• २८ मङ्सिर २०८२, आइतबार

म केपी ओलीसँग टाढा भएको छैनः गोकुल बास्कोटा

blog

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटा। फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २८ गते। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताउनुभएको छ।

आइतबार पार्टीको ११ औँ महाधिवेशनको उद्घाटनस्थल बाहिर पत्रकारसँग कुरा गर्दै बास्कोटाले एमाले सबैभन्दा बलियो शक्ति भएर बाहिर निस्कने दाबी गर्नुभयो। ‘एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधता बिचको एकता नै एमाले हो’, उहाँले भन्नुभयो। 

बास्कोटाले वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष एक जना, उपाध्यक्ष पाँच जना, महासचिव एक जना, उपमहासचिव तीन जना र सचिव नौ जनासहित तीन सय एक सदस्यीय केन्द्रीय कमिटी तथा  पोलिटब्युरो ९९ सदस्यीय र पोलिटब्युरोको एकतिहाइ सङ्ख्यामा स्थायी कमिटी बताउने केन्द्रीय कमिटीको निर्णय सहमतिबाट नै भएको पनि जानकारी दिनुभयो।

गोदावरीको विधान महाधिवेशन र अहिलेको अवस्थामा केही फेरबदल आएकोले व्यवस्थापनको लागि यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। ‘सङ्ख्या १० औँ महाधिवेशनको जस्तै रह्यो, वरिष्ठ उपाध्यक्ष लगायतका केही पदाधिकारीको सङ्ख्या घट्यो तर पदाधिकारी सङ्ख्या १९ नै रहने भयो’, उहाँले भन्नुभयो। 

बास्कोटाले प्रतिनिधिहरूको सहमतिबाट नै नेतृत्व टुङ्गियोस् भन्ने चाहना रहेको बताउँदै उहाँले सहमतिको लागि प्रयास हुने बताउनुभयो। सहमति नभए मतदानबाट निर्णय हुने र त्यसले पनि एमाले पार्टीमा कुनै फरक नपर्ने बास्कोटाको धारणा छ। ‘प्रतिनिधिले गरेको निर्णय सबैले मान्नु पर्छ, मानिन्छ’, उहाँले भन्नुभयो। 

बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पार्नुभयो। ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो।