• १२ वैशाख २०८१, बुधबार

महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

blog

काठमाडौँ,  फागुन २४ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्नुभएको छ ।

“सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो”, सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गर्नुभयो । कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उहाँले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरूक गराउन दिवसले सहयोग पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनः स्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गर्नुभएको उल्लेख गर्दै उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्बद्र्धनका लागि महिला दिदी बहिनीको अझ महत्त्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उहाँले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  रासस