विस्तार भइरहेको छ । यसैको परिणाममा आज ‘मोबाइल पत्रकारिता’ हुँदै ‘नागरिक पत्रकारिता’ को नयाँ नयाँ आयाम विस्तार भइरहेको छ । जति विस्तारित रूपमा समृद्ध पत्रकारिता अगाडि बढिरहेको छ त्यति नै पेसागत चुनौतीमा भाषिक अनुशासनको प्रश्न पनि तेर्सिएर आइरहेको छ ।
भाषा प्रयोग गर्दा पालना गरिनुपर्ने नियम, मर्यादा र शुद्धताको अभ्यास नै भाषिक अनुशासन हो । यसले शुद्ध, शिष्ट र व्याकरणसम्मत भाषाको अपेक्षा गर्छ । अन्य भाषाको तुलनामा वर्णविन्यासको सन्दर्भले समेत नेपाली भाषा अझ बढी विशिष्ट प्रकृतिको छ । देवनागरी लिपिमा लेखिने यो भाषा जस्तो स्वरूपमा लेखिन्छ, सधैँ त्यस्तै तरिकाबाट उच्चारण पनि हुँदैन । यसैले सञ्चार माध्यममा नेपाली भाषा लेख्दा र बोल्दा शुद्ध, स्पष्ट, व्याकरणसम्मत र प्रसङ्ग मुताविक मिलाउन अलि बढी ध्यान दिनुपर्ने हुन्छ । भाषिक अनुशासनको कसीमा मात्रै नेपाली भाषाले पनि सही अर्थ सम्प्रेषण गर्न सक्छ र सम्प्रेषित सन्देश स्पष्ट, सटिक र प्रभावकारी बन्छ । अनुशासित भाषा प्रयोगमा कमी आउँदा धेरै ठाउँमा द्वेष, हिंसा वा विखण्डनको सम्भावना पनि बढेर जान्छ । भाषिक विचलन भयो भने अर्थको अनर्थ हुन सक्छ । निरन्तर भाषिक विचलन र अनुशासनहीनता देखिए सञ्चार माध्यमप्रति जनविश्वास घट्ने खतरा बढ्छ । गलत भाषा प्रयोगले भ्रम पैदा गराउन सक्ने भएकाले लेखनमा अनुशासन हुनु जरुरी छ । पत्रकारिता आफैँमा सूचना सम्प्रेषणको एउटा सशक्त माध्यम भएकाले यहाँ लेखिएका वा बोलिएका प्रत्येक शब्दले पाठक वा दर्शकमा सिधै प्रभाव पार्ने हुन्छ । यसर्थ, शब्द शब्द ख्याल गरेर भाषिक अस्पष्टता वा त्रुटिपूर्ण अभिव्यक्तिबाट बच्नुको कुनै विकल्प रहन्न ।
विगतमा नेपाली पत्रकारिता लेखन जति अनुशासित मानिन्थ्यो त्यति अहिलेको समयमा विशेषतः डिजिटल पत्रकारिताको प्रभावले गर्दा पनि हुन सकेको पाइँदैन । डिजिटल प्रविधिको विस्तारसँगै पत्रकारितामा विविध किसिमका भाषिक विचलन देखा परिरहेका छन् । यिनमा विषयवस्तुबारेको कमजोर जानकारीभन्दा पनि शब्द चयनमा समस्या, अशुद्ध वाक्य संरचना, सामाजिक रूपमा अपाच्य अभिव्यक्ति, लेख्य चिह्न प्रयोगमा लापर्बाही जस्ता प्रमुख भाषिक समस्या पक्ष अझ मौलाइरहेको पाइन्छ । यथार्थ समाचारभन्दा पनि अतिरञ्जित र भ्रामक शीर्षक राख्ने प्रवृत्तिमा कमी आएको छैन । वाक्य गठनमा व्याकरणिक सन्दर्भबाट धेरै गल्ती भेटिने गरेको छ । ह्रस्व, दीर्घ, हलन्त, अजन्त, पदयोग, पदवियोग, पञ्चमवर्णको नियम, शिरविन्दु र चन्द्रविन्दुको प्रयोग, ‘श, ष, स’ को प्रयोग अनि विभिन्न विरामचिह्न वा सङ्केतको प्रयोगमा असावधानी देखिन्छ । ‘यो खास नेपाली विषय होइन, कुरा बुझ्ने गरी लेख्दा भइहाल्छ नि’ भन्ने जस्ता अभिव्यक्तिले पनि कैयौँ पत्रकारबाटै समग्र पत्रकारिता जगत्मा भाषिक शुद्धताको महत्व कम देखाउने दुष्कर्म हुँदै छ । कतिपय सन्दर्भमा बौद्धिक घमण्ड देखाउने गरी समाचारमै पाण्डित्य प्रदर्शन गरेर क्लिष्ट र दुर्बोध्य बनाउने गरिएको पाइन्छ तर आमसर्वसाधारणले सहजै बुझ्न सक्ने गरी सरल तरिकाबाट खुराक पस्कन सकियो भने मात्रै यथार्थमा भाषिक अनुशासन कायम भएको ठहर्छ ।
