शिवशङ्कर मिश्र
बारा, फागुन १८ गते। हात्तीको आक्रमणबाट जितपुरसिमरा उपमहानगरपालिका-१६ टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय गापाङ दर्लामी रहेको बारा प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट बुधबार साँझ दर्लामीको घटनास्थलमा मृत्यु भएको हो।
दर्लामीलाई जङ्गल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो। पाँच दिनदेखि बस्ती छिरेको जङ्गली हात्ती यमगज बाराको कतरवा हुँदै जङ्गल पसेको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले जानकारी दिनुभयो।
रौतहटको विश्रामपुरमा आइतबार रातिदेखि बस्तीमा प्रवेश गरेको जङ्गली हात्ती बारागढी गाउँपालिका,करैयामाई गाउँपालिका हुँदै कलैया उपमहानगरपालिका-२७ सिसवा महेशपुर टोलका अकलु साहको उखु खेतमा लुकेर बसेको थियो।
हात्तीलाई दिनभरि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वनरक्षक, वन कर्मचारी, पर्सा राष्ट्रिय निकुञ्ज सेनासहितका टोलीले निगरानी गरेको तथा मानव बस्तीमा हात्तीलाई पस्न नदिन र जङ्गल पुर्याउनु पर्सा राष्ट्रिय निकुञ्जका लेफ्टीनेन्ट रवीन्द्र बहादुर शाही नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निकै प्रयास गरेको थियो।
हात्तीलाई सुरक्षित रूपले जङ्गल प्रवेश गराउन तीन राउण्ड हवाई फायरसमेत गरेको सिद्धी बक्स गण अधाभारका प्रमुख सेनानी मुक्ती विक्रम शाहले जानकारी दिनुभयो। राति १२ बजे उखु खेतबाट बाहिर निस्केको यमगज कलैया उपमहानगरपालिका-२ औधारपुरमा दुई-चार वटा छाप्रो भत्कार बस्तीमा पसेको थियो।