सन्तोष सुवेदी
कास्की, वैशाख १२ गते । कास्की प्रहरीको पछिल्लो स्विप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागु औषध बिक्री तथा सेवन, मदिरापान गरेर समाजमा अशान्ति फैलाउने, गुण्डागर्दीको अभियोगमा उनीहरूलाई पक्राउ गरको हो ।
स्विप अप्रेसन यसअघि बिहीबार सञ्चालन भएको थियो । त्यसदिन जिल्लाका विभिन्न स्थानबाट १२२ जनालाई पक्राउ गरिएको थियो ।
बिहीबार पक्राउ परेका एक सय २२ मध्ये आठ जनालाई लागु औषधसम्बन्धी कसूर तथा २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । १५ जनालाई जरिवाना गरी छाडिएको, ७० जनालाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको र दुई जनालाई ‘होल्ड’मा राखिएको छ ।
कास्की प्रहरीले एक सय २२ जना पक्राउ पछि स्विप अप्रेसनलाई निरन्तरता दिइरहेको छ । जस अन्तर्गत पछि कास्की जिल्लाका विभिन्न वडा एरियाहरूमा लागु औषध बिक्री वितरण गर्ने, सेवन गर्ने, टोले गुण्डा, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिड्ने, तथा रातिको समयमा शङ्कास्पद रूपमा हिँडडुल गर्ने थप ६१ जना मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया अगाडि बढाइएको छ ।
पक्राउ पर्नेहरूमा पोखरा मोहरियाटोल, गैह्रापाटनबाट १४ जना, लेकसाइड, ड्यामसाइडबाट २४ जना, बगाले टोल, सभागृह चोक, शिवालय चोक, पृथ्वीचोकबाट आठ जना, काँहुडाँडा, काँहुखोला, रामबजार एरियाबाट दुई जना, सराङकोट, लामागाँउ, भलाम एरियाबाट चार जना, सुन्दरबजार, रिठ्ठेपानी, सैनिक बस्ती, खुदी खोला, साहुको खोर एरियाबाट नौ जना रहेका छन् ।