नेपाली पत्रकारितामा भाषिक अनुशासनभित्र ‘आदर’ को सन्दर्भ पनि पेचिलो बनेर आउँछ । केही सरकारी मिडियाबाहेक सबै जसो मिडियाका पत्रकारले समाचारमा ‘तिमी’ अर्थात् मध्यम आदरको प्रयोग गरिरहेको पाइन्छ । वास्तवमा नेपाली आदर व्यवस्था अनुसार ‘तपार्इं’ सूचक हुने उच्च आदरको प्रयोग अत्यन्त कम मिडियाले गर्ने गरेका छन् । अङ्ग्रेजी भाषामा सबैलाई ‘यु’ सर्वनामबाट मात्रै आदर प्रकट गरिने हुँदा सोको प्रभाव नेपाली पत्रकारितामा पनि ‘तिमी’ को रूपमा आएको देखिन्छ । यसले मिडियाजगत्मा ज्येष्ठ नागरिकसँगै उच्च पद र ओहदाका व्यक्तिलाई पनि अपमान गरेको ठहर्छ । यस्तै सामाजिक सम्बन्ध र नैतिकतामा समेत ठेस पुगेको आभास हुन्छ । यसैले बिनाहिचकिचाहट सबै मिडियाका समाचारमा नेपाली मौलिक पहिचानमा आधारित सम्मानसूचक ‘तपाईं’ प्रयोग गर्न ढिला गर्नु हुँदैन ।
भाषिक अनुशासन नहुनुमा विभिन्न पक्ष जिम्मेवार मानिन्छन् । यसमा सबैभन्दा पहिलो पक्ष भनेको समाचार लेखक वा संवाददातामा भाषिक ज्ञानको कमी हुनु हो । उसले गहन अध्ययन गरेर विषयवस्तु स्पष्टसँग लेख्ने हो भने धेरै जसो भाषिक समस्या त्यहीँ समाधान हुन्छ । कैयौँ समाचार पढ्दा वा सुन्दा पत्रकार स्वयम् ‘प्रहरी प्रशासन’ र ‘न्यायाशीध’ को भूमिकामा रहेको भान हुन्छ । विशेष गरी फौजदारी कसुरसँग सम्बन्धित धेरै जसो विषयमा पत्रकार आफैँ ‘न्यायाधीश’ हुने गरी समाचार सम्प्रेषण भइरहेको देखिन्छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत पर्ने विभिन्न कसुरजन्य गतिविधिसँग सम्बन्धित समाचारमा धेरै जसो पत्रकारले आरोपित व्यक्तिलाई ‘अपराधी’ भन्ने गरेको पाइन्छ । यहाँ शब्दावली चयन गर्दा ‘कसुर गरेको आरोप’ भन्नुको सट्टा एकै पटक दोषी ठहर भएजत्तिकै ‘अपराधी’ नै भन्ने चलनले प्रश्रय पाइरहेको छ । यस्तै ‘चोरीको आरोप’ लाई ‘चोर’ र ‘ठगीको आरोपित व्यक्ति’ लाई ‘ठग’ नै भन्ने गरिएको छ । यता ‘पीडित भनिएको व्यक्ति’ लाई सिधै ‘पीडित’ भन्ने प्रचलन छ । यसर्थ, पत्रकारलाई पर्याप्त कानुनी विषयबारे जानकारी नहुँदा पनि भाषिक अनुशासनमाथि गम्भीर प्रश्न चिह्न खडा भइरहेको देखिन्छ ।
