नवीनराज कुइँकेल
लमजुङ, कात्तिक २२ गते । लमजुङमा गएराति बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार एक जना घाइते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–६ नाइचेस्थित सडकमा जिप दुर्घटना हुँदा चालकसहित त्यसमा सवार एक जनाको मृत्यु भएको हो । मर्स्याङ्दी–३ खुदी बजारबाट सिमेन्ट बोकेर गएको हिदीखोला हाइड्रोपावरको बा ८च ३७३१ बलेरो जिप गएराति करिब ११ः३० बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक दोलखा मेलुङ गाउँपालिका–४ का ३० वर्षीय बिनोद खड्का र गाडीमा सवार सोही ठेगानाका २५ वर्षीय पारस खड्का रहेको जिल्ला प्रहरी कार्यालय लमजुडका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते हुनेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बु रहनुभएको छ । उहाँको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे राति १२ः३० बजे जानकारी पाएपछि बाहुनडाँडा र खुदी चौकीबाट प्रहरी टोली खटिई घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याएको थियो । गम्भीर घाइते दुईजनाको उपचारको क्रममा चिकित्सकद्वारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
आफैं अनियन्त्रित भई जिप सडकबाट करिब आठसय मिटर तल खसेर दुर्घटना भएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।