• १२ साउन २०८१, शनिबार

चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ कसले बाजी मार्ला!

blog

काठमाडौँ, फागुन २० गते । नेपाली चलचित्र भन्नेबित्तिकै टाढा भाग्ने दर्शक अहिले नेपाली चलचित्रबारे मन खोलेर बोल्न थालेका छन्। यसको अर्थ यो पनि हो कि केही महिनादेखि नेपाली चलचित्रको बजार माथि उक्लने क्रममा देखिएको छ। यसको ज्वलन्त उदाहरण हो, फागुन १९ गतेबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ । 

‘छक्का पञ्जा–४’ राजनीतिक कथावस्तुमा आधारित चलचित्र हो। दीपकराज गिरी, नीर शाह, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, निर्मल शर्मा र बुद्धि तामाङको चलचित्रको शीर्ष भूमिकामा हुनुहुन्छ। चलचित्रमा  दिग्विजय सिंह ‘राजा’ विशेष कारणले राजनीतिमा आउँछन्। गुण्डादेखि सांसद बन्नका लागि उनले के कस्तो परिस्थितिसँग सङ्घर्ष गर्नुपर्छ भन्ने कथावस्तु वरपर चलचित्र घुमेको छ। चलचित्रलाई गाजलु फेम निर्देशक हेमराज बीसीले निर्देशन गर्नुभएको हो।

त्यस्तै अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टार ड्रामा ‘२.० छड्के’ ठेक्का हत्याउन र राजनीतिलाई प्रभावित तुल्याउन गुण्डा–नाइकेबीच हुने सङ्घर्षको कथावस्तुमा वरपर घुमेको चलचित्र हो। चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्नुभएको छ। चलचित्रमा निर्देशक निगमसहित रविन तामाङ, रेशा आलेमगर र कमलमणि नेपालको प्रमुख भूमिकामा देखिनुभएको छ ।

‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ एकै दिन प्रदर्शन हुनु दुर्भाग्यपूर्ण भएको नेपाली चलचित्रका शुभेच्छुकको भनाइ छ। एकअर्कासँग इगो राखेर एकै दिन चलचित्र प्रदर्शन गरेको भन्दै दुवै पक्षले क्षति भोग्नुपर्ने अवस्था आएको चलचित्र समीक्षकहरूको टिप्पणी छ।

यता ‘६ एकान ६’ देखि छक्का पञ्जाका तीनवटा सिक्वेल सबै सुपरहिट भएकाले यस पटक पनि आफ्नो चलचित्रले राम्रो व्यापार गर्नेमा कलाकार दीपकराज गिरी ढुक्क देखिनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हामी कुनै मैदानमा फुटबल खेल्न आएका होइनौँ। हामीले दर्शकको अनुसार स्वाद पस्कने हो। जुन हाम्रो चलचित्रमा छ। ‘एकैदिन दुई चलचित्र प्रदर्शन हुनु त झन् राम्रो कुरा हो,” कलाकार गिरी भन्नुहुन्छ, “यसबाट दर्शकले छानी छानी चलचित्र त हेर्न पाउँछन्।”

त्यस्तै आठ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को सिक्वेल छड्के–२ टिम पनि आफ्नो फिल्म कमजोर नभएको भन्दै राम्रो चल्नेमा विश्वस्त देखिन्छ। हिट चलचित्रको सिक्वेल नभएकाले ‘२.० छड्के ’ को व्यापारिक सफलता सुपर स्टार नायक अनमोल केसीमा निर्भर देखिन्छ। युवापुस्तामा चर्को फ्यान  भएका अनमोलले अभिनय गरेका अधिकांश चलचित्र सफल छन्।

चलचित्र नगरीमा निर्माता, निर्देशक भन्ने गर्छन्, अन्य चलचित्रको दाँजोमा नेपाली चलचित्रले फरक शैली र धारलाई आत्मसात् गरेको छ तर त्यो फरकपन के हो भन्नेबारे अझैसम्म पनि नेपाली दर्शकले महसुस गर्न पाएका छैनन्। 

एकै पटक दुईभन्दा बढी चलचित्र प्रदर्शनमा आउनुले पनि चलचित्र राम्रो नचल्नु अर्को कारण रहेको हल सञ्चालकहरूको भनाइ छ। यसो हुँदा चलचित्र जुध्ने समस्या एकातिर छ भने अर्कोतिर हलमा पर्याप्त दर्शक आई पुग्दैनन्। चलचित्र चलोस् नचलोस् यहाँका निर्देशक निर्मातालाई आफ्नो चलचित्र चलाउन पाए पुग्छ। निर्माताहरू आफ्नो लगानी कसरी उठाउने भन्ने ध्याउन्नतिर लाग्नाले दर्शकको भित्री चाहनासम्म पुग्न सक्दैनन्। 

नेपाली चलचित्रको इतिहास हेर्ने हो भने अब यो क्षेत्र पाको भइसकेको छ। पचास वर्षको इतिहास बोकिसकेको नेपाली चलचित्र उद्योगले नेपाली दर्शकमा भने प्रभाव जमाउन अझै सकेको छैन। चलचित्र निर्माणका लागि जुन रूपमा कथाको पक्षलाई सशक्त बनाउनुपर्ने हो, त्यसमै चुकेका छन् निर्देशकहरू। हतारमा कथा बनाउने, छिटो चलचित्रको छायाङ्कन सक्ने, तीनवटा गीत, एक÷दुईवटा द्वन्द्वका दृश्य राखेपछि चलचित्र तयार हुन्छ भन्ने थोत्रो चलन अहिले पनि हाबी छ। 

अझै पनि चलचित्र क्षेत्रमा बौद्धिक जमातको अभाव देखिन्छ। पढेर आएकाले नयाँ प्रयोग त गर्न खोज्छन् तर तिनीहरूमा यहाँको रोगले छुन धेरै समय लाग्दैन। हतारमा काम सकाउने र फुर्सदमा पछुताउने यहाँ धेरै छन्। एकै दिन प्रदर्शनमा आएका चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ कलाकार र ब्रान्डको हिसाबले अवश्य राम्रो व्यापार गर्ने चलचित्र देखिन्छ तर भिडन्तको हिसाबले कसले बाजी मार्ने हो त्यो हेर्न भने केही दिन कुर्नै पर्ने हुन्छ।