पत्रकारितामा भाषिक त्रुटि हुने अर्को कारण भनेको सम्पादन पक्षको कमजोरी हो । कैयौँ स्थानीय मिडियामा एउटै सम्पादकले सम्पादकीय टोलीको भूमिका गर्नुपर्ने बाध्यता छ । विषयवस्तुको ज्ञान भएर पनि व्याकरणसहित सरोकारित भाषाको पर्याप्त ज्ञान नहुँदा भाषिक समस्या बढेको पाइन्छ । भाषिक सम्पादनबिना हतार हतारमा सामग्री सार्वजनिक गरिने परिपाटीले पनि धेरै गल्ती हुने गरेको छ । अहिले पनि मोफसलका धेरै जसो मिडियामा भाषा सम्पादक नियुक्त नहुँदाको परिणामबाट झनै त्रुटि बढेको भान हुन्छ । यसैले सकेसम्म सम्बन्धित विषयवस्तुसमेत जानेको भाषा सम्पादक चयन गर्न सकियो भने बढीभन्दा बढी भाषिक त्रुटि निराकरण गर्न सकिन्छ ।
वस्तुतः पत्रकारिताको भाषा सङ्क्षिप्त, स्पष्ट र अर्थपूर्ण हुनु पर्छ । साहित्यिक लेखनमा लामो व्याख्या वर्णन पाच्य भए पनि पत्रकारिता एउटै वाक्यमा धेरै कुरा भन्न सक्ने कलामा आधारित हुन्छ । यसैले त पत्रकारितालाई ‘हतारको साहित्य’ पनि भन्ने गरिन्छ । कसैले आधा घण्टा लगाएर बोलेको कुरा पत्रकारले एक–दुई मिनेटमै पढ्न सकिने रूपमा प्रस्तुत गर्नका लागि पत्रकार स्वयम् बढीभन्दा बढी अध्ययनशील बन्नुको विकल्प रहन्न । नियमित भाषिक शुद्धतासम्बन्धी तालिम नलिएका र अनुभव नभएका कैयौँ नयाँ पुस्ताका पत्रकारमा पनि भाषिक दक्षता विकास हुन सकिरहेको छैन । उनीहरूले लेखेका वा वाचन गरेका समाचारमा अझ बढी भाषिक समस्या पाइने हुँदा सोको निराकरणका लागि उपयुक्त भाषाप्रशिक्षण कक्षा सञ्चालन गर्न सकिन्छ ।
अहिले त सामाजिक सञ्जालको प्रभावबाट पनि भाषिक अनुशासन भङ्ग भइरहेको छ । सामाजिक सञ्जालमा छोटो, तीव्र र आक्रामक स्वरूपबाट सूचना प्रवाह गर्ने प्रवृत्तिका कारण पनि विषयवस्तुको सम्पादन वा भाषिक शुद्धतामा खासै सचेत हुन नभ्याएको देखिन्छ । सामाजिक सञ्जाल र पत्रकारिताको भिन्नता बुझाउने अभ्यास नहुँदा पनि सामाजिक सञ्जालबाट जति चाँडो सूचना प्रवाह गरियो त्यति नै ‘चर्चित’ पत्रकार भइयो भन्ने गलत भाष्य सिर्जना भइरहेको छ । पत्रकारितामा सामाजिक सञ्जालको भाषा हुबहु प्रयोग गर्नु उपयुक्त हुँदैन भन्ने चेतना आमपत्रकारमा पनि विकास हुन सकिरहेको छैन । यसर्थ ‘सञ्चारकर्मी’ को तुलनामा आज सच्चा ‘पत्रकार’ को सङ्ख्या घट्दो क्रममा देखिन्छ । पत्रकारिताको मूल्यमान्यता र आचारसंहिता पालना नगरी केवल सञ्चारकर्म मात्र पूरा गरिरहेको सन्दर्भमा ‘सञ्चारकर्मी’ को सङ्ख्या बढिरहेको पाउँछौँ । सामाजिक सञ्चारमार्फत सञ्चारकर्मीले जति बढी भाषिक अनुशासन उल्लङ्घन गरेको पाइन्छ, त्यति नै बढी त्यो पत्रकारितामा भएको भाषिक गल्ती हो भनेर बुझ्ने गरिएको छ ।
निष्कर्षतः पत्रकारिता भनेको सूचना सम्प्रेषणको एउटा माध्यम मात्र नभई सामाजिक चेतना निर्माण गर्ने सशक्त संयन्त्र पनि हो । यस्तो संयन्त्र भाषिक दृष्टिकोणबाट पनि अनुशासित, स्पष्ट र जिम्मेवार बन्नु पर्छ । भाषाको शिष्ट र मर्यादित प्रयोग नै पत्रकारिताको आत्मा हो । यसैले अहिलेको नेपाली पत्रकारिताले भाषिक अनुशासन कायम गरेर मात्रै आफ्नो पेसागत गरिमा र प्रतिष्ठालाई उँचो बनाइराख्न सक्छ ।