• २२ कात्तिक २०८२, शनिबार

मुस्ताङको विपद् पूर्वतयारी प्रभावकारी

blog

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, भेरोल इलाकामा फसेका स्वदेशी पर्यटकलाई उद्धार गरेपछि प्रजिअ भुषालसहितको टोली ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), कात्तिक २२ । गएको कात्तिक १६ गते मुस्ताङ हुँदै डोल्पा घुम्न गएर फर्किएका दुई स्वदेशी पर्यटक डोल्पाको छार्काताङ्सोङ गाउँपालिका–१, मुलुङ भन्ने स्थानबाट सम्पर्कविहीन भएको खबर आएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल सुरक्षा समितिमा छलफल गरेको छ ।

पर्वत जलजला गाउँपालिका–३, माझफाँट स्थायी घर भएका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवरको नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, भेरोल इलाकाबाट कात्तिक २० गते हेलिकाेप्टरमार्फत उद्धार गरी आफन्तलाई जिम्मा लगाइयो ।

पैदलयात्राबाट उद्धार सम्भव नभएपछि हेलिकाेप्टरबाट खबर आएको ६ घण्टामै हिउँमा फसेका यूवाको उद्धार गरिएको थियो । धौलागिरी हिमाल फन्को लगाउने क्रममा मुस्ताङ क्षेत्रमा फसेका तीन बेलायती महिला पर्यटकसहित १५ जनाको तालिमप्राप्त उद्धारकर्मीको टोलीले गएको बिहीबार थासाङ गाउँपालिका–१ स्थित समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइबाट उद्धार गरिएको छ । 

धौलागिरी पदमार्ग हुँदै घरपझोङ गाउँपालिका–२, मार्फा झर्ने क्रममा समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा संसारको सातौँ अग्लो धौलागिरि हिमाल र सीता हिमाल बिचको पास काटेर टुक्चेपी हुँदै झर्न समस्या भएपछि टोली फसेको थियो । 

मुस्ताङ र मनाङ जोड्ने चीनको तिब्बती सीमा नजिकै पर्ने सरिबुङ पासका लागि सदरमुकाम जोमसोम हुँदै गएको तीन जना अस्ट्रियन पर्यटकसहित १४ जनाको टोली दामोदरकुण्डमा अलपत्र परेपछि तत्काल सुरक्षा समितिको बैठकमार्फत उद्धारका लागि विभिन्न संयन्त्र प्रयोग गरियो । 

गत कात्तिक १० गते लो–घेकर दामोदरकुण्ड–४, याराबाट साहसिक यात्रामार्फत दामोदरकुण्ड क्षेत्र र मनाङ जिल्लाको नारफु उपत्यका बिचमा हिमशृङ्खला तथा जोखिमपूर्ण भिर हुँदै हिउँले ढाकिएका पहाडहरू थिचोल्दै यात्रा गर्ने टोलीलाई सकुशल उद्धार गरिएको थियो । 

पहिरोले थुनिएको वारागुङ मुक्तिक्षेत्र–३, तेताङस्थित नरसिंह खोलाको अवस्था हेर्न नेपाली सेनाको टोलीले ड्रोन क्यामेरामार्फत अवलोकनसहित पूर्व तयारी, स्थलगत रूपमा नेपाली सेनाबाट ११ जना सशस्त्र प्रहरी बलबाट ११ जना र नेपाल प्रहरीबाट दुई जनागरी २४ जना सुरक्षा टोलीले जोखिम टारेको थियो । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङसहित सुरक्षा निकायको समन्वय, पूर्वतयारी, पर्याप्त उपकरण तथा तालिमप्राप्त उद्धार जनशक्तिका कारण मुस्ताङमा प्रतिकुल मौसमका कारण उच्च हिमाली क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी पर्यटकको उद्धार प्रभावकारी देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्व सूचनाको आधारमा नियमित बैठक, आवश्यक जनशक्ती तथा उपकरणको तयारी, सम्भावित जोखिम क्षेत्रको पहिचान तथा निगरानीका साथै समुदायस्तरमा समेत सचेत गराउने गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो । 

प्रजिअ भुषालले भन्नुभयो, ‘‘पूर्वतयारीमा हाम्रो आफ्नै मोडेल छ, यहाँ उच्च शिखर आरोहण गरेका जनशक्ति समेत रहेकाले मानवीय क्षति हुनबाट जोगाउन सफल भएका छौ ।’’ जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठकमार्फत पूर्वतयारीका लागि जोखिमअनुसार टोली परिचालन गर्ने गरिएको प्रजिअ भुषालको भनाइ छ ।

जिल्लाका पाँच वटै स्थानीय तहका वडा तथा गाउँ तहसम्मको सूचना सङ्कलन गरी पूर्व तयारी गर्ने गरिएको छ । मुस्ताङमा रहेको नेपाली सेनाको तालिम केन्द्र उच्च शिखर शिक्षालयमा सगरमाथा, अन्नपूर्ण, धौलागिरिसहित ८ हजार मिटर उचाइका हिमालसहित चुुचुरोको आरोहण गरेका तालिमप्राप्त टोली रहेकाले हिमाली क्षेत्रमा फसेका पर्यटकलाई उद्धारमा सहज भएको छ । सडक सञ्जाल अवरुद्ध र लेक लागेर समस्यामा परेकालाई समेत अनुभवी जनशक्ती खटाउने गरिएको छ । 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायको प्रभावकारी समन्वयले सडक सञ्जाल अवरुद्ध हटाउने तथा उद्धारमा सहज भएको बताउनुभयो । कागबेनी–कोरला सडकखण्डमा फसेकालाई स्थानीय जनप्रतिनिधिको अनुरोधमा सुरक्षा निकायको सहयोगले पर्यटकको मध्यरातसम्म उद्धार गरिएको वडाध्यक्ष गुरूङको भनाइ छ ।

मुस्ताङमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको उच्च शिखर शिक्षालय, नेपाली सेनाकै इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीले विपद्को पूर्वतयारीमा नियमित बैठक तथा आवश्यक अभ्यास समेत गर्ने गरेको छ ।