• ६ जेठ २०८१, आइतबार

रङको पर्व होली खेलौँ सुरक्षित

blog

काठमाडौँ, फागुन २१ गते । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने फागुपूर्णिमामा रङसँग खेलेर मनाइने पर्व हो होली (फागु)। 

यस पर्वमा नेवार समुदायमा नेपाल भाषाको गीत गुन्जयमान हुन्छ। होली गीतमा युवकयुवती खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिइन्छ। फागुपूर्णिमामा रङसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो। 

सडकमा मौसम र पर्वअनुसारका सामान बेच्दै आउनुभएकी व्यापारी शर्मिला खड्गीले होलीको रौनक आएको जानकारी दिनुभयो। छाला तथा यौन रोग विशेषज्ञ मेलिना मानन्धर भन्नुहुन्छ, “होली सबैका लागि विशेष पर्व हो। यसलाई सुरक्षाको साथमा मनायौँ भने पर्वको रौनक आउनुका साथै आफूलाई छालासम्बन्धी समस्या पनि आउँदैन। होली पर्व रङको पर्व हो तर रङमा विभिन्न किसिमका केमिकल प्रयोग गरिने भएकाले यसले छालामा विभिन्न प्रकारका समस्या उत्पन्न गराउन सक्ने जानकारी उहाँले दिनुभयो। त्यस कारण होली खेल्नुअगाडि यसबारे ध्यान दिन उहाँ सुझाव दिनुहुन्छ। 

उहाँका अनुसार नरिवलको तेल, चिउरीको घिउ, जैतुनको तेल एकै ठाउँमा मिसाएर पेस्ट बनाई शरीरमा लगाउन सकिन्छ अथवा विभिन्न सन ब्लक क्रिमको प्रयोग गर्दा फाइदा हुन्छ। होलीमा टाउकोलाई स्कार्फ वा ब्यान्डले छोपे पनि कपालको सुरक्षा गर्न सकिन्छ।

नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागुपूर्णिमालाई मानिने संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो। उहाँका अनुसार ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा...’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन्। सो गीतमा झ्यालभरि सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको छ। “परम्पराअनुसार होली सुरु हुनुभन्दा दुई/तीन हप्ताअघिबाट नेवारहरूको घरघरका झ्यालमा होलीको आगमनको सङ्केत गर्न सागका माला झुन्ड्याउने गरिन्छ,” धौभडेल भन्नुहुन्छ, ‘मूलतः तरुणी र हुर्केकी चेली, जो असल पुरुष साथीको खोजीमा रहेका हुन्छन्, उनीहरूले यसरी मालाले घर सजाउने गर्छन्। होली खेल्न टोलटोलमा पुग्ने टोलीले विपरीत लिङ्गीसँग सम्बन्ध अघि बढाउने परम्परागत लोकगीतहरू गाउने गर्छन्। नेवारी युवाले होलीलाई पिरती गाँस्ने पर्वका रूपमा लिने गरेका छन्। यस दिन युवकयुवती अबिर, रङ खेल्दै ठूलो रौनकका साथ होली खेलिन्छ। 

पहिले–पहिले पानीमा विविध सुगन्धित वस्तुहरू मिसाइने गरिने जानकारी दिँदै उहाँले युवालाई दूध मिसाइएको पानी छ्यापेर स्वागत गरिन्थ्यो। रक्सी मिसिएको पानी, पानको पात भिजाइएको पानी, साग पखालिएको हरियो पानी छर्कने दिन अब इतिहासमा मात्र सीमित छ। 

होली रङको पर्व भएका कारण रङ छ्यापेर यो पर्व मनाउने गरिन्छ। यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ। छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णले भन्नुभयो, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ। यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टाअगाडि गर्नुपर्छ। त्यसपछि होली खेल्नु १० मिनेटअगाडि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्छ।

यसैगरी केमिकलयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ। होलीमा रङ खेल्नुअगाडि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ। यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन। होलीमा रङ खेल्दा अनुहारमा रङ लाग्ने गर्छ। यस्तो रङ पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्नुहुँदैन डा. कर्णले भन्नुभयो। उहाँको अनुसार रङ निकाल्न छाला बेस्सरी रगड्नुहुँदैन। त्यति मात्र होइन, रङ गएन भन्दैमा हतास तथा निराश नहुने र छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्नबाट पूर्णतया जोगिनुपर्छ। विष्णुभक्त प्रह्लादलाई मार्नका लागि ‘विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले प्रह्लादको वध गर्न होलिकाको काखमा प्रह्लादलाई राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रह्लाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ। वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा एक साताअघि फागु पर्वको चीर ठड्याइएको थियो। 

काठमाडौँको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागर्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए। यो दिनबाटै फागु पर्वको उल्लास सुरु भएको मानिन्छ। हिमाली र पहाडी जिल्लामा फागुपर्व फागुन २२ र तराई–मधेशका जिल्लामा फागुन २३ गते मनाइँदै छ। 

यसैगरी हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिएको छ। यो चीरका लागि पशुपति श्लेषमान्तक वनबाट मयलका रुखका हाँगा ल्याइएको थियो। नेपाली सेनाको शार्दुलजङ्ग गुल्मको टोली धलासिक्वका मानन्धर समूह र गुठी संस्थानका अधिकारीको उपस्थितिमा दरबारका यत्रतत्र चोकमा चीर ठड्याइएको छ। यो चीर सोमबार मध्यरातमा ढालेपछि पर्व समापन हुन्छ । यो बीचमा गुरुमापा नामका राक्षसका लागि टुँडिखेलमा एक मुरी भात र एउटा सिङ्गो राँगोको भतेर लगाइने प्रचलन छ। इटुम्बहालको केशचन्दद्रकृत परावर्त महाविहारको बासङ्घमा भात र मासु पकाउन चुलो तयार भएको सङ्घका प्रेमकाजी शाक्यले जानकारी दिनुभएको छ। किलागल टोलका बिज्यापु समुदायबाट यो भोजन तयार हुने र खर्पनमा राखेर कतै नरोकी काँधमा बोकेर भतेर टुँडिखेल लैजाने प्रचलन छ। 

भगवान् श्रीकृष्णको गोपिनीसँगको सान्निध्यताको प्रसङ्ग चीरसँग जोडिएको छ। श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्दा रतिदेवको अर्चना भएपछि फाल्गुन शुक्ल अष्टमीमा चीर गाडेर भगवान् श्रीकृष्णको गोपिनीसँगको प्रेमभावको संस्मरण गर्ने प्रचलन यो पर्वसँग छ।