• १२ वैशाख २०८३, शनिबार

बागलुङमा ८६ पदमार्ग निर्माणका योजना कार्यान्वयनमा

blog

हटिया बजारदेखि गलकोटको कोटघर जोड्ने पदमार्ग । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १२ गते । पर्यटकीय संभावना बोकेका क्षेत्रलाई जोड्न र सहज यात्राका लागि जिल्लामा ८६ पदमार्ग निर्माणका योजना कार्यान्वयनमा गएका छन् । केही योजना विवादका कारण सम्झौता हुन सकेका छैनन् ।

योजना कार्यान्वयन गरिरहेको एकीकृत सेवा कार्यालय बागलुङका अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा ८६ योजना सम्झौता भएर कार्यान्वयनमा गई सकेका छन् । आठ योजनाको भने स्थानीयको विवादका रकाण सम्झौता हुन बाँकी रहेको कार्यालयका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिनुभयो । 

५ देखि १० लाख लागतको बालप्रभा आधारभूत विद्यालयदेखि जलजला, गलकोट नगरपालिका–५, सिमलबोट होमस्टे जोड्ने पदमार्गसहित २१ योजना सम्पन्न भइसकेका छन् । ‘‘सबै योजनामा ढुङ्गाका सिंढी लगाएर पदमार्ग बनाइएको छ, विश्रामस्थल पनि काठ र ढुङ्गाबाट मौलिक शैलीमा बनेका छन्’’ शर्माले भन्नुभयो ।

मौलिक कला र श्रम प्रयोग गरेर पदमार्ग निर्माण गर्दा पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने विश्वासले यस्ता योजना सञ्चालन गरिएको कार्यालयका प्रमुख शर्माको भनाइ छ । स्थानीय स्रोतसाधनले घरबास, धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धन हुने भएकोले सोही प्रकृतिका योजना समावेश गरिएको शर्माले बताउनुभयो । 

अधिकांश स्थानमा समुदायसँगको साझेदारीमा काम भएका छन् । समुदाय परिचालन गर्न नसकिएका ठाउँमा सिमेन्ट प्रयोग भएका पदमार्ग बनेका छन् । ९४ योजनामध्ये ८ वटा योजनाको भने आन्तरिक विवादका कारण सम्झौता हुन सकेका छैनन् । 

ढोरपाटन उपत्यकामा निर्माण गर्न लागिएको एक योजना स्थानीय उपभोक्ता समिति गठनमा ढिलाइले सम्झौता हुन सकेको छैन भने काठे खोला गाउँपालिका-६, किम्बोटदेखि वडा नं. ४ तंग्राम जोड्ने ७ लाख रुपियाँका योजना स्थानीयको विवादले सम्झौता नभएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभो ।  

‘‘उपभोक्ता समिति सम्पर्कमा नआउँदा बागलुङ नगरपालिका वडा नं. ५ मा बन्ने बिपी स्मृति पार्क, काठे खोला गाउँपालिका वडा नं. ३ को सम्सासघा र थाम किलाडाँडा पदमार्गको पनि सम्झौता हुन सकेको छैन’’ शर्माले भन्नुभयो । 

कार्यालयले गतवर्ष ५२ वटा पदमार्ग बनाएको थियो । ती पदमार्गले ग्रामीण क्षेत्रका घरबास जोड्ने र पर्यटकीय गन्तव्यमा पुग्न पैदलयात्रीलाई सहज हुनुका साथै मोटरबाटो बनाउनुपर्ने खर्च जोगिएको, बाढी पहिरो नियन्त्रणमा सहजीकरण भएको गलकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पवन हमालले बताउनुभयो ।