• ११ मंसिर २०८१, मङ्गलबार

नगरप्रमुखसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, फागुन १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्तासहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

विद्यालय भवन निर्माणको बिल भुक्तानीको लागि एक लाख ४० हजार रुपियाँ घुस लिएको आरोपमा नगरप्रमुख गुप्ता र सोही नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । नगरप्रमुख गुप्तासँगको मिलेमतोमा इन्जिनियर साहले विद्यालयमा निर्माण भएको सभाहलको बिल भुक्तानी गरिदिन घुस लिनुभएको थियो । 

साहलाई आयोगको टोलीले माघ ३ गते उक्त रकमसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

बरामद रकम बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार हदैसम्मको सजाय मागदाबी गरिएको छ । यसैबीच आयोगले सहसचिव भोला दाहाललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । मङ्गलबारदेखि लागू हुने गरी दाहाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ । 

यसअघिका प्रवक्ता श्यामप्रसाद भण्डारीको आयोगबाट अन्यत्रै सरुवा भएपछि दाहाललाई उक्त जिम्मेवारी तोकिएको हो ।